☰ open Loading... 17 November 2024|  

सुर्खेतका नौं तहको बजेट तीन अर्ब, कार्यान्वयनमा जाेड दिन नागरिककाे सुझाव
  | २ श्रावण २०७४, सोमबार १०:०२

सुर्खेत । सुर्खेतको विकास लागि नौं स्थानीय तहको कुल बजेट झण्डै तीन अर्व खर्च हुने भएको छ । असार ३१ गते सम्पन्न भएको यहाँका नौं स्थानीय तहका नगरपालिका र गाउँ पालिकाको सभाहरु कुल बजेट २ अर्व ७२ करोड २९ लाख ११ हजार पारित गरेका हुन् । यो बजेट सुर्खेतका ५ नगरपालिका र ४ गाउँपालिकाले विनियोजन गरेको कुल बजेट हो ।

 

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरलाई प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारदेखि कार्यालय सुशासनसम्मका योजनाहरु सार्वजनिक गरेका छन् । सुर्खेतका नौं स्थानीय तहमध्य सवैभन्दा बढी बजेट वीरेन्द्रनगर नगरपालिकाको छ भने कम सिम्ता गाउँपालिकाको छ । वीरेन्द्रनगरको ६५ करोड ५४ लाख तीन हजार र सिम्ता गाउँपालिकाको १४ करोड ८८ लाख ३८ हजार बजेट छ ।

विगतका वर्षमा नगरपालिका तथा गाउँ परिषद्ले पारित गर्ने बजेटको तुलनामा जनप्रतिनीधीद्वारा पारित भएको बजेट धेरै हो । यता, भेरीगंगा नगरपालिकाले ४९ करोड ५८ लाख ४४ हजार, गुर्भाकोट नगरपालिकाको ४३ करोड ५४ लाख ७३ हजार, पञ्चपुरी नगरपालिकाको ३८ करोड ९४ लाख ४४ हजार र लेकवेशी नगरपालिकाले ३० करोड ९७ लाख ७६ हजार बजेट पारित गरेका छन् ।

चार गाउँपालिका मध्य बराहतालको ३३ करोड, ६२ लाख तीनहजार, चौकुने गाउँपालिकाको ३१ करोड ९५ लाख र चिंगाडको २२ करोड २२ लाख ९० हजार बजेट पारित भएको छ । नौ वटै स्थानीय तहले पहिलो प्राथमिकता सडकलाई दिएका छन् । वीरेन्द्रनगर जोड्ने राजमार्गका सडक बाहेक अन्य सडक हालसम्म कालोपत्रे नभएपछि स्थानीय तहले ग्रामिण सडक सञ्जाललाई दिर्घकालिन विकास गर्ने हेतुले पूर्वाधारमा बजेट बढी विनियोजन गरेका छन् ।

सुर्खेतका ग्रामिण क्षेत्रका अधिकाँश सडक मौसमी रुपमा सञ्चालनरत छन् । चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले ग्रामिण क्षेत्रको विकासको मुख्य मेरुदण्ड सडक भएकाले सडक निर्माणमा बजेट बढी छुट्टिएको बताउँछन् । यहाँका स्थानीय तहले पूर्वाधारपछि कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, प्रकोप व्यवस्थापन, खानेपानी व्यवस्थापन, युवा स्वरोजगार, ग्रामिण उर्जा जस्ता योजनालाई प्राथमिकता दिएका छन् । स्थानीय नागरिकहरुले विगतका वर्षभन्दा यो वर्ष विकासले गति लिने अपेक्षा राखेका छन् । विकासमा राजनीतिक लडाई पारित भएका याेजनाहरू कार्यान्वयन गर्न सवै एकभएर अघि बढ्न सुझाव दिएका छन् ।