☰ open Loading... 2 May 2024|  

‘आफ्नै नेतृत्वमा सरकार बनाउने पार्टी राप्रपा हुन्छ’
  | ३० चैत्र २०७३, बुधबार १०:००

सुर्खेत । अव हुने आसन्न तीन निर्वाचनमा राष्ट्रकै तेस्रो शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी बन्ने दावी राप्रपाका केन्द्रीय सदस्य रेशम लामाको छ । पूर्व स्थानीय विकास सहकाय मन्त्री समेत रहेका लामाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी निर्वाचनमा वर्चश्व राख्न राप्रपा देश दौडाहमा रहेको पनि बताए ।

मिडिया नेपालले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा लामाले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन जित्ने गरी लागेको पनि उल्लेख गरे । अन्य दलहरुलाई पटक– पटकका निर्वाचनमा जिताएका जनताले यो पटक राप्रपालाई नै पहिलो प्राथमिकता राख्ने जिकिर उनको छ ।

चार जनाको उपस्थितीमा संसदमा प्रतिनिधित्व गरेको राप्रपा ६ वर्षमा चौथो शक्तिको रुपमा उदयमान भएकाले अवको निर्वाचनमा पनि राप्रपाले सरकार निर्माण गर्ने हैसियत बनाउने उनको भनाई छ । स्थानीय तहको निर्वाचनमा राष्ट्रवादी, हिन्दुवादी र राजवादीको एजेण्डासहित चुनावमा होमिएकाले आफूहरुले जित्ने बताएका उनले भने,–‘हामी चुनाव चाहान्छौं, जनताको मतको कदर गर्न राप्रपा सरकारमा सहभागी भएको हो ।’

‘बसढापाकाले स्थानीय तहको चुनाव भुलिसके, युवा तरुन्नालाई थाहा छैन’ लामाले थपे,–‘चुनाव बारे बुझाउन र हुने वातावरण तयार गर्नकै लागि सरकारमा राप्रपा सहभागी छ ।’ देशका सवै क्षेत्रमा रहेका नागरिकहरुको घरदैलोमा राप्रपा पुगेकाले हिन्दु राष्ट्रको माग बढी भएकाले जित्ने पनि पक्का भएको उनको दावी थियो ।

निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाएको विषयमा आयोगले त्रुटि भएको भन्दै सच्चाउने जानकारी दिएको बताएका लामाले सच्याउन अटेरी गरे सडक र सदनबाट पुनः संघर्ष गर्ने चेनावनी दिए ।

पत्रकार सम्मेलनमा राप्रपाका सांसद् सीता लुइटेलले स्थानीय तहको निर्वाचनमा महिला सहभागीता राप्रापले बढाउने बताइन् । उनले सिंहदरवारको अधिकार गाउँ स्तरमा आएकाले अवका निर्वाचनमा महिला सहभागिता बढाउन पार्टी सक्रिय रहेको जानकारी दिईन् ।

पूर्व सह–महामन्त्री मुकुन्द श्याम गिरीले सुर्खेतका ९ वटै स्थानीय तहका मेयर, अध्यक्षहरुको उम्मेदवारी दुई दिनमा घोषणा हुने बताए । ‘सम्भवत् शुक्रवारसम्म सुर्खेतको टुंगो लाग्छ, योग्य र जनाताले चाहेका उम्मेदवार पार्टीले घोषणा गर्छ ।’