☰ open Loading... 2 May 2024|  

रोल्पाको थवाङमा चुनावी अभियान तीव्र
  | ८ असार २०७४, बिहीबार १२:००

रोल्पा । हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ ।  यस पूर्व भएका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली काँग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने थवाङले यस पटकको निर्वाचनमा के गर्छ भन्ने धेरैको जिज्ञासालाई अन्तिममा आएर काँग्रेससँग तालमेल गरी जवाफ दिएको छ ।

सो गाउँपालिकामा नेपाली काँग्रेस र स्वतन्त्रको रुपमा नेकपाका साझा उम्मेदवार अमित घर्तिमगरले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका श्रीकुमारी रोका प्रतिस्पर्धामा उत्रिएकी छिन् ।

सो गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले वीरबहादुर घर्तीलाई अध्यक्ष र रामकिरणी रोकालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारमा तीव्रताका साथ लागेको बताइन्छ ।