डुङडुङ्ती गन्हाएको शरीर, नमाझेर पहेँला भएका दाँत, घुम्रिएर जिङ्रिङ्ग भएको कपाल, अलिअलि पलाएका दाह्रीका ठोसा । झट्ट हेर्दा देखिने उनको हुलिया यही हो ।
सिलाई नगरी पछाडिबाट फन्को मारेर ओढेको लुगा घाँटीनेर ल्याएर गाँठो पारिएको छ । गाँठो भन्दा मुनीको भाग ह्वाङ्गै छ । सिलाएर लगाउनुको साटो त्यसै ओढिएको कपडा अझ ठाउँ ठाउँमा गाँठो पारिएको छ । कपडाको रंग सेतो हो तर, मैलोले कालो भएको गाँठोनेर खुम्चिएको ठाँउमा देखिने सेतो भागले प्रष्ट पार्छ । जंगलमै जीवन ब्यतीत गरेका शिवराज शाहीको शीरमा भने राष्ट्रिय झण्डा अंकित भादगाउँले कालो टोपी टपक्क मिलेको छ ।
शिवराजको छेउमै गएर प्रश्न गरेँ– कहाँ हो तपाईंको घर ? सुर्ती च्यापेको ओठ कोल्टे बनाएर मुस्काए उनी र अलि पर सर्न जोखे । शरीर र सुर्तीको गन्ध एकैचोटी मिसिएर आइरहेको थियो । आँखा तल झार्दै उनले जवाफ दिए– दैलेखको रामघाटमा बसोबास गर्ने राउटे हो हामी ।
रामघाट वरपर बस्ने राउटे समुदायका नेता रहेछन् उनी । पाल्पा महोत्सवमा आफ्ना सामान बेच्न स्टल नै बुकिङ गरेर उनी बसेका थिए । १२ देखि ३० बर्ष सम्मका सात जनाको समुहमा आएका राउटेका टोलीका टोली नेता उनै रहेछन् । उनले आफ्नो बसाईबारे बेली बिस्तार लगाए ।
उनीहरु मुदुस (सामान राख्ने काठको बाकस) बनाएर बेच्छन् । मुदुस बनाएर गाउँतिर बेच्न ल्याउँछन् । उनका अनुसार एउटा मुदुस बनाउन सात दिन लाग्छ । एउटा मुदुस १२ सय रुपैयाँ सम्ममा बिक्रि हुन्छ । तर, अहिले जंगल पातलिंदै गएकाले मुदुस बनाउने पेशा पनि संकटमा परेको उनले वताए । ‘एउटा मुदुस बेचेको पैसाले एक महिनालाई खान पुग्छ’ उनले भने, ‘तर अहिले मुदुस बनाउने काठ पनि सकियो । सबै रुख काटेर फेरि हामी बस्ने जंगल नै हराउँछ ।’ जंगल मासिंदाको पीडा समुदायका अन्यलाई भन्दा राउटेलाई बढी भएको उनले वताए ।
उनी आँखामा आँखा जुधाएर कुरा गरिरहेका थिए । कुरा गर्दै गर्दा घरीघरी उनी मलाई तलदेखि देखि माथिसम्म नियालेर हेर्थे । उनले भिरेका लुगा देखाउँदै ठट्यौली पाराले सोधेँ– किन पढ्न स्कूल नजानु भएको ? पढेको भए बाहिरको कुरा सिकेको भए लुगाहरु फेरीफेरी लगाउन पाइन्थ्यो । मुख फेरीफेरी खान पाइन्थ्यो नि ?
