नेपाल र चीनबीच सुमधुर सम्बन्धको लामो इतिहास छ। यो सम्बन्ध प्राचीन कालदेखिको हो, जुन हाम्रो इतिहासमा संगै जरा गाडेर बसेको छ। हामी भौगोलिक रुपमा मात्र होइन सभ्यता, व्यापार र जनस्तरको सम्बन्धबाट एक–अर्कासँग गाँसिएका छौँ।
बुद्धका शिक्षाहरुको प्रभाव हाम्रो देशका साँस्कृतिक मूल्य मान्यताहरुमा स्पष्ट छ। यो समरुपताको धागो इतिहाससम्म पुगेको छ र यसले हिमालय पनि पार गरेको छ।
पाँचौ शताब्दीको सुरुमै नेपाली भिक्षु तथा विद्वान बुद्धभद्रले चीनको भ्रमण गरेका थिए। सातौँ शताब्दीको पूर्वार्धमा राजकुमारी भृकुटीले तिब्बती राजासँग विवाह गरिन्। १३औँ शताब्दीको उत्तरार्धमा अरनिकोले चीन भ्रमण गरे र यहाँको कला तथा पुरातत्वमा योगदान दिए।
त्यसैगरी चीनका भिक्षु फा सियान र सुआन झाङले पनि नेपाल भ्रमण गरेका थिए। यस्तो सम्पन्न परम्परामा हाम्रा दूरदर्शी नेताहरुले अनन्त मित्रता र असल छिमेकपनको आधार खडा गरेका छन्।
समयसँगै हाम्रा देशहरु परिवर्तनको साक्षी बनेका छन्। चीनको आर्थिक चमत्कार गज्जबको देखिन्छ। त्यस्तै, नेपाल पनि गौरवशाली परिवर्तनहरुबाट गुज्रिएको छ। हामीले कैयौँ राजनीतिक कोशेढुंगो पार गरेका छौँ।
यी राजनीतिक परिवर्तनका बावजूद हाम्रो सम्बन्ध स्थिर रहेको छ। यो हाम्रो सम्बन्धको विशिष्टता पनि हो। नेपालको सरकारको नेतृत्व जसले गरे पनि चीनको सरकार र जनतासँग हाम्रो सम्बन्ध मजबुत र दृढ छ। यो हाम्रो सम्बन्धको स्थायी विशेषता हो।
वैश्विक परिस्थितिमा आएको परिवर्तनका बावजूद नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सह–अस्तित्वका रुपमा निरन्तर रहँदै आएको छ। हाम्रो सम्बन्धलाई पञ्चशीलका आधारमा सुदृढ बनाइएको छ। सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रति सम्मानले नै हामीलाई बलियो मित्रतातर्फ डो¥याएको छ।
नेपाल एक चीन नीतिको पालना गर्दछ। हामी चीनविरुद्ध हाम्रो भूमिमा कुनै पनि गतिविधि हुन नदिन प्रतिबद्ध छौँ। हामीले द्वीपक्षीय, क्षेत्रीय र विश्वव्यापी रुपमा विभिन्न तहमा एकअर्कासँग सहकार्य गरेका छौँ।
विकासका सन्दर्भमा चीन हाम्रो विश्वसनीय साझेदार बनेको छ। हाम्रो साझेदारी आर्थिक र सामाजिक क्षेत्रभन्दा परसम्म जान्छ। सन् २०१५ को विनाशकारी भूकम्प लगत्तै चीन सरकार र जनताको स्वतःस्फूर्त सहयोगले नेपाली जनताको मन जितेको छ। उदार सहायताका लागि म चीन सरकार र यहाँका जनताप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।
