☰ open Loading... 26 October 2024|  

माओवादी केन्द्रको चुनावी रणनीति, स्थानीय तहको निर्वाचनमा पीएलए र वाईसिएल परिचालन हुने
  | २१ फाल्गुन २०७३, शनिबार १२:२२

सुर्खेत । माओवादी केन्द्र सुर्खेतले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि आफ्नो भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) र पूर्व लडाकु (पिएलए) परिचालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र सुर्खेतले हालसम्म गरेका काम र अवको रणनीति विषयमा जानकारी दिन आयोजित गरेको पत्रकार सम्मेलनमा स्थानीय स्तरको निर्वाचनमा वाईसिएल र पिएलए परिचालन गर्ने जनाएको छ ।

माओवादी केन्द्रको चुनावी रणनीति, स्थानीय निर्वाचनमा पीएलए र वाईसिएल परिचालन हुने

निर्वाचनमा तीन वटै सुरक्षा निकाय परिचालन गर्ने सरकारीले तयारी थालेको छ । तर नेकपा माओवादी केन्द्र सुर्खेतले स्वयंम सेवकको रुपमा उनीहरुलाई परिचालन गर्न लागेको जिल्ला सम्मेलन आयोजक समितिका संयोजक कृष्णबहादुर जिसीले जानकारी दिए । उनले अरु पार्टीसंग फेस गर्ने नभई उम्मेदवारको सुरक्षाका लागि उनीहरुलाई परिचालन गरिने बताए । आवश्यकता अनुसार सुर्खेतका सवै गाउँपालिका र नगरपालिकामा हुने निर्वाचनमा वाईसिएल र ७५० जना पूर्व लडाकुहरु परिचालन गर्ने तयारीमा आफूहरु रहेको उल्लेख गरे ।

माओवादी केन्द्रका पोलिब्यूरो सदस्य नरबहादुर विष्टले संविधान कार्यान्वयन गर्न अरु पार्टीभन्दा पनि आफ्नो पार्टीलाई आतुर भएको बताए । संविधानमा जुन जुन कुरा उल्लेख छन्, त्यहि हिजो माओवादी पार्टीको घोषणा पत्रमा भएको उल्लेख गर्दै उनले अरु पार्टीभन्दा पनि माओवादीलाई कार्यान्वयन गर्न रफ्तारमा अघि बढेको दावी गरे । स्थानीय तहको पुनर्संरचनको अवधारणा पनि माओवादीले ल्याएको बताएका उनले अब कार्यान्वयन पनि माओवादी नै लागेको जिकिर गरे ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रारम्भिक सर्वेक्षण मात्र होइन यतिखेर मतदाता पनि सर्वेक्षण पार्टीले गरिरहेको उनले उल्लेख गरे । आज (शनिबार) र भोलि (आइतबार) हुने जिल्ला सम्मेलन स्थिगित भएको संयोजक जिसीले जानकारी दिए । सम्मेलन आगामी चैत्र ११ गते वीरेन्द्रनगरम हुने र उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको संयोजकको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा माओवादी  केन्द्र पहिलो शक्तिको रुपमा स्थापित हुने गरि लागि रहेको संयोजकले बताए । पार्टीलाई बलियो बनाउन नेपालको संविधानले उल्लेख गरेअनुरुप संगठन विस्तार गरेको पनि माओवादी केन्द्र सुर्खेतले जनाएको छ । सुर्खेतका प्रस्तावित ९ स्थानीय तहमध्य ३ गाउँपालिका र नगरपालिका समिति ५ ओटा र वडा समितिहरुमा ८८ वडा गरेर दुई हजार २२० जना निर्वाचित भएको संयोजकले जानकारी दिए ।

माओवादी केन्द्रले हाल निर्वाचित भएका उम्मेदवारहरुलाई स्थानीय तहको निर्वाचनको लागि टिकट दिने गृहकार्यमा लागेको खुलाएको छ । ‘अहिले निर्वाचित भएकाहरुलाई नै स्थानीय तहमा वडा तथा गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मयेरको उम्मेदवार पनि बनाउन सकिन्छ’ संयोजक जिसीले भने ।

अहिले नै उम्मेदवारी घोषणा गर्न नमिल्ने बताएका जिसीले अवको केही साता भित्रै माओवादी केन्द्रले उम्मेदवारीको टुङ्गो लगाई सक्ने बताए । ०७० को चुनावमा कार्यकर्ताहरु विभाजित भएकाले पार्टी तेस्रो स्थानमा भएपनि विभाजित नेता र कार्यकर्ताहरु एकतावद्ध भएकाले अवको निर्वाचनमा पहिलो पार्टी हुने दावी गरे ।