☰ open Loading... 2 May 2024|  

विश्व क्षयरोग दिवस : मध्यपश्चिममा क्षयरोगीका बिरामी घट्दै
  | ११ चैत्र २०७३, शुक्रबार ०९:२८

सुर्खेत । विश्व स्वास्थ्य संगठनले सन् १९९३ मा संसारकै प्रमुख समस्याको रुपमा घोषणा गरेको क्षयरोग मध्यपश्चिममा ओरालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ । १३५ औं विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले मध्यपश्चिममा क्षयरोग भयावह रुपमा नरहेको तथ्याङ्कबाट पुष्टि गरेपछि यो रोगीबाट संक्रमित हुनेको संख्या ओरालो लाग्न थालेको हो ।

पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने मध्यपश्चिममा ५ हजार ६१३ जनाको खकारमा क्षयरोगको किटाणु भेटिएको थियो । यो तथ्याङ्क मध्य आर्थिक वर्ष २०७०।०७१ मा मध्यपश्चिममा ७१६ जना महिला र एक हजार ३८३ जना पुरुषहरुको खकार जाँचमा क्षयरोगको किटाणु भेटिएको थियो ।

आर्थिक वर्ष २०७१।०७२ मा ७३७ जना महिला र एक हजार ३९९ जना पुरुषमा क्षयरोग भएको पुष्टि भएको  मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत पदम खत्रीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७२।०७३ मा यो क्षेत्रमा क्षयरोगी हुनेहरु मध्य महिला ६४५ र पुरुष एक हजार ३७८ जनामा किटाणु देखिएको थियो । यही तथ्याङ्कलाई आधार मान्ने हो भने मध्यपश्चिममा क्षयरोगीको संख्यामा बढोत्तरीभन्दा घट्दो क्रममा रहेको पुष्टि गरेको छ ।

भौगोलिक विकटता, बहुऔषधी प्रतिरोधको असर, क्षयरोगीमा एचआईभी सहसंक्रमण, डट्स विधि लागु गर्न कठिन, लैगिंक असमानता, बसाईसराई, खुला सिमाना जस्ता चुनौती रहेपनि स्वास्थ्य कार्यालयले राम्रो सन्देश प्रवाह गर्न सफल भएको दावि अधिकृत खत्रीको छ । मध्यपश्चिमका सवै जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीबाट क्षयरोगीका विरामीहरुलाई औषधी खुवाउने व्यवस्था गरिएको खत्रीले बताए ।

‘हरेक जिल्लाका गाविसमा रहेका वडाहरुमा क्षयरोगका विरामीलाई औषधी खुवाउन स्वयंमसेविका नै परिचालन गरिएको छ’ अधिकृत खत्रीले भन्छन्,–‘क्षयरोगी भएका विरामीलाई औषधी दिएर पठाउँदा प्रभावकारी नहुँदा स्वास्थ्यमर्कीको निगरानीमा औषधी खुवाउँदै आएका छौं ।’ मध्यपश्चिममा खकारमा किटाणु नभएको तर फोक्सोमा संक्रमण भएका विरामीहरु पनि रहेको निर्देशनलयले जनायो । सन् १९९६ बाट क्षयरोगको उपचार डट्स विधिबाट शुरु भएको थियो ।

 यसैविच, सुर्खेतमा आर्थिक वर्ष २०७३।०७४ मा ३६७ जना नयाँ क्षयरोगका विरामीहरु थपिएको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत गणेश गौतमले जानकारी दिए । यी मध्य १२९ जना महिला र ३३७ जना पुरुष हुन् । अधिकृत गौतमकाअनुसार सुर्खेतमा खोक्दा खकारमा क्षयरोगको किटाणु भेटिएका विरामीहरु ११० जना छन् । जसमध्य ३६ महिला र ७४ जना पुरुष छन् । क्षयरोगीका विरामीहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा ६ महिनासम्म औषधी खुवाउने गरेको गौतमले बताए ।

क्षयरोगीहरुको संख्या बढ्द नदिन सवै स्वास्थ्य संस्थामा चौमासिक समिक्षा गरेर अभियान तिव्रताका साथ संञ्चालन भइरहेको बताए । संक्रमित क्षयरोगीलाई विशेष निगरानीमा नियमित औषधी खुवाउने अभियान जारी रहेको पनि गौतमको भनाई छ ।

यस वर्षको १३५ औं विश्व क्षयरोगको नारा क्षयरोग अन्त्यका लागि सवै संगठिन होऔं भन्ने छ । दिवसको अवसरमा शुक्रबार (आज) जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको पश्चिममा रहेको चौकुने गाउँपालिको विजौरा र गुर्भाकोट नगरपालिकाको गुमीमा क्षयरोग सम्बन्धी वृहत अन्तरक्रिया गर्ने भएको छ ।

यस्तै, दिवसको अवसरमा आजै क्षेत्रीय अस्पताल र कटकुवामा रहेका क्षयरोगीका विरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाउँन लागेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।