☰ open Loading... 17 November 2024|  

यस्ता छन् भेरीगंगा नगरपालिकाका ‘रोडम्याप’
  | ३१ असार २०७४, शनिबार २३:३२

  • सडक–पर्यटनदेखि संस्कृतिसम्म

  • कृषिदेखि सहकारीसम्म

  • खेलकुददेखि क्षेत्र पूर्वाधार विकाससम्म

  • सुशासनदेखि परिचालनसम्म

  • बाढी पिडितदेखि युवा रोजगारसम्म

सुर्खेत : भेरीगंगा नगरपालिका सुर्खेतले आफ्नो दीर्घकालिन विकासका लागि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार नगरको आयोजनामा भएको प्रथम नगरसभामा नगरको विकासका लागि आर्र्थिक, सामाजिक, भौतिक पूर्वाधारलगायतलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको छ ।नगरपालिकाले ३९ करोड ४५ लाख ४४ हजार बराबरको आफ्नो योजना सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रम बमोेजिम नगरबासीको आर्थिक विकासमार्फत समृद्धिको कल्पना गरिएको छ । ‘विगतबाट रहेका बाढी पिडितहरुको राहतको लागि नगरपालिकाले चरणवद्ध रुपमा योजना बनाउँछ’ नगर प्रमुुख भुपेन्द्र बहादुर चन्दले भने , ‘समृद्ध, आत्मनिर्भर स्मार्ट सिटिको लागि हामी दिनरात नभनी लागि पर्छौ ।’ उनले समग्र नगरको गुरुयोजना निर्माणका साथै पर्यटकीय शहरको रुपमा विकास गर्ने बताए ।

‘हरित नगरी भेरीगंगा बनाउनका लागि पार्कहरुको निर्माण मात्र हैन, समग्र नगरलाई पर्यटकीय रुपमा पनि अवलोकन योग्य बनाउँदै छाँैँ ।’ नगरमा रहेका पर्यटकीय क्षेत्रहरुको विकासका लागि नगरपालिकाले १ करोड रकम विनियोजन गरेको छ । उपप्रमुख रेणु आचार्यले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वडामा सडक विस्तार, पर्यटकीय क्षेत्रहरुको विकास, कृषिको विकासलगायतका जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रस्तुत गरेकी थिइन् ।

उनले नगरपालिकाको समृद्धि जनताको विकास भएपछि मात्र हुनेभएकाले स्थानिय तहको योजना सोही अनुरुप नै निर्माण गरिएको बताइन् । ‘जनताको दैनिक जीवनसँग यसको सरोकारलाई हेरिएको छ’ उनले भनिन्, ‘कृषि, सडक,पर्यटन, आर्थिक सामाजिक विकास गर्दै अघि बढ्नुपर्छ ।’महिला स्वास्थ्य स्वयं सेविकाको प्रोत्साहन भत्तादेखि स्वरोजगारमुलक कार्यक्रम जस्ता कार्यक्रम नगरपालिकाले तय गरेको छ ।

महिला कृषि समूह, कृषिको आधुनिकीकरण, शिक्षाको विकास, व्यावसायिक कृषि, पशुपालन, लक्षित बर्गको विकास, सार्वजनिक नीजि साझेदारी कार्यक्रमलाई समेत प्राथमिकता दिईएको छ ।

नगरपालिकामा हुने जग्गा अतिक्रमणलाई न्यूनिकरण गर्दै अघि बढ्ने योजनामा समेटिएको छ । ‘सबै आधारभूत आवश्यकतालाई सम्बोधन गरिएको छ’ नगरपालिकाका कार्यकारी अधिकृत प्रेम प्रसाद देवकोटाले भने, ‘जनता केन्द्रीत कार्यक्रमले समग्र नगरलाई नै टेवा पु¥याउँछ ।’