☰ open Loading... 2 May 2024|  

शाहकाे हत्या आर्थिक प्रलोभनका भएकाे हाे : राज्यमन्त्री बानियाँ
  | २१ चैत्र २०७३, सोमबार २२:३२

जाजरकोट । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताएका छन् ।

जाजरकोट सदरमुकाममा साेमवार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले अनुसन्धानमा अपराध अनुसन्धान ब्युरो, विभिन्न प्रविधि प्रयोग भएका कारण हत्याराको पहिचान भइसकेको उनले बताए ।

अप्ठ्यारो ठाउँमा नै बढी आपराधिक घटना हुने गरेको भन्दै माओवादीको युद्ध पनि अप्ठ्यारो ठाउँबाट भएको उनले बताए । जिल्लाका एनजिओ सुरक्षाका कारण देखाउँदै गाउँ जान अस्वीकार गरिरहेका बेला निर्धक्क भएर गाउँमा काम गर्न आग्रह गर्दै सरकारले शान्ति सुरक्षाको पाटो मजबुत बनाएको दाबी गरे ।

जिल्लामा छ जना प्रहरी निरीक्षकको दरबन्दी भएकोमा अहिले एकजना मात्रले काम चलाएको पाइएकाले तुरुन्तै दरबन्दीअनुसारको सुरक्षाकर्मी पठाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं १ का सभापति महेन्द्र शाहले हत्या भएका रवीन्द्र शाहलाई सरकारले सहिद घोषणा गर्न माग गरेका छन् । निर्वाचन आचारसंहिता लागेका बेला गृहराज्यमन्त्री इन्द्र बानियाँले हेलिकप्टर प्रयोग गरेको भन्दै आलोचनासमेत भएको छ ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले आचारसंहिता विपरीत मन्त्रीले यस्तो गर्नु राम्रो नभएको बताए । राज्यमन्त्री बानियाँ आज बिहान ११ बजे हेलिकप्टरबाट आएर अपरान्ह ४ बजे काठमाडौँ प्रस्थान गरेका थिए ।