☰ open Loading... 23 November 2024|  

मितेरी पुल नाका खुलाउन चिनियाँ उपप्रमसँग प्रधानमन्त्रीको आग्रह
  | १२ चैत्र २०७३, शनिबार ०७:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ उपप्रधानमन्त्री चाङ् काउ लीसँग भेटी २०७२ वैशाखको भूकम्पपछि अवरुद्ध भएको उत्तरी नाका खुलाइदिन अनुरोध गरेका छन्। उनले भने, ‘नेपाली चीन मित्रताको ऐतिहासिक मितेरी पुल छिटो खुलाइदिनुपर्‍यो ।’

चीनको हाइनान प्रान्तमा शनिबार औपचारिक उद्घाटन हुने बोआओ एशियाली मञ्चको वार्षिक सम्मेलनमा सहभागि हुन आएका प्रधानमन्त्री दाहालले झाङ काउ लीसँग भेटवार्ता गरेका हुन्। भेटमा उनले द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। करीब ४० मिनेटजति चलेको भेटमा प्रधानमन्त्री दाहालले खुलेर कुरा राखेका छन् ।
उनले चीनद्वारा अघि सारिएको एक पेटी एक मार्ग अवधारणामा साझेदार बन्न चाहेको बताउँदै प्रधानमन्त्रीले विद्युत, रेलवे आदि कनेक्टिभिटीका लागि नेपाल तत्पर रहेको बताए। नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्‍याए। उनले थपे-नेपाली भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिनेमा नेपाल प्रतिवद्ध छ।
प्रत्युत्तरमा चिनियाँ उपप्रधानमन्त्री चाङ् काउ लीले बेइजिङमा राष्ट्रपति सी चिनफिङ्सँग हुन लागेको भेट र अन्य भ्रमण सफल हुने शुभकामना दिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार उनले प्रधानमन्त्री प्रचण्डले राखेका कुराहरुमा समर्थन जनाए। उनले नेपाल एक सार्वभौम मुलुक भएकाले चीनले उसको सार्वभौमिकताको सँधै सम्मान गर्ने बताए। उनले भने-नेपाल आफ्ना समस्या सुल्झाउनका लागि आफैं सक्षम छ।
भेटघाटका क्रममा चिनियाँ पक्षबाट उपप्रधानमन्त्री काउली सहित अन्य मन्त्रीहरु सहभागी थिए भने नेपालको तर्फबाट प्रधानमन्त्री दाहाल सँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव लगायत आठ जना सहभागि थिए।
भोलि शनिवार पोआउ मञ्चको वार्षिक सम्मेलनलाई शनिवार चिनियाँ उपप्रधानमन्त्री चाङ् काउलीले उद्घाटन गर्दै मुख्य विषयमा सम्बोधन गर्ने कार्यक्रम छ। सोही समारोहमा प्रधानमन्त्री प्रचण्डले पनि सम्बोधन गर्नेछन्। सम्मेलनमा भाग लिनका लागि माडागास्कारका राष्ट्रपति हेरि राजाओनारिमामपियानिना, संघीय राज्य माइक्रोनेसियाका राष्ट्रपति पिटर क्रिस्चियन, अफगानिस्तानका सभामुख फाजेल हादी मुस्लिम्यार, म्यानमारका उपराष्ट्रपति मिन्ट स्वे लगायत सम्मेलन स्थल पुगेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य समेत रहेका उप प्रधानमन्त्री चाङ काउ लीले पोआऊमा वार्षिक सम्मेलनमा उपस्थित चिनियाँ तथा विदेशी उद्योग-व्यवसायीहरुसँग भेटघाट गर्दै एशिया विश्वमा विकासको जीवन्त शक्ति र निहित शक्ति रहेका क्षेत्रहरूमध्येको एक भएकोले एशियाको क्षेत्रीय सहयोग अझै राम्रोसँग विकास हुने विश्वास व्यक्त गरे।