☰ open Loading... 22 January 2025|  

मुगुकी सुनाकली स्पेनमा, चर्चित फुटबलरहरुसँगै फुटबल खेलिन
  | २ चैत्र २०७३, बुधबार २०:२२

मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् । 

‘हाम्री सुनकली कस्ती छे– मेस्सी जस्ती छे’ भनेर चर्चा पाएकी सुनाकली फुटबलका लागि सपनाको देश मानिने स्पेनसम्म आउँन सफल भएकी हुन् । ‘थिङ्किङ फुटबल फिल्म फेस्टिवल’ र  एथलेटीक क्लब बिल्वाओको निमन्त्रणामा वृत्तचित्रका निर्देशक भोजराज भाट र सुनाकली बुढा स्पेन आएका हुन् ।

सोमबार उद्घाटन भएको  फिल्म फेस्टिवलको एक भब्य समारोहबीच  सुनाकली र निर्देशक भाट सम्मानित भएका छन्। ‘सुनाकली’ स्पेन आए पछि उनको अन्तराष्ट्रिय स्तरमा झनै  उचाई बढेको छ । स्पेन बिल्बाओको एक लोकप्रिय पत्रिका ‘डइया’ले सुनाकलीको लामो कभरेज समेत प्रकाशित गरेको छ ।

मुगुजस्तो विकट जिल्लामा हुर्केकी सुनाकली स्पेनमात्र आईनन्, यहाँको एक चर्चित फुटबल क्लबका खेलाडीहरु भेट गर्दै  र महिला टिमसँगै फुटबल पनि खेलिन् । स्पेनको एथलेटिक बिल्बाओका खेलाडीहरुसँग उनले भेट गरेकी हुन् ।

ला(लिगा खेल्ने खेलाडीहरु ओस्कार डी माक्रोस, मिकेल ब्यालेनजियागा लगायतले उनलाई  आफ्नो जर्सी उपहार दिएका थिए । नेपाली चेली सुनाकलीले बिल्बाओको महिला फुटबल टिमसँगै फुटबल पनि खेलिन् । क्लबले अफिसियल भिजिटको क्रममा तालिम गरिरहेको महिला टिमसँग यो अबसर सृजना भएको हो । मुगुमा हिउँका ढल्लासँगै  फुटबल खेलेकी सुनाकलीले बिश्व प्रसिद्द फुटबल क्लबको एक सुन्दर खेल मैदानमा सँगै खेल्ने अबसर पाइन् ।

निर्देशक भाटले अहिलेसम्म वृतचित्रले थुप्रै अन्तराष्ट्रिय अवार्ड जितेको भन्दा पनि सुनाकलीलाई यहाँसम्म ल्याइ¥याउँदा निकै खुशी लागेको बताए । उनले भने,” बिश्व प्रसिद्द क्लव र खेलाडीहरु माँझ मुगुकी चेलीलाई चिनाउँन पाउनु, मलाई मात्र हैन, यो नेपाल र नेपालीहरुलाई नै गर्व हो ।”