चिनियाँ नेतृत्वको दृष्टिकोण र जनताको लगनले चीनलाई विश्वको एक आर्थिक ‘पावरहाउस’ बनाएको छ। यसले विश्वमा चीनको कदलाई अझ उँचो बनाएको छ। विकासशील विश्वका लागि चीनको सफलताको कथा प्रेरणाको स्रोत बनेको छ। चीनले प्राप्त गरेको वृद्धि विश्वव्यापी वृद्धिको मुख्य चालक बनेको छ।
चीनले प्रत्येक क्षेत्रमा अतुलनीय विकास गरिरहँदा हामी एक अति कम विकसित राष्ट्रका रुपमा अनेकौँ समस्याबाट ग्रसित छौँ। ती बाधाहरुलाई पन्छाउने प्रयासस्वरुप हामीले राजनीतिक परिवर्तन गरेका छौँ। अब हामी आर्थिक विकासमा केन्द्रित भएका छौँ। मानवीय र प्राकृतिक स्रोतहरुले भरिपूर्ण हाम्रो देशले विकासको प्रचुर सम्भावना बोकेको छ।
नेपालको विकास प्रयासमा चीनको सहयोग र समर्थन उल्लेखनीय छ। चीनले पूर्वाधार विकासमा गरेको सहयोग हाम्रो समृद्धिको प्रयासमा महत्वपूर्ण रहँदै आएको छ।
भूगोलले मात्र होइन, बजारले पनि हामीलाई जोडेको छ। इतिहासले मात्र होइन, नियतिले पनि हामीलाई जोडेको छ। हाम्रो विगतले मात्र होइन समृद्ध भविष्यको आशाले पनि हामीलाई जोडेको छ।
साझा समृद्धिको सपनालाई साकार पार्न हामीले सुरुवात गरिसकेका छौँ। हाम्रो साझेदारीले नेपालको आर्थिक परिदृश्य बदल्न सक्छ। चीनको ‘वान बेल्ट वान रोड’ परियोजनाले सहयोग र साझेदारीका लागि गतिलो अवसर प्रदान गर्दछ। म राष्ट्रपति सी जिनपिङलाई यस पहलका लागि धन्यवाद दिन चाहन्छु।
पछाडि फर्केर हेर्दा, तपाईंहरुमध्ये धेरैलाई थाहा होला नेपाल प्राचीन सिल्क रोडको महत्वपूर्ण मार्ग थियो। दक्षिण एसियालाई मध्य एसियासँग जोड्ने यो जीवन्त मार्ग थियो। त्यो समय एसिया विश्व व्यापार र अर्थतन्त्रको खोजकर्ता थियो। अन्वेषण र समृद्धिको भूमि थियो।
त्यही विरासतमा हामी आधुनिक सफलताको कथा लेख्न सक्छौँ। कनेक्टिभिटी, विकास, गतिशीलता र साझा समृद्धिको सफलताको कथा।
सन् २०१४ मै नेपालले ‘वन बेल्ट एन्ड रोड’ परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ। यसको विस्तारित रुपमा हस्ताक्षर गर्ने अन्तिम चरणमा हामी छौँ। नेपाल र चीनसँग साझेदारीका लागि अनेकौँ मार्ग छन्। विगतमा भएका सहमति र सम्झौताहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
एसियाली पूर्वाधार बैंकमा हाम्रो सहभागिता यसको एक उदाहरण हो। गत वर्षदेखि नेपाल सांघाई कोअपरेसन अर्गनाइजेसनको पनि साझेदार बनेको छ। र, सबैभन्दा महत्वपूर्ण हाम्रो द्वीपक्षीय सहभागिता र व्यापारिक सम्बन्ध वृद्धि र समृद्धिलाई साकार पार्ने मुख्य पक्ष हो।
