☰ open Loading... 19 April 2024|  

प्युठानमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु
  | ११ चैत्र २०७३, शुक्रबार १०:३७

प्युठान । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रूमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरूष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् । सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर छ । बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

घाइतेको अवस्था गम्भीर रहेको र प्राथमिक स्वास्थ्य चौकी, भिङ्ग्रीमा उपचार जारी रहेको स्थानीय तथा घटनास्थलमा पुगेका टेकप्रसाद भण्डारीले जानकारी दिए। घटनास्थलमा अहिले जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली जाँदैछ । इलाका प्रहरी कार्यालय, भिङ्ग्रीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन् ।