मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले असार १९ गते (भोली) प्रथम दीक्षान्त समारोहको तयारी जोडतोडले गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा दीक्षान्त समारोहमा सहभागि हुने र कुहिनेपानी जंगलमा नवनिर्मित प्रिफेबको भवनहरुको समेत सोहि अवसरमा उद्घाटन गरिने भएको छ । आफ्नै भवन नभएकाले भाडामा बस्दै आएको मप विश्वविद्यालय संभवतः असार १९ गतेबाटै केन्द्रीय महाविद्यालयको कार्यालय कुहिनेपानीबाट सञ्चालन हुनेछ । सोही स्थान नजिकै अर्को बन्दै गरेको विशाल भवनको निर्माण सम्पन्न हुन अझै ३/४ वर्ष लाग्ने भएकाले तत्काल प्रिफेबको भवन निर्माण गरी स्व–स्वामित्वको कार्यालय भवनमा विश्वविद्यालयको स्थायित्व र वाहिरि सेवा समेत परिवर्तन आउनेछ ।
विभिन्न आरोह–अवरोह झेल्दै यहाँसम्म मप विश्वविद्यालयको स्थापनाको इतिहास उल्लेखनीय रहेको छ । तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर भएता पनि शक्ति र भक्तिका अगाडी कसैको केही नचल्ने यो समयमा नेपाली कांग्रेसका तत्कालिन नेता सुशिल कोइराला र उनको गिरिजाप्रसाद कोइरालासंग निकटता सुर्खेतका लागि अभिसाप रह्यो । पञ्चायती व्यवस्था रहँदासम्म हरेक दृष्टिकोणले सुर्खेतलाई केन्द्र पारेर योजना निर्माण गरिएता पनि २०४६ सालको परिवर्तन पश्चात सुर्खेतको विकासको गतिमा ब्रेक लाग्यो ।
क्षेत्रीय सदरमुकाम सुर्खेत भएता पनि विस्तारै विभिन्न जनसरोकारका कार्यालयहरु नेपालगञ्जमा सारियो । सार्न नमिल्ने कार्यालयहरुको कामसमेत सम्पर्क कार्यालय नेपालगञ्जमा राखेर सम्पादन गर्न थालियो । यसमा कांग्रेस नेता सुशिल कोइराला प्रत्यक्ष संग्लन रहे भने यसमा मौन समर्थन एमाले नेता बामदेव गौतम समेत रहयो । यसबीचमा उचालिएको जमिनको मुल्यमा ह्रास आयो महत्वपुर्ण निर्णयहरु नेपालगञ्जमा बसेर गरिने र सुर्खेतलाई कर्नरमा लागिएपछि नेपालगञ्ज प्रतिको सुर्खेती नपरीया हालको नेपाल भारतको जस्तै अवस्थामा रह्यो । यसैबीचमा नेपाल सरकारले हरेक विकास क्षेत्रमा एक एक विश्वविद्यालय खोल्ने योजना ल्यायो ।
हरेक विकास क्षेत्रमा खोल्ने विश्वविद्यालयका लागी स्वभाविक रुपमा यस क्षेत्रका विद्यार्थीहरुलाई पायक पर्ने स्थान र विकास क्षेत्रको सदरमुकामको हिसाबले समेत सुर्खेतले आफ्नो दावेदारी पेश ग¥यो । तदअनुरुप आर्थिक संकलन गर्न कोइराला बन्धुहरुको समूह सक्रिय भयो । विश्वविद्यालय स्थापनाका लागि महायज्ञ संचालन गरेर आवश्यक आर्थिक स्रोतको व्यवस्थापन गरियो । सुर्खेती मनकारी जनताले आफुसंग जे–जे छ त्यो त्यो प्रदान गरे । कसैले जमिन, कसैले नगद रुपैयाँ र अन्य खाद्य सामाग्री समेत महायज्ञमा जम्मा गरियो । नेपालगञ्जमा पनि पछि त्यो अभियान सुरु भयो । सुर्खेतको सिको गर्दै उनीहरुले पनि मप विश्वविद्यालयको नाममा रकम जम्मा गरी नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको आन्दोलन सुरु गरियो ।
