☰ open Loading... 30 April 2024|  

कर्मचारी सञ्चय कोषले शाखारहित शाखा विस्तार गर्ने
  | ८ असार २०७४, बिहीबार २०:११

सुर्खेत । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको मागलाई मध्यनजर गरेर सेवा सुविधा बढाउने नीति अवलम्वन गरेको छ । कोषले देशभरका साढे पाँच लाख सञ्चयकर्तालाई आठ वटा शाखा र दुई वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको कोषले अब शाखारहित सेवा विस्तार गरि पहिलो पटक बैंक मार्फत सरल र सुलभ सेवा प्रवाह गर्न लागेको हो ।

कोषले देशभरी रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु मार्फत यस्तो सेवा आउँदो आर्थिक वर्षबाट प्रवाह गर्न लागिएको बताएको छ । विहीबार वीरेन्द्रनगरमा कर्मचारी सञ्चय कोषले उपलब्ध गराएका सेवा सुविधा र सञ्चयकर्ताको धारणा विषयक अन्तरक्रिया कार्यक्रममा कोषका योजना अनुगमन तथा मूल्याकंन विभागका प्रमुख राजाराम श्रेष्ठले सेवाग्राहीलाई अधिकतम् आधुनिक सेवा सुविधा प्रवाह गर्न कोष लागि परेको जनाए ।

उनले सञ्चयकर्तालाई कोष आफ्नै हितैषी संस्थाको रुपमा अनुभूति दिने गरी वर्षेनी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनका अनुसार बहुउपयोगी कार्यक्रमहरु मार्फत सञ्चयकर्तालाई अधिकतम सेवा दिनु नै कोषको लक्ष्य हो ।

अन्तरक्रिया कार्यक्रममा कोषका सुर्खेत शाखा प्रमुख रामप्रसाद लामिछानेले सञ्चयकर्तालाई विशेष सापटी, भुक्तानी, घरसापटी, घर मर्मत सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा, सामाजिक सुरक्षा सेवा अन्तर्गतका दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु हेरचाह खर्च, काजक्रिया अनुदान, औषधोउपचार सहयोग कार्यक्रम उपलब्ध गराउँदै आएको बताए । उनले सेवा लिन र दिने वीचको सम्बन्धलाई थप प्रगाढ बनाउन समय सापेक्ष सूचना प्रविधिमा जोड दिईएको जानकारी दिए ।

उनका अनुसार केही प्रक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रवाह गरी अधिकतम लाभ दिन आग्रह गरे । उनले समय सापेक्ष केही प्राविधिक सुधार गरेपनि कोषले अझै सञ्चयकर्ता मैत्री बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिए ।