☰ open Loading... 23 July 2024|  

के यो माया हो ?
  | १४ चैत्र २०७३, सोमबार १८:३६

उसको नाममा हरियो बत्ती पिलिक्क भयो । म खुसीले किच्च गरेँ । झुण्डिइरहेका नोटिफिकेसन अनि फ्रेन्ड रिक्वेस्टतिर ध्यान गएन ।
सुरुमै उसलाई लेखेँ, “हेल्लो ।”


ऊ हल्का नखरावाली थिई– भाउ खाने । फुर्सदमै हुन्थी तर, बोलाउन खोज्दा हल्का भाउ खान्थी । सायद मेरो हेल्लोले उसलाई हल्लाएन । म्यासेज सीन भयो तर, रिप्लाई आएन केहीबेर ।
“बिजी हो र मिस् ?” मेरो दोस्रो प्रश्नसँगै उसले केही लेख्न खोजेको सिग्नल आयो ।
केहीबेरपछि मेरो इनबक्समा आयो
“हेल्लो कथाकार जी ।”
म फुरुङ्गिएँ आफै । “दीपक नामै काफी छ ! यो कथाकारजी उपमा चाहिएन भो ।”
मैले पनि हल्का भाउ दिइहालेँँ । जस्तालाई तस्तै गर्न मैले पनि जानेको छु ।
ऊ मसँग मात्र गफिदै छे सायद, यो पटक तुरुन्तै रिप्लाई आयो– हाहाहाहाहा !
ऊ हाँसेको त देखिएन । तर, मज्जाले हाँसेको इमो पठाइरही । आँखा चिम्लिएर उसको हाँसोको कल्पना गरेँ, मङ्गोलियन अनुहारमाथि अडिएको सानो पावरदार चस्मा हल्लिइरहेको होला सायद ऊ हाँस्दा । मिलेका सेता दाँत पनि उज्यालोको प्रकाशसँगै टल्किरहेका होलान् । चम्किलो अनुहारमा हल्का चाउरीपना आयो होला ।
मन भित्रैदेखि फेरि उसको माया लाग्यो, मनमनै मन पराएको कुरा भन्न मन थियो तर, यति छिट्टै नभन भनेर मनले मनलाई नै सम्झायो । अनि उसको ध्यान आफूतिर खिच्न भनेँ– “चस्मिस् !”
“जमुना हुँ, जमुना नामै काफी छ” उसले पनि मेरै डाइलग फर्काइ “चस्मिसको उपमा चाहिएन ।”
म पनि हाँसेँ– खित्कै छाडेर हाँसे । सँगै बसेको तुलसीराम मिस्त्री पनि मलाई हेरेर हाँस्यो र भन्यो, “बहुलाइस् ? एक्लै हाँस्दैछस् त बे ?’
म्यासेन्जरमा धेरै इमोहरु पठाएँ । रातो भएका लभका चिन्हहरु धेरै थिए, सबै उसैका लागि बनेका जस्ता ।
उसको रिप्लाइ आएन । सायद मन पराइन् कि ? मनमनै डर लाग्यो । म चाँडै अगाडि भएँ कि ? एक हप्ता नि भा” छैन हाम्रो कुरा हुन थालेको । म प्रेमका “साइन”हरु दिन थालिहालेँ । ऊ रिसाइ कि पो ? रिप्लाइ नआउँदा मन आत्तिएको थियो ।
धेरै बेर कुरेँ, केही आएन । अरुसँग बोल्नै मन थिएन, उसले म्यासेज हेरेर पनि रिप्लाई गरिंन । मैले पनि फेरि केही लेख्न सकिनँ ।
मन भुलाउन म नोटिफिकेसनहरु हेर्दै थिएँ । धेरै नचिनेकाहरुको रिक्वेस्ट आइरहेको थियो । कसैलाई “कन्फर्म” दिइनँ । सबका सब पेन्डिङ । मन पर्ने उ थिई, अरु धेरै गन्जागोल साथी चाहिएन भन्ने सोचेँ ।
मैले पोस्टिएका कथाहरुमा पनि धेरैका धेरैथरि कमेन्ट आइरहेका थिए । धेरै हेरेँ तर, केही पढिनँ । रिप्लाइ पनि गरिनँ । मुड अफ भो पूरै । बसेर ग्वाँग्वाँ रुन मन लाग्दै थियो– उता मोबाइलमा ट्वाङ्ग बज्यो ।
“कति अरुसँग मात्रै झुन्डिन्छन् बे” ट्वाङ्ग बजेको म्यासेन्जरले झस्कायो । म झटपट्ट त्यता लागेँ । उसकै म्यासेज होला भन्ने लागेको थियो । तर, खेमेले लेखेको रहेछ “कहिलेकाहीँ त हामीलाई पनि टाइम दे न ।”
ऊ जिक्री हो मेरो । तर, सधैँ अनलाइन भएर पनि मैले कहिल्यै ऊसँग हेल्लो, हाइ गरिनँ । त्यै भएर होला, एकैपटक उसको रिस पोखियो म्यासेन्जरमा ।
उसले सधैँ म्यासेज गरिरहन्थ्यो, “ओइ, हाइ, हेल्लो” मैले यसपटक यत्ति लेखेँ “डाटा किन्दे न तँ सँग मात्रै गफिन्छु दाजी ।”
“कञ्जुस् साला !” यत्ति छोडेर ऊ अलापियो ।
ऊ गएसँगै अर्की आई “हाई” गर्दै ।
मैले पनि “हेल्लो” गर्दिएँ, मुड नै थिएन ।
“हजुरका कथाले मन छुन्छन्, मेरो पनि कथा लेख्नुप¥यो ।”
“पैसा कति दिने ?”