सुर्खेत जाने गाडीहरु रोकिए यात्रुहरु बसबाट ओरालियो र मालसमान बोकेर सुर्खेत आउँदै गरेका ट्रकहरु नेपालगञ्जमै रोकिए, सुर्खेतलाई पुर्ण नाकाबन्दी गर्नेसम्मका चेतावनी नेपालगञ्जका जिम्मेवार व्यक्तिहरुबाट निरन्तर आए । तरपनि सुर्खेती रोकिएनन्, बरु विश्वविद्यालय स्थापनाका लागि दलिय समिकरण मिलाउदै मप विश्वविद्यालय स्थापना सर्घष समिति गठन गरियो । जसको संयोजकमा भुषणकुमार मानन्धर थिए, भने सचिवमा हालका विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल थिए ।
यसले सरकारलाई दवाव दिन विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरियो । नेपालगञ्जले सुर्खेतमा म.प विश्व विद्यालय स्थापना गर्न नहुने भन्दै अवरोध निरन्तर जारी राख्यो । साझा ऐजण्डमा एक मत हुन नसकेर सुर्खेती दलहरु भने यो एजेण्डामा एकमत बने । सुर्खेतका केन्द्रमा चिनिएका नेताहरु पुर्णबहादुर खड्का, यामलाल कंडेल र हृदयराम थानीले एउटै मञ्च प्रयोग गर्दै पार्टीले विश्वविद्यालय सुर्खेतमा स्थापना असहयोग गरेमा पार्टी सदस्यता त्याग्नेसम्मका चेतावनी दिएपछि सरकार झुक्यो र प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदाँ सुर्खेतमा मप विश्वविद्यालय स्थापना गर्ने निर्णय गरियो । यसरी निरन्तर रुपमा दशकै लामो संर्घष पछि सुर्खेतले विश्वविद्यालय पायो ।
स्थापनाको सुरुवात निकै उत्साहपुर्ण रहेर पहिलो उपकुलपति पदमलाल देवकोटा स्थानीय व्यक्ति समेत भएकाले ठुलो अपेक्षा सुर्खेतीको रहयो र उनले स्थापना कठिन चरणहरु सहजरुपमा पुरा गरे । विस्तारै उनमा आफ्ना योग्यता र क्षमतामा आम सुर्खेतीको भन्दा माथि रहेको भावनाको विकास हुँदै गयो । घमण्डको रुप यतिमाथि गयो कि जिल्लामा क्रियाशिल पार्टीहरु र नेताहरुलाई उनले टेर्नै छोडे र भाई भतिजाको सामान्य व्यवहारमा राख्दै सबै आफु माजै जाने अरु सबै उपस्थित ठान्ने उनी विश्वविद्यालयको प्रशासन संचालनमा कमजोर देखिए । अविशिष्ट अधिकार प्राप्त भिसी भन्दै प्रचलित ऐन नियम र कानूनहरुको ठाडो उलङ्घन जानेर वा नजानेर गर्दै गए ।
उनलाई संचालन गर्ने बाहिरियाहरुको सानो झुण्डले उनलाई हरेक पटक गलत सल्लाह सुझावहरु दिँदै गयो । सचिवालयले सु–कार्य सञ्चालन नगरी ‘भक्ति बन्धना’ मा मख्ख पार्दै गलत निर्णयहरु गराउदै लग्यो, ‘एकेडेमिक क्षमता’ प्रकार भएतापनि प्रशासनिक क्षमता कमजोर भएका देवकोटा अन्ततः अख्तियारको फन्दामा परे । तत् पश्चात छोटो समयका लागि नियुक्त कालिप्रसाद पाण्डेका समयमा समेत केही दुरगामी महत्वका कामहरु भए । तर, पनि उपकुलपति र रजिष्ट्रार एउटै पार्टीको भएकाले अन्य पार्टीले विश्वविद्यालयलाई हेर्ने नजरीया फरक रह्यो ।
