☰ open Loading... 18 May 2024|  

सङ्घको अधिवेशन लम्बियो
  | २२ चैत्र २०७३, मंगलवार १४:४६

जुम्ला । अध्यक्ष पदमा सहमतिको वातावरण बन्न नसक्दा एक सातादेखि नेपाल शिक्षक सङ्घ जुम्लाको आठौँ जिल्ला अधिवेशन लम्बिएको छ ।  सङ्घको आठौँ जिल्ला अधिवेशनको उद्घाटन यही चैत १६ गते नेपाली काँग्रेसका नेता रामशरण महतले गरेका थिए । तर अध्यक्षमा पाँचजना आकाङ्क्षी भएको र सहमतिको वातावरण बन्न नसकेकाले अधिवेशन लम्बिएको हो ।

“कमलबहादुर शाही, जगतबहादुर शाही, गजबहादुर शाही, नरेन्द्रबहादुर महत र कालीबहादुर बुढाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ, सहमति जारी छ, टुङ्गो लागेको छैन” –सङ्घका निवर्तमान अध्यक्ष मक्कबहादुर बुढाक्षेत्रीले जानकारी दिए ।

अन्य पदाधिकारी तथा सदस्यमा विवाद नभएको तर उपाध्यक्षमा धीरेन्द्र शाही र राजेश्वर यादवले उम्मेदवारी दिए पनि यसमा सहमति जुटाउन अप्ठ्यारो नभएको उनको भनाइ छ ।

निवर्तमान अध्यक्ष बुढाक्षेत्रीले भने – “निर्वाचनलाई प्रभाव नपार्नेगरी सकेसम्म सहमति गर्छौं, यदि त्यसो नभए स्थानीय तहको चुनावपछि सङ्घको चुनावमा जान्छौँ ।” चुनावपश्चात् सङ्घको अधिवेशनले चार वर्षका लागि २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।