ऊ हाँसीमात्रै शब्दमा । सायद ऊ पनि ङिच्च गर्दै छे ।
फेरि लेखेँ “पैला दर रेट फिक्स गरम, अनि कथा लेखम्ला !”
“मेरो मतलब त्यस्तो हैन !” उसले हाँसेका इमो सँगै आफ्नो बचाउ गरी ।
“त्यो त मलाई पनि थाहा छ !” मैले फेरि लेखेँ
उ लजाई सायद “प्लिज’ लेख्दै हाँसेकै इमो पठाई । “तपाईंको जन्मकुण्डली छैन मसँग कसरी कथा रचूँ ?”
ऊ बेस्सरी हाँसी । मैले उसको हाँसोको कारणभित्र पस्न चाहिनँ ।
म उसको हैन, जमुनासँग फिदा थिएँ । ऊ हाँस्दा पनि मलाई अमन लाग्दथ्यो । सायद ऊ मलाई पट्याउने कोसिसमा थिई ।
अनि फेरि लेखेँ “एक दुई मैना सङ्गत गरौँ अनि कथा कथिन्छ ।”
उसको हाँसो फेरि शब्दमा ओइरिए ।
“सुकुटी !” जमुनालाई फेरि लेखी पठाएँ ।
जमुना मगर लेखेको एकाउन्टमा हरियो बत्ती बलेको एक घण्टा भइसक्यो । तर, सामान्य हेल्लो हाइबाहेक केही कुराकानी हुन सकेको छैन । ऊ कता, को सँग व्यस्त होली ? मनमा डाहाको आगो सल्किँदै थियो ।
केही बेरपछि फेरि उसले मेरै शब्द लेखी “सुकुटे !”
लगातार अर्को म्यासेज आयो “काम थियो, अनि व्यस्त भएँ ।” मैले सोधेकै थिइनँ । मनमनै सोचेको मात्रै ।
आफ्नो ज्यान हेरेँ, कठै ! फुक्क भुँडी उक्सेको छ । उसले भन्छे “सुकुटे !” यै ज्यान घटाउन दिनमा दश किमि कुदिन्छ तर, पनि झन् उस्तै । तर, पनि उसले भन्छे– “सुकुटे !”
के यही माया हो ?
सायद, यही माया हो । जहाँ गोरीलाई “काली” भनिन्छ । गोरालाई “काले ।” अग्ली भए नि बाल छैन, “डल्ली” भनिन्छ, सानी भनिन्छ । जेठो, होस् कि माइलो वा साइँलो “कान्छो” भनिन्छ, “कान्छी” अनि “कान्छु” ठोकिन्छ । के यी मायाका प्रतीक हुन् ?
मैले सोचिँरहेँ । उसलाई केही भनिनँ । उसले मेरो ज्यानअनुसारको नाम दिइन । तर, पनि म खुसी नै भएँ । किनकि म आफ्नै ज्यानदेखि बेखुस छु । अरु “स्लिम”हरु देख्दा रिस उठ्छ आफैदेखि ।
“चस्मिस् मगर्नी !” उसको “सुकुटे”ले चङ्गा भएको मन च्याट बक्समा उडाउँदै भनेँ “कस्तो बिजी हो के ! कि ब्याइफ्रेन्डसँग हो र बिजी भएको ?”
हिजोसम्म हामी तपाईँ, हजुरमा थियौँ । आजै तिमी र तँ मा उक्लिइसकेका छौँ । उक्लिएको हो कि झरेको ? यस्तै त होला फेसबुके पिरती ?
“किन र ? हो त म मेरो ब्याइफ्रेन्डसँगै बिजी थिएँ, म के कम छु र ?”
यो भनिरहँदा उसले छाती तन्काइहोली । जिब्रो लामै बाहिर निकालेर टोकी होली अनि एक आँखा झिमिक्क पार्दै फिक्का हाँसो हाँसिहोली । तर, यता म सुकेँ । मन अमिलो भो– मुटुभरि गाँठैगाँठा परेको जस्तो ।
म नाजवाफ भएँ । के लेखुँ । शब्द नै हराएजस्तो भो ।
“के भो बाउन बाजेलाई ?” उसले जिस्काई “बोल्ती नै बन्द ?”
एकछिन बोल्नै मन लागेन । फिल्टरबाट पानी सारेर एक गिलास घटघट पिएँ । पानी पनि तात्तिएको थियो । अफिसबाट बाहिर निस्केँ । दुकान गएँ । चुइगम किनेर मुखमा हालेँ । पाँच मिनेट चपाएँ । गुलियो सकियो अनि त्यसलाई थुकेँ ।
अफिस आएर कुर्सीमा बसेँ ।
“कता व्यस्त हो, बाउन बाजे ?”
बाहिर निस्केको बेला तीनवटा म्यासेज आएका रैछन् “पीर नमान्नु के ।”
उसले लेखेकी थिई “मेरा कोही ब्याइफ्रेन्ड छैनन, भएको भए त उसैसँग गफिन्थेँ नि तपाईंसँग होइन ।” यही मेरा लागि काफी थिए । म फेरि तगडा भएँ । जाँगर नचल्या बेला कसैले रेडबुल खिलाएजस्तो फूर्तिलो ।
अरु पनि अफिसिएल म्यासेजहरु थिए । तर, त्यही चस्मिसको म्यासेज मलाई सबैभन्दा महत्वको थियो ।
“चस्मिस मगर्नी !” मैले लेखेँ “अरुको मन दुखाउन कसैले तिमीबाटै सिकोस् !”
उसले एक मुठ्ठी हाँसो पठाई– शब्दमा ।
त्यसपछि गफगाफ फेरि अगाडि बढ्यो । हाम्ले कथाका चर्चा गर्यौँ ।
उसका कविता अनि गजलका चर्चा गर्यौँ ।
उ भन्थी “तपाईंका कथा मन पर्छन् सारै ।”
म पनि कम थिएँ र भन्दिएँ, “तिम्रा कविता अनि गजलका त कुरै छोडौँ, फिदा छु म फिदा !”
ऊसँग गफिने पलहरु किन–किन मलाई सबैभन्दा अमूल्य लाग्दैछन् अचेल । तर उसका लागि के थिएँ, थाहा छैन । च्याटमा देख्नासाथ कहिले म अघि बोल्थेँ, कहिले ऊ आफै । हामी दिनदिनै घण्टौँ गफिन्छौँ अचेल ।
“आई लभ यू सुकुटी !” एकाबिहानै मैले पर्पोज हान्दिएँ । उसको एक लहर हाँसो फेरि शब्दमा ओइरिए तर मलाई हाँसोको आवश्यकता थिएन आजभोलि । मैले आई लभ यू भन्नासाथ लभ यू टू दीपक भनोस् भन्ने मेरो रहर थियो, मेरो आवश्यकता थियो । आवश्यकता जे भए नि उसले कुनै प्रतिक्रिया जनाइन ।
फेरि लेखेँ, “ओइ चस्मिस, आइ लभ यू !”
त्यसपछि उसले लेखी “थ्याङ्क्स !”
एकछिन त अलमलिएँ । अनि लेखेँ “त अङ्ग्रेजी फेल हो ? आई लभ यूको जवाफ आउँदैन ?”
“तिम्ले सिकाऊ न त बाउन !”
अनि फेरि लेखी “आई लभ यू टू !”
अब ढुक्क भो । मेरो पिरती स्वीकार्य भएछ– फेसबुकमै पर्पोज एसेप्ट भो । लाग्यो– अब मुटु साटिइसक्यो । मन साटियो । बाँकी थियो, फोन नम्बर ।
च्याटमा लेखे “अब तिम्रो बोली सुन्न मन छ ।”
केहीबेर ऊ पनि अलमलमा परी सायद । दिऊँ कि नदिऊँ भयो होला । मेरो प्रोफाइल खोलेर हेरि होला, आफू सुहाउँदो ठानी होला ।
अनि फ्याट्ट फेरि इनबक्समा मोबाइल नम्बर देखियो ।
अब के शब्द लेख्ने झन्झट गर्नु ? उसको नम्बर डायल गरेँ । यताबाट फोन गएको रिङ बजेकै थिएन । कति छिट्टै रिसिभ भयो । हेल्लो पनि नभनी उसले सुरुमै भनी “कति हतार हो, बाउनलाई ? नम्बर पुग्या छैन फोन आइगो !”
मस्किदै भनेँ, “यही त माया हो, कान्छी ! तिम्ले पनि त फोनको घण्टी नबज्दै उठायौ अनि आवाज सुनायौ ।’