आज परिस्थिती बदलिएको छ । केपी वलीको सरकारले मप विश्वविद्याललाई ठुलो महत्व दिँदै त्यसको केन्द्रिय महाविद्यालय भवन र इन्जिनियरिङ्ग संकायको भवनलगायतको संरचना निर्माणमा ठुलो बजेटको ब्यवस्था गरिदिएको छ । हालका उपकुलपति पनि कोइरालाको उच्च राजनीतिक तहमा पकट र रजिष्ट्रारको प्रशासनिक दक्षताको तालमेलले गर्दा मेडिकल कलेज स्थापनाको बाटो खुलेको छ । चीन सरकारको सहयोगमा निर्माण गरिने भनिएको मेडिकल कलेज मप विश्वविद्यालयले मेडिकल शिक्षणका लागि आफैले सञ्चालन गर्नु उचित हुनेछ ।
यसबीचमा नेपाल सरकारको नयाँ नीति बमोजिम रहेक प्रदेशमा एक÷एक मेडिकल कलेज खोल्ने निणर्यले मप विश्वविद्यालयले शुरु गरेको अन्तरक्रियालाई धक्का पुगेको महशुस गरिएको छ । एमयूले उसकै प्रयासमा चीन सरकारसँग गरेको सम्झौता बमोजिम नै काम अघि बढाएको, आम सुर्खेतीबासीले मेडिकल कलेज स्थापना भएको देख्न पाउने थिए । दोहोरो प्रयासले गन्तब्यमा ढिलो पुग्ने भएकाले उपयुक्त स्थानमा मेडिकल कलेजको स्थापना गर्ने भनि गठित कमिटीले एमयूलाई काम गर्न मद्दत हुने गरी प्रतिवेदन पेश गरिएको भए सुनमा सुगन्ध हुने थियो ।
एमयूले हाइड्रोइन्जिनियरिङ्ग पढाई शुरु गरेको छ । यसका उत्पादनहरुको एक बजारको अध्ययन गरेरै पढाई शुरु गरिएको भएपनि उत्पादित जनशक्ति प्रतिस्पर्धी र गुणस्तरिययुक्त बनाउनै पर्दछ । पर्यटकीय विषयमा पढाई शुरु गर्ने गरी पाठ्यक्रम निर्माणका क्रममा रहेको विश्वविद्यालयले जानकारी दिएको छ । यसलाई छिटोभन्दा छिटो शुरु गरी व्यवहारिक र विक्रियोग्य जनशक्ति उत्पादनमा अघि बढ्नै पर्छ ।
राजनीतिक दाउपेचबाट ग्रष्त विश्वविद्यालय शुरुदेखि आजसम्म मुक्त हुन सकेको छैन् । यसका लागि जिल्लामा क्रियाशिल राजनीतिक दल र यसको स्थापनामा महत्वपूर्ण भुमिका खेलेका व्यक्तिहरु आमसुर्खेती बुद्धिजीविहरुको बीचमा अन्तरक्रिया, समय–समयमा आयोजना गरिदाँ उनीहरुको अपनत्व बढ्ने र अवाधिक हस्तक्षेप स्वाट्टै घट्ने देखिन्छ । मप विश्वविद्यालय सेवा आयोग क्रियाशिल बनाई दक्ष जनशक्तिको व्यवस्था गर्ने कमजोर ‘एकेडेमी क्षमता भएका प्राध्यापकहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने र त्यति गर्दा पनि सम्भव नभएमा प्राध्यापकबाट प्रशासनिक कार्यका लागि सरुवा गर्ने जस्ता सुधारका कामहरु गर्नु जरुरी छ ।
विद्यार्थीका जायज मागहरु समयमा पुरा गर्न नसकिने मागहरुलाई प्रष्ट रुपमा नसकिने जानकारी दिने गर्नु राम्रो हुने देखिन्छ । विद्यार्थीहरुलाई सकारात्मक सोचको बारेमा हरेक सेसनमा कम्तीमा एक पटक तीन दिने बन्द प्रशिक्षण दिँदा आकष्मिक रुपमा घट्ने तोडफोडका घटनाहरु कमी आउन सक्छन् ।
जेहोस् सकारात्मक रुपमा अघि बढिरहेको मप विश्वविद्यालयले गर्न लागेको प्रथम इतिहासिक दीक्षान्त समाहरोहको पुर्ण सफलताको शुभकामना ।