यही महिनाको २ र ३ तारिखमा हामीले नेपाल लगानी सम्मेलन आयोजना गर्यौँ। सो सम्मेलनमा विश्वभरका लगानीकर्ता र व्यवसायीहरु सामेल भए। र, लगानी प्रतिबद्धताको ६० प्रतिशत हिस्सा चिनियाँ लगानीकर्ताहरुको तर्फबाट आयो। प्रत्यक्ष विदेशी लगानीमा चीन सबैभन्दा अगाडि छ।
नेपालमा चिनियाँ पर्यटकहरुको प्रवाह हाम्रो सम्बन्धको अर्को पक्ष हो। नेपालको आर्थिक वृद्धिमा चिनियाँ पर्यटक आगमनको महत्वपूर्ण भूमिका छ। र, अझ महत्वपूर्ण, यसले हाम्रो संस्कृति र जनताबीच पुलको काम पनि गर्छ।
नेपाल सरकारले मित्रताको कडीका रुपमा चिनियाँ पर्यटकहरुलाई भिसा शुल्क छुट दिएको छ। नेपालको पर्यटनको सम्भावनााई चिनियाँ पर्यटकबीच प्रबर्धन गर्न हामीले हात मिलाउन जरुरी छ। म चिनियाँ जनतालाई शाक्यमुनि बुद्ध र सगरमाथाको देशमा स्वागत गर्न चाहन्छु।
गतवर्ष हामीले परिवहन सम्झौतामा हस्ताक्षर गर्यौँ। भूपरिवष्ठित नेपाललाई ‘ल्यान्डलिंक्ड’ राष्ट्र बनाउन यो निकै महत्वपूर्ण सम्झौता हो। प्रोटोकोलको प्रारम्भिक निष्कर्ष हाम्रो प्राथमिकतामा छ। कनेक्टिभिटी हाम्रो प्राथमिकतामा रहन्छ। पूर्वाधारसँगै विचारको कनेक्टिभिटी र बजारसँगै मनको कनेक्टिभिटी। समृद्धिको खोजीमा यो वास्तविक प्रेरक शक्ति बन्नसक्छ।
सडक, रेलमार्ग र ‘वेब लिंक’को कनेक्टिभिटीले साझा समृद्धिको मार्गप्रशस्त गर्न सक्छ।
हामीले चाँडोभन्दा चाँडो तातोपानी नाका खोल्न जरुरी छ। हाम्रो साझेदारीको वृत्तान्तमा यस नाकाको ऐतिहासिक महत्व छ। त्यसैगरी अन्य नाका खोल्दा त्यसले सीमापार कनेक्टिभिटीलाई अझ बलियो बनाउँछ।
हामीले उडान क्षेत्र विस्तारमा पनि ध्यान दिनुपर्ने हुन्छ। बढी उडान संख्या र काठमाडौँ तथा चीनका मुख्य सहरहरुबीच सीधा उडान दुवै देशका लागि फाइदाजनक हुनसक्छ।
नेपाल जलस्रोतमा अत्यन्त धनी छ। यो स्रोतलाई हरित र दिगो उर्जामा प्रयोग गर्न सकिन्छ, जुन वृद्धिको मुख्य आधार पनि हो। ठूला जलविद्युत परियोजनामा लगानी गर्नु नेपाल र चिनियाँ लगानीकर्ता दुवैका लागि फाइदाजनक हुन्छ।
आर्थिक विकासका लागि उर्जा सुरक्षा महत्वपूर्ण हुन्छ। हामी उर्जा विकास र विविधीकरणमा सहकार्य गर्न सक्छौँ। यसका लागि सौर्य उर्जा, बायो उर्जा र वैकल्पिक स्रोतहरुको उपयोग गर्न सकिन्छ। सहरी पूर्वाधार, सीमापार ट्रान्समिसन लाइन, टेलिकम्युनिकेसन र आइसिटीका क्षेत्रमा पनि सहकार्यको ठूलो अवसर छ।
चीनले आफूलाई रेल्वे, कृषि, इलेक्ट्रोनिक्स, कम्प्युटिङ र स्मार्ट टेक्नोलोजीको क्षेत्रमा आफूलाई मुख्य हबका रुपमा स्थापित गरेको छ। चीनको विकास अनुभव सिक्नका लागि अतुलनीय छ। हाम्रो वृद्धिलाई अघि बढाउन सस्तो, विश्वसनीय र परिवर्तनकारी प्रविधि हस्तान्तरण मुख्य क्षेत्र बन्न सक्छ।
