☰ open Loading... 7 September 2024|  

भाषा नबुझदा राना थारू महिलाले सेवा पाउँदैनन्
  | १ चैत्र २०७३, मंगलवार ११:४४

कञ्चनपुर । भाषा नबुझ्दा कञ्चनपुरका राना थारू समुदायका महिला सरकारी कार्यालयबाट सेवाबाट वञ्चित हुने गरेका छन् । नेपाली भाषा नबुझ्दा सरकारी कार्यालयबाट राना थारू समुदायका महिला सेवा पाउन बाट बञ्चित भएका हुन् ।

“कार्यालयका कर्मचारीसँग राना समुदायका महिलाले आफ्नै भाषामा कुरा गर्दा कर्मचारीले बुभ्mदैनन्”, जनजाति आदिवासी नगर समन्वय समितिका सदस्य रतनलाल रानाले भने, “महिलाले नेपाली भाषा नबुझ्दा सेवा लिनबाट वञ्चित भएका छन् ।”

“सरकारी कार्यालयमा राना भाषा र नेपाली भाषा जान्ने कर्मचारीको व्यवस्था गरिदिनका लागि माग गर्दै आएपनि कुनै पनि कार्यालयमा हालसम्म दोभाषेको व्यवस्था नगरिँदा सेवाबाट वञ्चित भएका छौँ”, उनले भने ।

भाषाको समस्याले राना थारू समुदायका महिलासँगै नेपाली भाषा बुझ्ने पुरुष पनि कार्यालयमा पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । शुक्लाफाँटा नगरपालिकामा विधवा भत्ताका लागि चौथो पटक पुगेकी बन्धो रानाले भाषा नबुझ्दा भत्ता पाउन नसकेको बताए । “कर्मचारीले राना भाषा बुझ्दैनन् म नेपाली भाषा बोल्न सक्दैन, त्यसैले भत्ताको आवेदनका लागि पुगे पनि प्रक्रिया नजान्दा अलमलमा परेकी छु”, उनले थपे ।

पुरुषको तुलनामा राना थारू समुदायका अधिकांश महिला नेपाली भाषा नबुझ्ने गरेका छन् । भाषाकै समस्याले राना थारू समुदायका महिलाको सरकारी कार्यालयले दिने सेवासुविधामा पहुँच अभिवृद्धि हुन सकेको छैन ।

भाषाकै समस्याले सामाजिक कार्यमा समेत राना थारू समुदायका महिलाको पहुँच पुग्न नसकेको राना थारू अगुवाको भनाइ छ । भाषाकै समस्याले सेवा लिनबाट वञ्चित नहुन् भन्नका लागि कर्मचारीको व्यवस्थाका लागि पहल गरिने शुक्लाफाँटा नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले बताए । शुक्लाफाँटा नगरपालिकामा मात्रै सातसयभन्दा बढी घरधुरी राना थारु समुदायको बसोबास रहेको छ ।