☰ open Loading... 2 May 2024|  

कर्णाली राजमार्गकाे विकल्प खाेज्न दैलेखमा बहस
  | ३ असार २०७४, शनिबार १०:२४

दैलेख । बुधबार कर्णाली राजगमार्गअन्तर्गत दैलेखखण्डको आठविस नगरपालिकामा भएको बस दुर्घटनापश्चात् दैलेख सदरमुकाममा रहेका राजनीतिक दलले सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे समीक्षा गरेका छन् । अहिले सञ्चालन भइरहेको कर्णाली राजमार्ग सडकमा अत्यधिक दुर्घटना हुन थालेपछि यसको विकल्पको राजमार्ग निर्माणबारे बहस भएको छ ।

पूर्वस्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले कर्णाली राजमार्ग सडकको पूर्वाधार विकासमा थप मजबुद बनाउनुपर्ने, सडक चौडा गर्नुपर्ने र सँगसँगै विकल्पका रुपमा अर्को सडक निर्माण गर्नुपर्ने धारणा राखे । हाल सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै कालीकोट सिमानासम्म सडक पुगिसकेको र बाँकी २४ किमी सडक विस्तार गर्न सके वैकल्पिक राजमार्गका रुपमा अर्को सडक प्रयोग गर्न सकिने खड्काले बताए ।

सरकारले यो वर्षको बजेटमा पञ्चकोसी राजमार्ग भनेर सुर्खेतदेखि दैलेख, जुम्ला हुँदै चीनसम्म जोड्ने महत्वपूर्ण सडक योजना ल्याएकाले पनि कर्णाली राजमार्गको वैकल्पिक सडकका रुपमा यो सडक सञ्चालन गर्न सबैले पहल थाल्नुपर्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्ति शर्माले बताए ।

अहिले दैलेख सदरमुकामबाट महावु सम्मको सहज यात्रा गर्न सकिने अवस्था छ भने सरकारले सामान्य सडकको स्तरोन्नति गर्न बाँकी रहेको २४ किमी सडकमा थप पूर्वाधार विकास गर्न सके सुर्खेत, दैलेख सदरमुकाम हुँदै महावुदेखि जुम्लासम्म सडक सञ्चालन हुने देखिन्छ ।