☰ open Loading... 29 March 2024|  

बालविवाह रोक्न किशोरी आमा सङ्गठित
  | २२ फाल्गुन २०७३, आईतवार ०९:५४

दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् ।

जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना दिएर दाङका नगरपालिका र गाविसमा गरी १० वटा विवाहित किशोरी आमा समूह निर्माण गरेको र उनीहरुमार्फत सचेतना दिन सुरु गरेको ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरीले बताइन ।

यो आमा समूहले बालविवाह न्यूनीकरणका लागि गाविस र नगरपालिकामा सचेतना जगाउने ओरेक नेपालले विश्वास लिएको छ । दाङको धनौरी गाविसकी मोति चन्दले १४ वर्षको उमेरमा विवाह गरिन् हाल उनी भर्खर २१ वर्षकी छिन् । उनको दुईजना छोरी छन् ।

त्यस्तै घोराहीकी गीता नेपालीले पनि सानै उमेरमा विवाह गरिन् र हाल ३ वर्षकी छोरी छन् उनी भर्खरै २० वर्षकी भइन् । उनीहरु जस्तै यहाँका अधिकांश किशोरीले पहिले नबुझेर विवाह गर्दा अहिले पछुताएका छन् । “सानो उमेरमा हतारमा विवाह गर्दा अहिले पछुतो लागेको छ, न पढ्न पायो न त कुनै कुरा सिक्न पायो, कम उमेरमा विवाह गर्दा पछि समस्या हुँदोरहेछ”, नेपालीले भनिन ।

सानैमा लहलहै र उमेर नपुगी विवाह गर्दा स्वास्थ्य, मानसिक, आर्थिक लगायतका समस्या भोग्नु परेको किशोरी बताउँछन् । “अहिले आएर थाहा भयो सानैमा विवाह गर्दाको बेफाइदा अब हामीहरुले गाउँघरमा सचेतना फैलाउनका लागि विवाहित किशोरी समूह गठन गरेका छौँ”, तुलसीपुर–११ निवासी शिला चौधरीले भनिन। अरूको लहलहैमा लागेर सानो उमेरमा विवाह गर्दा आफूहरुले समस्या भोगेको उनले गुनासो गरिन ।

उनीहरु जस्तै यहाँका करिब दुई दर्जनभन्दा बढी किशोरीले यसरी नै प्रेमविवाह गरेको बताउँछन् । उनीहरुले महिला हिंसाको मुख्य कारण बालविवाह नै भएको बताएका छन् ।
हाल दाङको डुरुवा, धनौरी, घोराही, तुलसीपुर नगरपालिका, धनौरी, उरहरी, मानपुर, श्रीगाउँ गाविस स्तरमा विवाहित किशोरी आमा समूह गठन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।