☰ open Loading... 17 May 2024|  

को हुन आइजीपीमा नियुक्त भएका अर्याल ?
  | २९ चैत्र २०७३, मंगलवार ०८:३२

लामो कसरतपछि सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ । यसअघि गएको फागुन १ गते सरकारले डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले त्यसलार्इ खारेज गरिदिएको थियो। सरकारले चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको भोलिपल्टै अर्का डिआईजी नवराज सिलवालले आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि भएको सर्वोच्चको पूर्ण इजलाशले सरकारको निर्णय खारेज भयो। चन्दविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि सरकारले प्रहरी नियमावली संशोधन गरी निर्णय बदल्यो र निमित्त महानिरीक्षकको जिम्मेवारी प्राविधकपट्टिको जिम्मेवारीमा खटिएका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई दियो।

प्रहरी नियमावलीअनुसार कार्यसम्पादनमा सबैभन्दा बढी अंक पाउनेलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सर्वोच्चले आदेश दिएको २० दिनपछि मन्त्रीपरिषद बैठकले अर्याललाई आइजिपीमा नियुक्ति गरेको हो।

गृह मन्त्रालयका अनुसार सर्वोच्चको बृहत् पूर्ण इजलासले भने बमोजिम चारवटा आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर जोड्दा नवराज सिलवालभन्दा अर्याल १ दशमलव ३४ नम्बरले अघि देखिएका हुन्।

अर्यालको जन्म

प्रकाश अर्यालको जन्म २०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका ११ मा भएको हो।

कार्यक्षेत्र
उनी २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनले दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्की जिल्लामा प्रहरी प्रमुख भएर काम गरेका छन्। उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भइसकेका छन्। उनी एसएसपीबाट डिआइजीमा २०६९ साल पुस ४ गते बढुवा भएका थिए।

अध्ययन

उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्।

काम
महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान चलाएका थिए।

‘एक महिनाभित्र ट्याक्सी चालकहरू मिटरबिना हिँड्दैनौं भन्नेछन्,’ अर्यालको यो भनाइ हो।

सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थाले भने आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिए।

तालीम
अर्यालले अमेरिकामा एफबिआई तालिम, सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो आदि तालिम लिएका छन्।

त्यस्तै विपत व्यवस्थापन प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम लिएका अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन्।

पुरुस्कार
अर्यालले सेवा अवधिभर अहिलेसम्म दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक, गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि पाएका छन्।

आरोप
अर्याललार्इ सिआइबीमा रहँदा ३५ किलोको सुन काण्ड उनलार्इ लागेको अहिलेसम्मकै ठुलो आरोप हो।

कसरी भए अाइजीपी ?

सर्वोच्चले जयबहादुर चन्दलाई आइजीपी बनाउन रोकेपछि सत्ताधारी गठबन्धनबीच यस विषयमा पटक पटक छलफल भएको थियो। छलफलहरुमा काँग्रेस सभापति शेरबहादुर देउवाले जसरी पनि सिलवाललाई प्रहरी प्रमुख नबनाउँने अडान लिए। खासमा उनले सिलवाल एमाले निकट रहेको र सरकारको निर्णय विरुद्ध प्रणालीभित्र रहेको व्यक्तिले सर्वोच्चमा रिट हाल्नु पदीय मर्यादाविरुद्ध कार्य गरेको भन्ने जिकिर गर्दै आइरहेका थिए।

उता, काँग्रेस–माओवादीले दुई प्रहरी, जनपथ र शसस्त्रका प्रमुखहरु भागवण्डा गरेकाले पनि प्रधानमन्त्री पुष्पकमल दाहालले देउवाको कुरा ‘क्रस’ गर्ने स्थितिमा थिएनन्। यतिसम्म कि आफ्नै पार्टीबाट उपप्रम तथा गृहमन्त्री बनेका विमलेन्द्र निधिको सिलवाललाई नै आइजीपी बनाउने चाहनालाई सभापति देउवाले खुम्चाइदिएको प्रष्ट भइसकेको छ।

अन्ततः आइजीपी नियुक्ती प्रकरण पेचिलो मात्र होइन सर्वसाधारणको समेत प्रश्नको घेरामा पर्न थालेपछि प्रधानमन्त्री दाहाल र काँग्रेससभापति देउवाले तेस्रो व्यक्तिको नियुक्तीको सोच बनाएका थिए। त्यसमा कार्यसम्पादन मूल्याङ्कन र प्रहरी संगठनको साखको लेखाजोखा गर्दा प्रकाश अर्याल नै उपयुक्त हुने ठहर गरियो। स्रोत भन्छ, ‘ त्यसैले पनि प्रक्रियासम्मत देखाउन मन्त्रिपरिषदले एउटा समिति बनाएर त्यसले गरेको सिफारिसका आधारमा अर्याललाई आइजीपीको फुली लगाउने निर्णय गरिएको हो।’