☰ open Loading... 20 September 2024|  

सहकारी मैत्री ऐन ल्याउनु : मन्त्री थानी
  | १२ चैत्र २०७३, शनिबार २०:२६

सुर्खेत । केही समय भित्र देशभरका सहकारीहरुको हितको लागि सहकारीमैत्री ऐन आउन लागेको सहकारी तथा गरिवी निवारणमन्त्री हृदयराम थानीले बताएका छन् । राष्ट्रिय सहकारी विकास बोर्डले दीर्घकालिन रणनीतिक योजना बनाउन वीरेन्द्रनगरमा दुईदिने प्रदेशस्तरीय कार्यशालाको उद्घाटन समारोहमा बोल्दै मन्त्री थानीले शनिबार यस्तो बताएका हुन् ।


देशका ६० लाख जनता आवद्ध भएको जानकारी दिएका मन्त्री थानीले सहकारीको दीघकालिन विकासको लागि नयाँ ऐन जारी हुन लागेको बताए । सहकारीको मुल्य मान्यता अनुरुपको ऐन ल्याउनमा थुप्रै सुझाव आएको पनि उनले जानकारी दिए । सहकारी क्षेत्रलाई अझ बलियो बनाउन नयाँ ऐन निर्माणाधीन अवस्थामा रहेको र सहकारी ऐन २०४८ लाई समयानुकूल परिमार्जन गर्न लागेको उनले स्पष्ट पारे ।

विगतमा साहुबाट चर्को व्याजमा ऋण लिन बाध्य नेपालीलाई सहकारीले ठुलो टेवा पु¥याएको मन्त्री थानीले उल्लेख गरे । देशभर सञ्चालनरहत ३३ हजार सहकारीमा महिला सहभागिता ४६ प्रतिशत रहेको बताएका उनले भने,–‘देशमा महिलाको  नेतृत्वको विकास गर्नमा सहकारीको पनि महत्वपूर्ण योगदान रहेकाले सहकारीलाई समय सापेक्ष बनाउन मन्त्रालय जुटिरहेको छ ।’ तीन खम्बे आर्थिक नीति अनुरुप सहकारी एउटा बलियो खम्बा भएर उभिएको पनि उनको भनाई छ ।

आइतबार सम्पन्न हुने कार्यशालाले मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्दै दिगो तथा समतामूलक विकासका लागि सहकारी प्रणालीको विकास गर्ने सोचका साथ दिर्घकालिन रणनीति तर्जुमा गर्नेछ ।

आगामी २० वर्षमा कुल ग्रार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान २० प्रतिशत पु¥याउने, सहकारी सदस्य संख्या २ करोडभन्दा बढी हुने तथा सहकारी शिक्षाको विकासका विभिन्न स्तरका शैक्षिक पाठ्यक्रममा सहकारी शिक्षालाई समावेश भएको हुनेछ भन्ने लगायतका अपेक्षा छ ।

सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रुपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय सहकारी विकास बोर्डले सहकारीकर्मी तथा सहकारी क्षेत्रका विज्ञहरुको राय–सुझाव लिन गोष्ठीको आयोजना गरिएको हो । कार्यशालामा प्रदेश नम्बर ६ का १० जिल्लाका सहकारी सञ्चालक, अभियान्ता लगायतको उपस्थिती छ ।