सल्यान । यस बर्ष सल्यानमा अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको छ । बर्षेयाममा खेती गरिने धान खेती अहिले सम्म जिल्लाभरी ९५ प्रतिशत रोपाई भएको हो । धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब ५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।
सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिए पनि बाँकीमा भने पानी ढिलो परेका कारण अहिले सम्म ९५ प्रतिशत धान रोपेर सकिएको जिल्ला कृषि बिकास कार्यालयका योजना शाखाका पृथ्वीराज लामिछानेले जानकारी दिए । उनले भने– “सिंचाई सुबिधा भएको ठाउँमा समयमा नै धान रोपाई भए पनि बाँकीमा बर्षा ढिलो गरी भएका कारण अहिले सम्म ९५ प्रतिशत धान रोपाई भएको छ ।”
उनले अबको केही दिनमा नै जिल्लाभर धान रोपेर सकिने बताए । जिल्लाको कालीमाटी रामपुर, काप्रेचौर, छायाक्षेत्र, झिम्पे, त्रिबेणी, स्यानीखाल, डाँडागाउ लगाएतका बिभिन्न ठाउँमा धान खेती हुने गरेको छ । यस बर्षमा मात्रै करिब ७ हजार ५८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
जिल्लामा यस बर्ष किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान रोपेका छन् । कार्यालयले धान रोपि सके पछि धानको हेरचाहमा बिशेष ध्यान दिन आग्रह गरेको छ । धानको गोडमेल गर्न, पानीको आबश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले किटनाषक बिषादीको प्रयोग गर्न सुझाब दिएको छ ।