नेपालमा उर्जाशील युवा जनसंख्या छ, उर्जा, उत्साह र सम्भावनासहितको। तथापि हामीले उनीहरुको उर्जालाई आफ्नै देशमा उपयोग गर्न सकेका छैनौँ। लगानीको अर्थमा नेपाल र चीनबीचको साझेदारी रोजगार सिर्जना र युवाहरुको उर्जालाई प्रयोग गर्ने सन्दर्भमा सहायक हुनसक्छ।
चीन र दक्षिण एसियालाई जोड्न नेपालको अवस्थितिले पनि एक अवसर प्रदान गर्छ। यो सम्भावनालाई उपयोग गर्नु चीन, नेपाल र सो क्षेत्रका लागि नै फलदायी हुनसक्छ। सहकार्यमा आधारित विकास परियोजनाहरुलाई अघि बढाउन यो फ्रेमवर्क महत्वपूर्ण हुन्छ। यो तीनै देशका लागि उत्तिकै फाइदाजनक हुनसक्छ।
नेपाली विद्यार्थीहरुका लागि चीन प्राथमिक विदेश गन्तव्य बनिरहेको छ। चिनियाँ विश्वविद्यालयको उत्कृष्टताले हाम्रो मानव संसाधन विकासमा र अन्ततः विकासको पेच चलाउने बलियो जनशक्ति उत्पादनमा सहयोग गर्नेछ। त्यसैगरी नेपालमा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरुको संख्यामा पनि वृद्धि भएको छ। म बेइजिङ ‘फरेन स्टडिज युनिभर्सिटी’ र नेपालका विश्वविद्यालयहरुबीच संयुक्त प्राज्ञिक उद्यम र शैक्षिक आदानप्रदानलाई प्रबर्धन गर्न पनि इच्छुक छु।
शैक्षिक र प्राज्ञिक आदानप्रदान तथा विद्वानहरुबीचको अन्तत्र्रियाले नयाँ विचारलाई जन्म दिनुका साथै हाम्रो मनलाई पनि गाँस्न सक्छ। गाँसिएको मनको साथमा हामी चमत्कारको आशा गर्न सक्छौँ। यसले युवाहरुको सुरक्षित हातमा हाम्रो भविष्य रहेको महसुस मलाई गराउँछ। जसको सिर्जनात्मकता, अन्वेषण र लगन हाम्रो वृद्धि र समृद्धिको चालक बन्नेछ।
आजभोलि भनिएजस्तै यो शताब्दी एसियाको हो। र, निश्चय नै यो शताब्दीलाई वृद्धिको शताब्दी बनाउन चीनको निकै महत्वपूर्ण भूमिका हुन्छ। यसलाई एसियाको शताब्दी बनाउने वा वृद्धि र विकासको शताब्दी बनाउने जिम्मेवारी हाम्रै काँधमा छ, हाम्रै सामूहिक विवेकमा छ।
यस्तो शताब्दी, जहाँ समृद्धिसँगै समायोजन पनि हुनेछ। यस्तो शताब्दी, जहाँ जित्नेको सबै हुँदैन, बरु सबै विजेता बन्ने छन्।
मैले भनेजस्तै नेपाल ऐतिहासिक राजनीतिक परिवर्तनबाट गुज्रिएको छ।
अबको हाम्रो प्राथमिकता भनेको आर्थिक समृद्धि हो। हामी सन् २०३० सम्ममा मध्यम आयको स्तरमा पुग्न कोशिस गरिरहेका छौँ। हामी हाम्रो आर्थिक परिवर्तनमा चीनको निरन्तर सहयोगमा भरोसा गर्दछौँ। र मलाई विश्वास छ, समृद्ध नेपाल हाम्रो मित्र चीनका पनि हितमा छ।
( प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा दिएको मन्तव्यको अनुदित र सम्पादित सामग्री)
nepalkhabar