☰ open Loading... 7 September 2024|  

पूर्वी सुर्खेतका बासिन्दाले आयुर्वेद शिविर थप्न माग
  | २२ फाल्गुन २०७३, आईतवार १९:२५

पूर्वी सुर्खेतका स्थानीय बासिन्दाले निशुल्क आयुर्वेद स्वास्थ्य शिविर थप्न माग गरेका छन् । पहिलो पटक भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेतले शनिवार दशरथपुरमा आयोजना गरेको सबै खालका रोगका निम्ती निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा आएका सेवाग्राहीले थप निशुल्क स्वास्थ्य शिविर थप्न माग गरेका हुन् ।

शिविरमा आएका अधिकांस सेवाग्राहीले आयुर्वेद औषधीको प्रचारप्रसार तथा अनुसन्धानमा राज्यले नै थप जोड दिनु पर्ने बताएका छन् । यता औषधालयले सर्वसाधारण जनताको स्वास्थ्य रक्षा गर्ने तथा रोगको उपचार गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको बताएको छ । रोग लाग्नबाट जोगिने उपाय तथा तरिकाहरुको जानकारी दिने उद्देश्यले उक्त आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको औषधालयका डा. महेशकुमार खनालले जानकारी दिए । उनले शिविरमा महिला पुरुष गरी करिब आठ सय जना सेवाग्राहीले निशुल्क स्वास्थ्य लाभ पाएको बताए ।

एलोपेथिक उपचार प्रणाली तर्फ सर्वसाधारणको आकर्षण बढिरहेको बेला कार्यालयले एलोपेथिकको तुलनामा आयूर्वेदिक प्रणाली कम खर्चिलो र दिर्घकालिन असर नपर्ने भएकाले यसको पहुँच र प्रचार ग्रामीण भेगमा पु¥याउन लागेको उनले जिकिर गरे । ‘पछिल्लो समय यसक्षेत्रमा आयुर्वेद औषधीप्रति जनविश्वास बढ्दै गइरहेको छ,’ उनले भने, ‘बढी भन्दा बढी निशुल्क स्वास्थ्य शिविर यस क्षेत्रमा सञ्चालन गर्नुपर्ने स्थानीय सेवाग्राहीको मागलाई सम्बोधन गर्न छिट्टै विभागबाट अनुमति माग्छौं ।’ उनले शिविरमा मधुमेह, उच्चरक्तचाप, मानसिक समस्या, स्वासप्रश्वास, ग्याष्ट्रिक, कमलपित्त, गानोगोला, बाथ, महिनावारी, सेतो पानी बग्ने, नशा तथा छालासम्बन्धी समस्या भएका बिरामीले सेवा लिएको बताए ।

शिविरमा औषधालयका प्रमुख डाक्टर खनाल सहित गएको टोलीले दशरथपुरमा ८ घण्टासम्म स्वास्थ्य सेवा प्रदान गरेको थियो । टोलीमा डा. शंकरप्रसाद रिजाल, कविराज श्रीराम आचार्य, दिनेशप्रसाद राय, सुषमा गिरी, वैद्यहरु नरेन्द्रबहादुर कठायत, प्रकाश यादव, यमुना बुढाथोकी, प्रविना केसी, नरबहादुर थापा, लगायतको प्राविधिकद्वारा विरामीको परीक्षण गरी निशुल्क औषधी वितरण गरेका थिए । शिविर व्यवस्थापनमा जीवन ज्योति मावि दशरथपुरका प्रधानाध्यापक तीर्थप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ शर्मा अध्यक्ष र गाविस सचिव तिलकप्रसाद आचार्य सहितको टोलीले समन्वय गरेको थियो ।