☰ open Loading... 25 November 2024|  

एमालेलाई कालो झण्डा हेर्ने फुर्सद छैन : एमाले अध्यक्ष ओली
  | १ चैत्र २०७३, मंगलवार १६:२८

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कालोझण्डा हेर्ने फुर्सद नभएको बताएका छन् । एमालेको मेची–काली अभियान अन्तरगत मंगलबार नेपालगञ्जमा आयोजित सभामा बोल्दै ओलीले मधेसी मोर्चाका कार्यकर्ताले देखाएको कालोझण्डाबारे कटाक्ष गर्दै उनले भने,– ‘जहाँ जहाँ एमाले पुग्छ, त्यहाँ एउटा कपडाको टालो झुण्ड्याउँछन् । उनीहरु घरैदेखि त्यो कपडा च्यात्दा पनि हेरिराख्या छन् । भाटामा टाङदा पनि हेरिराखेका छन् । उनीहरुले हेरेका हेर्यै छन् त्यो कालो झण्डा । एमालेलाई काला झण्डा हेर्ने र्फसद छैन । एमाले राता झण्डा लिएर हिँडेको छ । एमाले सूर्य चिन्ह लिएर हिड्या छ । एमाले सूर्य चिन्ह लिएर देशलाई नै उज्यालो पार्न हिँडेको छ ।’

भाषणका क्रममा एमाले अध्यक्ष ओलीले पहाडे र मधेसीका वीचमा रेखा कोर्नसमेत भ्याए । उनले भने- ‘तराईमा ४० प्रतिशत पहाडियाहरु छन् । त्यसको पनि नाम तथाकथित मधेसी भन्ने दुई चारवटा नेताहरु छन्, उनीहरु नै हुन्छन् ।’

थारु, मधेसी, मुस्लिम र पहाडेको कुरो गरिसकेपछि ओलीले नेपालमा जातीयता र साम्प्रदायिकताको बिऊ रुवाण्डाबाट भित्रिएको भन्दै स्रोत उल्लेख गर्ने प्रयास गरे ।

सभालाई सम्वोधन गर्दै ओलीले भने- ‘कबिला-कबिलाका वीचमा, जातीय झुण्डका वीचमा मारकाट मच्चाएर रुवाण्डाले अब ती कुरा मानेन । संविधानमै यो जातिपातिका कुरा हानीकारक रहेछ भनेर हटायो । रुवाण्डाको जातिवादलाई पोको पारेर यहाँ ल्याएर फिँजाउन खोजिएको छ । रुवाण्डामा असफल भएको विषको पोको यहाँ फिँजाइए पनि त्यसलाई नेपाली जनताले असफल पारेका छन् । हाम्रो पार्टी नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छ । साम्प्रदायिक विद्वेष चल्न सकेन ।’

जातीय द्वन्द्वमा फसेको देशको चरित्र चित्रण गर्दै ओलीले भने- ‘गञ्जी लगाउने कपडा छैन, कट्टु फाटेको छ, तर एके ४७ र गोली चाहिँ चाहिएजति नयाँ नयाँ आएको छ । त्यसरी जनता लडाए त्यहाँ । चार महिनाका वीचमा १० लाख मान्छे मारिए ।’

केपी ओलीले मधेसी नेतालाई यसपी विहार जाउ नभएको त र उनीहरु हप्ता १५ दिनमा आफैं गइरहेको ओलीले बताए । आफूमाथि मोर्चाबाट लागेको आरोपको खण्डन गर्दै ओलीले मञ्चबाट यसो भने, ‘एमाले अध्यक्ष केपी ओलीले हामीलाई युपी जाउ, बिहार जाउ भन्यो भनेर हल्ला फिँजाइरहेका छन् । कहिले भन्यो ? कहाँ भन्यो केपी ओलीले युपी बिहार जाउ भनेर ? भनिएको छैन । तर, उनीहरु कुनै सही कुरा लिएर जनतामा जान सक्दैनन् । यो गर्छौं भन्ने उनीहरुको ठाउँ छैन । र, उनीहरु भन्छन् बिहार जाऊ, युपी जाउ,भन्यो भनेर ।

भन्नै पर्दैन, उनीहरु गइरहेकै छन् । हप्ता पन्ध्र दिनमा कता-कता आउने जाने गरेकै छन्, किन भनिरहनुपर्‍यो ?’

एमाले अध्यक्ष ओलीले मधेसी मोर्चालाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका छन् । एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

पार्टीको मेची-महाकाली अभियान अन्तरगत नेपालगञ्जमा आयोजित सभामा ओलीले भने, ‘मधेसी मोर्चाले केही वर्षभित्र दुई सय मान्छे मरायो र हालै सप्तरीमा पाँचजना मान्छे मरायो । मान्छे मराएर उसले लासमाथि राजनीति गर्न खोजिरहेको छ । यो सिलसिला बन्द गर्नुस । शान्तिपूर्ण बाटोमा आउनुस् । अरुको काँधमा चढेर नहिँड्नुस् ।’

कसैले एमालेलाई जनताको बीचमा जानबाट रोक्न खोजे त्यसलाई चिरेर एमाले अघि बढ्ने अध्यक्ष ओलीले बताए । एमालेलाई मधेसविरोधी, जनजाति विरोधि, महिलाविरोधि र जे जे भेटिन्छ, त्यही त्यही विरोधी पार्टीका रुपमा प्रचारित गर्ने गरिएको भन्दै उनले प्रश्न गरे, ‘जनताको पक्षमा लडिरहेको, देश बनाउन हिँडिरहेको पार्टी कसरी जनताको विरोधी हुन्छ ?’

ओलीले हाल जारी भएको संविधानले कसैलाई पनि भेदभाव नगरेको दाबी गरे । भेदभावको हल्ला चलाएर संविधान मान्न सकिँदैन भनेर हिँडिरहेकाहरु आवश्यक परेका बेला संविधानसभामा एमालेविरुद्ध भोट हाल्न आएको ओलीले प्रशंग कोट्याए ।

‘चाहिएको बेला यही संविधानअनुसार भोट हाल्न आउने अनि फेरि बाहिर गएर संविधान मान्दैनौं भन्दै उपि|mने कुन शैली हो ?’ ओलीले प्रश्न गरे ।

देशलाई अब द्वन्द्व र झगडामा अल्मल्याइरहन नसकिने भन्दै ओलीले संविधान कार्यान्वयन गर्दै राष्ट्र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए । स्थानीय चुनावमा जनताले एमालेलाई जिताउने आशा गर्दै ओलीले एमालेले नजितेमा देश समस्यामा पर्ने दाबीसमेत गरे ।