☰ open Loading... 15 October 2024|  

भोट हाल्न रात बस्दै जाने
  | १७ चैत्र २०७३, बिहीबार ०७:४९

लामो संघर्षपछि काँडाले गाउँपालिकाको मान्यता पायो । गाउँवासीले अब स्थानीय निर्वाचनबाट नेतृत्व चुन्ने अवसर पाएका छन् । तर विडम्बना, जिल्लाको कूल क्षेत्रफलमध्ये ४६ प्रतिशत ओगट्ने यो गाउँपालिकाको ‘न्युना’ गाउँका मतदातालाई भने मतदान केन्द्र पुग्नै मुस्किल छ । मतदानका लागि उनीहरूले झन्डै एक दिन हिँड्नुपर्ने भएको छ ।  

स्थानीय तह निर्वाचनका लागि बझाङमा १ सय २५ मतदान स्थल तोकिएको छ । करिब ४० मतदाता रहेको न्युना गाउँको मतदान केन्द्र धुली हो, जहाँ पुग्न मात्रै पाँच घण्टा हिँड्नुपर्छ । मतदान केन्द्र टाढा हुँदा विगतका निर्वाचनमा पनि त्यहाँका धेरै मतदाता गएनन् । ‘कि त अघिल्लो दिन नै मतदान केन्द्र भएको ठाउँमा पुगिसक्नुपर्छ, नभए मतदान भएको दिन त्यहीं बसेर भोलिपल्ट मात्र घर फर्किनुपर्छ,’ न्युनाका उमेश बोहराले भने, ‘हिँड्न सक्नेहरू रातारात गरेर पनि घर पुग्न सक्छन्, नसक्नेहरू भोलिपल्ट मात्रै ।’

महिला मतदातालाई झन् समस्या छ । चुलोचौको, बस्तुभाउ र बालबालिका छाडेर उनीहरू त्यति टाढा जानै सक्दैनन् । त्यसैले यहाँका धेरैजसो महिला कहिल्यै मतदानमा सहभागी भएका छैनन् ।

‘भोट हाल्नकै लागि दुई दिन छुट्याउनुपर्छ, त्यतिबेलासम्म घरपरिवार र केटाकेटी कसको जिम्मा छोड्नु रु न्युनाकी ठिम्सी बोहराले सुनाइन्, ‘त्यही भएर यहाँका महिलाहरू भोट हाल्न जाँदैनन् ।’ काँडा गाउँपालिका गठन भएपछि साविकका ८ र ९ नम्बर वडालाई न्युना र बलौडी गाउँलाई मिलाएर एउटा वडा बनाइएको छ । हालको वडा नम्बर ५ रहेको उक्त गाउँ अर्को गाउँ आउजाउ गर्न ८ घण्टाभन्दा बढी लाग्छ ।

हालको मतदान केन्द्र धुलीको भवानी निमाविसम्म पुग्न बलौडीबाट एक घण्टा लाग्छ । यता न्युनाबाट काँडा मावि मतदान केन्द्रसम्म पुग्न दुई घण्टा मात्र लाग्छ । यो केन्द्र न्युनाका मतदातालाई पायक पर्ने भए पनि उनीहरूलाई यसमा समेटिएको छैन ।

‘त्यही वडामा मतदान केन्द्र राख्दा जुन ठाउँमा राखे पनि अर्को गाउँकालाई झन् टाढा पर्ने देखियो,’ जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार भण्डारीले भने, ‘अघिल्ला निर्वाचनहरूमा यहाँका मतदाता धुलीमै मत हाल्ने गरेकाले अहिले पनि त्यही नै तोकिएको हो ।’ जिल्लास्तरका सबै राजनीतिक दलहरूको सर्वदलीय संयन्त्रले मतदान स्थल निर्धारण गर्ने भएकाले त्यहाँको भौगोलिक अवस्था अध्ययन गरेर नै तोकिएको उनले उल्लेख गरे ।

२५ मतदान स्थल थपिए

२०७० को संविधानसभा निर्वाचनमा एक सय मतदान स्थल रहेको बझाङमा आगामी निर्वाचनका लागि २५ वटा मतदान स्थल थप गर्ने निर्णय जिल्लास्तरीय सर्वदलीय समितिले गरेको छ । जिल्ला निर्वाचन अधिकारी भण्डारीका अनुसार थप निर्वाचन केन्द्रका लागि निर्णय गरेर निर्वाचन आयोगमा पठाइएको र आयोगले स्वीकृत गरेर पठाएपछि नयाँ मतदान स्थलहरू कायम हुन्छन् । स्थानीय तह पुनस्संरचना हुँदा सिमानाहरू हेरफेर भएको र साविकका मतदान स्थलहरू अपायक भएको ठाउँमा नयाँ स्थल राख्नका लागि सिफारिस गरिएको उनले बताए ।

नयाँ सिफारिस भएका मतदान स्थलहरूमा सबैभन्दा बढी जयपृथ्वी नगरपालिका र विथ्थड चीर गाउँपालिकामा ५र५ वटा छन् । यसैगरी बुंगल नगरपालिकामा ४ र तल्कोट गाउँपालिकामा ३ वटा मतदान केन्द्र थपिएको छ । छबिस पाथीभेरे, केदारस्यु, काँडा र थलारा गाउँपालिकामा २र२ वटा केन्द्र थप्न सिफारिस गरिएको छ । सुर्मा र मस्टा गाउँपालिकामा १र१ थप स्थल सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा डेढ सयका हाराहारीमा मतदान केन्द्रहरू रहने छन् ।

इकान्तिपुर