☰ open Loading... 24 November 2024|  

उम्मेदवारको खर्च सीमा तोकियो
  | ३० फाल्गुन २०७३, सोमबार ०९:१७

निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले खर्चन पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी खर्च गरेको खुल्न आए विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ ।


चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको खर्च सीमा ३ लाख रुपैयाँ छ । १३ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ५ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले २ लाखमात्रै खर्च गर्न पाउने छन् । गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ३ लाख ५० हजार र वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् । आयोगले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारले २ लाख ५० हजार र सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ ।

सीमाभन्दा बढी रकम खर्च गरेको पाइएमा आयोगले कारबाही गर्न सक्नेछ । विजयी उम्मेदवारको चुनावै रद्द पनि हुन सक्छ ।