☰ open Loading... 24 November 2024|  

डढेलो रोकथाम गर्न पूर्व तयारी
  | २६ फाल्गुन २०७३, बिहीबार ०८:०२

सुर्खेतमा वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धी पूर्व तयारी शुरु भएको छ । जिल्ला वन कार्यालय सुर्खेतले  बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको वन डढेलो रोकथाम तथा नियन्त्रणको पूर्व तयारी गोष्ठीमा यस्तो जानकारी दिईएको हो । कार्यालयले वनका कर्मचारीसँगै वन डढेलोबाट बढी जोखिममा रहेका उत्तरी जलाधार क्षेत्रका १३ वटा सामुदायिक वनका पदाधिकारीलाई पूर्व सचेतना तथा रोकथामका उपाय बारेमा जानकारी दिईएको थियो ।  

  जिल्ला वन अधिकृत हेमराज विष्टले जिल्लामा गर्मीयाम शुरु भएसँगै दैनिक तीन÷चार वटा वनमा आगलागी हुने गरेको बताए । उनले वनमा आगलागीबाट वर्षेनी बहुमूल्य जडिबुटी, काठ नष्ट हुनुका साथै वन्यजन्तुलगायतका बासस्थानको क्षती हुँदै गएको जनाए ।

‘यस वर्ष आगलागी पूर्व नै सबै स्तरबाट पूर्व तयारी तथा रोकथामका लागि लाग्नु पर्छ,’ उनले भने, ‘वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि उपभोक्ता नै पहिले जागरुक हुनु पर्छ ।’ उनले सामुदायिक वनका पदाधिकारीलाई वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

  गोष्ठीमा सहभागी सामुदायिक वनका पदाधिकारीले आ–आफ्नो समूह भित्र जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, नयाँ अग्निरेखा बनाउने र पुराना अग्निरेखाको सरसफाई गर्ने बताएका थिए ।

उनीहरुले समूहको कोष परिचालन गरि वन डढेलो रोकथाम तथा नियन्त्रण  सम्बन्धी औजारहरु खरिद गरी प्रयोगमा ल्याउने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले वन डढेलो सम्बन्धी सचेतना कार्यक्रम जिल्लाका अन्य क्षेत्रमा समेत आयोजना गरिने बताए ।

उनले वन डढेलो रोकथाम तथा नियन्त्रणमा योगदान पु¥याउने व्यक्ति तथा सामुदायिक वनलाई पुरस्कृत गरिने जानकारी दिए । उनका अनुसार यस वर्ष जोखिमयुक्त गाउँवस्तीको आसपास रहेको ज्वलनशील पदार्थलाई जम्मा गरी नियन्त्रित आगो लगाइ नष्ट गरिने छ ।

  गोष्ठीमा वन डढेलोको परिचय, कारण, असर, प्रकार, रोकथाम र नियन्त्रण सम्बन्धी उपायहरुको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा वीरेन्द्रनगर ईलाका वन कार्यालयका सहायक वन अधिकृत शेरबहादुर रोकाया, कृष्णा सामुदायिक वनका अध्यक्ष खगिसरा गिरी, खारखोली सामुदायिक वनका अध्यक्ष खगिसरा चपाई, भैरम सामुदायिक वनका अध्यक्ष अमर कार्की तथा सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।