☰ open Loading... 18 November 2024|  

४१ वर्षपछि वीरेन्द्रनगर नगरपालिकाले ल्यायो दमकल
  | ४ असार २०७४, आईतवार १४:३५

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका स्थापना भएको ४१ वर्षपछि दकमल ल्याइएको छ । सुर्खेतस्थित राजनीतिक दल र नगरपालिकाको वेवस्थाका कारण कार्यालय स्थापना भएको ४१ वर्षपछि दमकल शनिवार वीरेन्द्रनगर नगरपालिकाको दमकल आएको हो ।

साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा चर्को आलोचना हुने गरेको थियो । छिमेकी जिल्ला दैलेख र पछि स्थापना भएको सुर्खेतकै भेरीगंगा नगरपालिकामा दमकल पुगेपछि जनस्तरबाट चर्को दवाव वीरेन्द्रनगर नगरपालिकालाई परेको थियो ।

राजनीतिक दलले पटक–पटक दमकल ल्याउन पहल भइरहेको बताए पनि नगरपालिका स्थापना भएको ४१ वर्षसम्म वीरेन्द्रनगर नगरपालिका दमकलविहिन थियो । स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगरपालिकाले भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर ल्याइएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ जिन्सी सहायक खड्क केशीले ६० लाख मूल्यमा दमकल खरिद गरी ल्याइएको जानकारी दिए । दमकल नहुँदा नगरभित्र बेला–बेलामा हुने आगलागीका नियन्त्रण गर्नमा सहजता हुने उनले बताए । भारतको दिल्लीमा बनेको दमकल वीरेन्द्रनगर आइपुग्न झण्डै एकसाता लागेको थियो । दिल्लीबाट रक्सौल नाका हुँदै दमकल शनिवार सुर्खेत आइपुगेको हो ।

दमकल आएसँगै वीरेन्द्रनगर नगरकार्यपालिकाको बैठक बस्ने तथा प्राविधिक परिक्षण र प्रतिवेदन मेकानिकल इन्जिनियरसँग देखाएर सञ्चालनमा ल्याइने केशीले जानकारी दिए । तत्काल दमकल सञ्चालन गर्न चालक र ‘फायर म्यान’ नियुक्ती गर्न समय लाग्ने नगरपालिकाले जनायो । तर नगरपालिकामा रहेका पाँच जना सवारी चालक मध्य एक जनालाई कार्यालयमै राखिने केशीको भनाई छ ।

‘दमकलमा सवारी चालक र फायर म्यान गरेर पाँच जना कर्मचारी आवश्यक पर्छ’ केशीले भने,–‘ति परिपूर्ति गर्न समय लाक्ष्ने भएकाले नगरपपालिकासंग जनशक्ति नै परिचालन गर्ने तयारीमा छौं ।’ दमकल निर्माण कम्पनीले तत्काल नगरपालिकासंग रहेका पाँच जना कर्मचारीलाई दमकलसम्वन्धी आवश्यक प्रशिक्षण दिने पनि उनले बताए ।