☰ open Loading... 3 May 2024|  

मध्यपश्चिम विश्वविद्यालय पदाधिकारीलाई विद्यार्थीले दिए २४ घण्टे अल्टिमेटम
  | २७ जेष्ठ २०७४, शनिबार १८:१५

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका विभिन्न विद्यार्थी संगठनहरुले शैक्षिक सुधार निम्ति राखेका माग २४ घण्टाभित्र पूरा गर्न विश्वविद्यालय पदाधिकारीलाई अल्टिमेटम दिएका छन् । वीरेन्द्रनगरमा संयुक्त विद्यार्थी संघर्ष समितिले शनिवार पत्रकार सम्मेलन गरेर तत्काल माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।


कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य एवम् मध्यपश्चिम विश्वविद्यालय समितिका संयोजक अनिल शाहीले आफुहरुको मागलाई विश्वविद्यालयले सधैँ वेवास्ता गरिरहेको भन्दै २४ घण्टाभित्र माग पुरा गर्न कुनै पहल नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिए । विश्वविद्यालय स्थापना भएको सात वर्ष पुगिसक्दा पनि विश्वविद्यालयले शैक्षिक गुणस्तर बढाउनतर्फ कुनै ध्यान नदिएको संयोजक शाहीको गुनासो छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष महेश जिसीले शिक्षालाई व्यापारीकरण गरिएको भन्दै चिन्ता व्यक्त गरे । विश्वद्यालयले आफ्ना शैक्षिक गतिविधि सुधार नगरी निजी तथा व्यापारिक दृष्टिकोणबाट संचालित शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएकोप्रति विद्यार्थीहरुले पटक पटक ध्यानाकर्षण गराएका थिए ।

यसअघि पनि फरक फरक विद्यार्थी संगठनहरुले छुट्टाछुट्टै विज्ञप्ती निकाली आफ्ना मागप्रति विश्वविद्यालयको ध्यानाकर्षण गराएका पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए । विद्यार्थीहरुले विश्वविद्यालयलाई व्यवस्थित साझा शैक्षिक संस्थाको रुपमा स्थापित गरी आंगिक रुपमा सम्बन्धन दिने भनिएका क्याम्पसहरुमा सम्बन्धन दिई संचालनमा ल्याउने माग गरे ।
विश्वविद्यालयले नै सुधार गर्न नसकेको एमई, बीई, एमबीए र बीबीएका कार्यक्रमलाई निजी स्वार्थका लागि सम्बन्धन दिन खोजिएको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन् । विश्वविद्यालयले दिक्षान्त समारोहका नाममा विद्यार्थीहरुबाट लिईएको चर्को शुल्क घटाएर लिनुपर्ने, शैक्षिक तथा प्रशासनिक ढिलासुस्तीलाई सुधार गरी विद्यार्थीमुखी बनाउनुपर्ने, विद्यार्थीका लागि आवासको व्यवस्था गर्नुपर्ने लगायतका माग विद्यार्थीहरुको छ ।

उनीहरुले तत्काल कुनै पनि क्याम्पसलाई सम्बन्धन नदिई विश्वविद्यालयको केन्द्रिय क्याम्पसलाई व्यवस्थित गर्नुपर्ने, आंगिक क्याम्पसको मापदण्ड बनाई छिटो संचालनमा ल्याउनुपर्ने माग पनि अघि सारेका छन् । आगामी असार ३ गते विश्वविद्यालयले आयोजना गर्न लागेको दिक्षान्त समारोहको मिति पनि विभिन्न कारण देखाउँदै सार्न लागिएको भन्दै उनीहरुले निर्धारित मितिमै सम्पन्न गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलन नेविसंघ, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, अखिल (छैठौँ), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ र स्ववियुले संयुक्त रुपमा गरेका थिए ।