☰ open Loading... 25 November 2024|  

स्थानीय तह निर्वाचन, को बन्लान त उम्मेदवार ?
  | २० चैत्र २०७३, आईतवार ०६:५४

आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । जिल्ला पार्टी कार्यालय र सदरमुकाममा डेरा जमाई बस्ने गरेका पार्टीका कार्यकर्ताहरु गाउँ र वडा टोलहरुका कार्यक्रमहरुमा व्यस्त रहन थालेका छन् ।

  १९ वर्ष पछि हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पुरानो पुस्ता र नयाँ पुस्ता बीचबाट योग्य र चर्चित उम्मेदवार चयन गर्नु पार्टीका लागि फलामको चिउरा चपाउनु सरह हुने आँकलन गर्न सकिन्छ ।

पाँच नगरपालिका र ४ गाउँपालिका रहेको सुर्खेत जिल्लामा करिव १ लाख  ८५ हजार ५२२ जनाले मतदान प्रक्रियामा सहभागि हुन पाउने भएका छन भने मतदान मार्फत ५ सय १३ जना निर्वाचित हुनेछन । ८ हजारको संख्यामा जिल्लाभर विभिन्न पदमा उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।

मुख्यगरी, सुर्खेतमा प्रमुख तीन राजनीतिक दलहरुबाट को र कस्तो उम्मेदवार छनौट गर्लान त भन्ने आम नागरिकहरुको जिज्ञास र चियापसलमा तीन दलका केही व्यक्तिहरुको चर्चा बढिरहेको छ ।   विशेषत यसअघिका दुवै स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा कब्जा जमाएको एमाले आागामी निर्वाचनमा पनि यसको निरन्तरताको आशामा छ । नेकपा एमालेको जिल्लामा रहेका अन्य स्थानीय तहको तुलनामा मजबुत संगठन रहेको वीरेन्द्रनगर नगरपालिका यसअघिको झै सोचे बमोजिम नभएको कतिपय विश्लेषकहरु बताउँछन ।

  तर पनि भर्खरै कांग्रेस छोडेका चर्चित व्यक्तित्व गेहेन्द्रप्रसाद दाहालको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले २०४९ सालमा प्रेमदेव गिरीको साइकल चुनाव चिन्हले प्राप्त गरेको मत मात्र सुरक्षित गर्दापनि कांगे्रसको हार सुनिश्चित हुनेछ ।

कांग्रेसमा मुखरित भईसकेको विद्रोहको ज्वाला उम्मेदवार घोषणासंगै एमालेमा पनि फैलन सक्ने सम्भावनालाई नकार्न भने सकिदैन । विवादरहित उम्मेदवारी घोषणा गरेको नेकपा माओवादी केन्द्र टुटफुटबाट थिलो परेको अवस्थाबाट कसरी अगाडी बढ्दछ, यसैले आगामी निर्वाचनको परिणाम निश्चित गर्नेछ ।

  केपी ओली शर्माको ९ महिने सरकारबाट प्राप्त उपलब्धीहरुको लोकप्रियताको बलमा स्थानीय तहहरुमा जिल्लाभर बर्चश्व कायम गर्नेमा ढुक्क रहेको नेकपा एमाले जिल्लामा आफ्ना एक जनापनि सांसद नहुदाँ ३ जना प्रत्यक्षसहित समानुपातिक सांसदहरुले मतदाताहरु माझ जिल्लाभर दिन सक्ने विकासे आश्वासनहरुलाई कसरी छिचोलेर अगाडी बढ्दछ, जीत र हारको अंक यसैमा निर्भर रहनेछ ।

  यसपटक नेपाली कांग्रेसबाट जिल्ला सभापति कमलराज रेग्मी, उप–सभापति टेकबहादुर सिंह, सचिव टोपबहादुर रावतले उम्मेदवारीको मन बनाएको देखिन्छ भने नेकपा एमालेबाट उपाध्यक्ष अमृतकुमार विसी, सचिव मोहनसिं बडुवाल र नेकपा माओवादीका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले आफ्नो पहिलो प्रत्यक्ष निर्वाचनको परिक्षणका लागि चुनावी दौडमा सहभागि हुने मन बनाएको देखिन्छ ।

यसबाहेक कांग्रेसका पुर्व उप–सभापति उपेन्द्र थापा, महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, खड्क पोखरेल, वेदु गिरी, रामबहादुर सिंह यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसका चर्चित अनुहारहरु रहन सक्छन । स्थानीय तहको सरगर्मी बढेसंगै कहिलेसम्म नेपाली काँग्रेसले उम्मेदवारहरुको टुंगो लगाउँछ त भन्ने सवालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुुर्खेतका सभापति कमलराज रेग्मीले आगामी बैशाख ७ गते भित्र वडा गाउँपालिका र नगरपालिकामा उम्मेदवारको टुंगो लगाउने बताउँछन् । यही चैत्र २५ गते वडा, आगामी बैशाख ३ गते क्षेत्रिय र ७ गतेसम्म जिल्ला स्तरमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउने  बताए ।

  नेकपा एमालेबाट ऐनबहादुर चन्द, कुलमणि देवकोटा, हरिहरनाथ योगी, गगनसिंह सुनार, ताराकेशर गौतम, घनश्याम पाण्डे, रेशम राना, हरिप्रसाद अधिकारी, धिरबहादुर शाही, कविन्द्रकुमार केसी र टेकेन्द्रकुमार वस्नेत जस्ता युवा चर्चित अनुहारहरु मध्ये मतदाताहरुको दैलो ढकढक्याउन आउने निश्चित प्रायः छ ।

शिक्षण पेशाबाट राजनीतिमा उदाएका धनसिंह खड्का, रामबहादुर सिंह, टोपबहादुर अधिकारी, हरिहरनाथ योगी, यज्ञ ढकाल, सिताराम पौडेल, झकबहादुर डाँगी लगायतले टिकटको सुनिश्चिततासंगै चुनावी मोहर आफ्नो नाममा लगाउन भरमग्दुर प्रयास गर्ने छन् ।

निजामति कर्मचारी क्षेत्रबाट हालसम्म निजामति कर्मचारी संगठन सुर्खेतका पुर्व अध्यक्ष एवं पेशागत महासंघ सुर्खेतका अध्यक्ष केशरबहादुर डांगीले एमालेको कमजोर क्षेत्र भनि आँकलन गरिएको गुर्भाकोट नगरपालिकाबाट निश्चित बिजयको परिणाम निकाल्न सरकारी जागिरबाट राजीनामा दिने मन बनाएका छन् । यस बाहेक निजामति क्षेत्रबाट अन्यले मन बनाएको जानकारीमा आएको छैन ।

  नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा ६ नं प्रदेशका सह–संयोजक यामलाल कंडेलले बैशाखको पहिलो हप्तासम्म सर्वसम्मत उम्मेदवार चयन गरिने बताए । हाल उम्मेदवार छनौट गर्नका लागि औपचारिक र अनौपचारिक रुपमा छलफल भईरहेको जानकारी दिएका उनले नयाँ संविधान अनुरुप गाउँपालिका र नगरपालिकामा कमिटी विस्तार गर्नमा व्यस्त रहेको र आगामी बैशाख पहिलो सातामा सवै टुंगो लाग्ने बताउँछन् ।

  अधिकास युवा अनुहारहरु रहने यो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट खड्क विवस बासपाने, बलबहादुर कठायत, केशव शाही, नविन बम, नरेन्द्र कार्की जस्ता युवा अनुहारले पनि यो निर्वाचनमा जनताको मतको परिक्षण गर्न आफुलाई उभ्याउने छन ।

यसै विषयमा प्रतिक्रिया लिन खोज्दा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठम्बरबहादुर विष्टले, आगामी निर्वाचनमा योग्य सक्षम र लोकप्रिय व्यक्तिहरुलाई उम्मेदवार बनाई स्थानीय तहको निर्वाचन जित्ने दावी गर्छन् ।

आज (आइतबार) भित्र सबै उम्मेदवारहरुको टुंगो लगाई नगरपालिका र गाउँपालिकाबाट जिल्लामा सिफारिस पठाईने र भोली (सोमबार) जिल्ला कमिटी बैठक बसी सर्वसम्मत निर्णय भई  आएकाहरुलाई उम्मेदवार तोक्ने र एक भन्दा बढी सिफारिस भएकोमा जिल्ला कमिटीको राय बमोजिम प्रदेश कमिटीबाट टुंगो लगाउने गृहकार्यमा पार्टी रहेको उनी बताउँछन् ।


–स्रोतः सिद्धदर्शन दैनिक