☰ open Loading... 29 March 2024|  

पोल गाडेको १० वर्षवित्दा पनि बलेन वत्ती
  | २१ फाल्गुन २०७३, शनिबार १५:०४

दैलेख । दैलेखेको लाँकुरी गाउँमा पोल गाडेको १० वर्ष बितिसक्दा पनि त्यहाँका बासिन्दाले बिजुली बाल्न पाएका छैनन् ।  लाँकुरी गाविस वडा नं। ३ र ४ लाँकुरी गाउँमा पोल गाडेको १० वर्ष भयो, घरघरै उपभोक्ताले विद्युतका प्राविधिक लगाएर तार राखेको पनि २ वर्ष भयो, तर बिजुली बलेको छैन । विद्युत प्राधिकरणले ठेकेदारले काम गर्ने म्याद थपिरहँदा बिजुली बाल्न यति धेरै ढिला भएको हो ।

अघिल्लो ठेकेदारले चुप्राबजारदेखि खाडासम्म पोल गाड्ने काम सकेपछि छिटो बिजुली बाल्ने चाहनाले त्यतिबेला २०६३ सालमा लाँकुरी गाविस, जिविसको लगानीमा पोल किनेर गाउँसम्मै पु¥याए । तर पछिल्लो ठेकेदारको ढिलासुस्ती र विद्युत प्राधिकरणले सम्झौता अनुसारको काम गर्न पटकपटक सहजै म्याद थपिदिँदा निर्माण कार्य अधुरै छ ।

‘क्षेत्रीय कार्यालयले ठेक्का दिएको र अनुगमन समेत उसैले गर्ने भएकोले आफूले केही गर्न सकिएन’ विद्युत प्राधिकरण दैलेखका कार्यालय प्रमुख जगदीश पाण्डेले भने । विद्युत प्राधिकरण नै निरीह बनेको देखेपछि ठेकेदारलाई सोझै सम्पर्क गरेर अहिले स्थानीयबासिन्दाले छिटो बिजुली बाल्न दबाब दिन थालेका छन् ।

ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय कार्यालय सुर्खेतले २०७१ मा निकालेको इबिडिङ्गमा एक्लै २१ स्थानमा काम पाएको तारुपरे निर्माण सेवा तथा सप्लायर्स सल्यानले साढे ९ लाख रुपैंयाँमा ६ महिनामा काम सक्ने कबोलमा गरेकोमा ३ पटकसम्म थपिएको पछिल्लो म्याद पनि गएको असोजमा सकिएको छ ।

अब चैतसम्ममा काम पूरा गर्ने तारुपरे निर्माण सेवा तथा सप्लायर्सका प्रोप्राइटर गोबिन्द पुनमगरले दावी गरे । सोध्नेहरु सबैलाई उनले यसो भन्ने गरेकोले बिजुली छिट्टै बलि हाल्छ भन्ने बिश्वास नरहेको लाँकुरी–४ भैरवथानकी लालमती खत्रीले बताईन ।