उनको जवाफले अचम्मित बनायो । बाहिरको खानेकुरा जंगलको जस्तो मीठो नहुने कुरा त ठीकै मान्न सकिन्थ्यो । तर, राम्रो लुगा लगाए देउता रिसाउने वताए उनले । ‘बाहिरको मान्छेले लगाएको लुगा राम्रो लाग्छ तर हामीले त्यस्तो लगाउनु हुँदैन । हामी दाराइमस्तो (मस्टो) भगवान मान्छौ । हाम्रो देउता रिसाउँछ’ उनले भने, ‘पहिले पहिले कसैले लाउँथेन तर अहिले त महिलाहरुले बाजारको सिलाएको र किनेको गहना पनि लगाउँछ । हाम्रो आमाहरुले त्यस्तो कहिल्यै लगाउनु भएन ।’
उनीहरुका आमाले जंगलमा पाइने जडिबुटीको गहना कान र नाकमा लगाउने गरेका रहेछन् । त्यसअघिका पुस्ताले गहनाका रुपमा फूल नाक कानमा लगाउने गरेको उनले सुनाए ।
तर उनले बिहेमा श्रीमतीलाई बजारबाटै गहना बनाएर लगेका रहेछन् । हल्का लजाउँदै उनले भने –मेरो बिहेमा उहाँलाई बजारको गहना लगिदिएको थिएँ । श्रीमतीलाई तपाईं सम्बोधन गर्दा रहेछन् उनीहरु । ‘हाम्रोमा नराम्रो मान्छेले मात्र तँ भन्नुहुन्छ, अरु सबैले तपाईं नै भन्नुहुन्छ’ उनले सुनाए ।
बिहेमा दाइजोका रुपमा चामल र भाँडाकुंडा दिने चलन रहेछ । उनको बिहेमा आधा बोरा चामल ससुरालीले दाइजो दिएको सुनाउन छुटाएनन् । भने– मेरो बिहेमा दाइजोमा दश किलो चामल दिएको थियो, खाने थाल पनि थियो ।’
राउटे समुदायको जान्ने बुझ्ने भएर आफू मुखिया भएको सुनाए । भने– ‘बोल्ना पहिलेबाट सिकेकोनाईं । बोल्नाई नजान्या त नाइके कहाँ बन्दाहुँ । बुटवल गया छु । चितवन पनि गया छु । रासनपानी खाला भनेर बोलाया हुन् । हामी बाहिर भन्दा बनमााईं रमाउँदा हुन् । बनमा बसेको बनै राम्रो लाग्छ । बनको शिकार गर्नु नाई हाम्ले सिक्न्या कुरा हुन् । त्यहि सिक्यो । तपाईंहरुलाई त्यो आउँदैन । हामीलाई यही सुख छनाईं । नागरिकता छैन । त्यो चाहिदाइना पनि । एक ठाँउमा नबस्ने । तपाईंहरु वान टु थ्री भन्नुहुन्छ । हामीलाई त्यस्तो बोल्नु हुन्ना ।’
उनले आफ्नो बसाइबारे बेली बिस्तार लगाउँदै भने– ‘हाम्रो त ससुराला माइत नजिक नजिक । जनावर पायो भने मासु काटेर लिएर जान्छ ससुराला । हामी त बिहे गर्दा नेपाली बोल्ले सँग मात्र गर्छौं । मागेरै बिबाह गर्छौं । बगालै भित्र बिहे गर्छौं । बिहेमा भात खान्छौं । हामी लुगा सिलाएर लगाउँदैनौं । पहिला त शहर जान थिएन । अहिले मात्र बजार निकाना लाग्या हुन् ।’
उनीहरु समयको मापन चरा, जनावर र आकाशका तारा हेरेर गर्छन् । ‘कति बज्यो भनेर रातमा चरा र जनावार कराएको, आकाशसमा तारा हेरेर जान्दछ’ उनले भने, ‘हामीलाई त्यही खुसी छ ।’ उनीहरुलाई जंगलदेखि कहिल्यै डर लागेन रे । बरु मान्छेहरु डरलाग्दो लाग्छ । उनी भन्छन् –जंगलको डर लाग्दैन मान्छेदेखि डर लाग्छ ।
chakraptha