☰ open Loading... 17 May 2024|  

विल मिलाएरै २२ लाख झ्वाम
  | ६ श्रावण २०७४, शुक्रबार १७:४७

दैलेख । मध्यअसारमा डिजाईन परिवर्तन गरेर जिल्ला समन्वय समिति दैलेखले सुरु गरेको एक योजनामा विल मिलाएरै २२ लाख रकम भुक्तानी लिएको खुलासा भएको छ । सान्तडा, घुम्ने, तुर्सु सडक निर्माणमा उपभोक्ता समितिविचको विवाद भएपनि समन्वय समितिले नयाँ डिजाईन गरेर मेहेलतोली जाने सडकमा ३० लाख रकम सम्झौता गरिएको थियो । बढीमा ७ लाखको मात्रै काम भएपनि २२ लाख रकम भुक्तानी भएको गुनासो स्थानीय उपभोक्ताहरुले गरेका हुन् ।

उक्त सडकमा श्रोत सुनुश्चितता (थप बजेट) मार्फत २० लाख र निर्वाचन क्षेत्र विकास पुर्वाधार विशेष कार्यक्रमबाट १० लाख विनियोजन गरिएको थियो । थप बजेटबाट ७ लाख र क्षेत्र विकासबाट १ लाख रकम फ्रिज भएको जिल्ला समन्वय समितिका योजना अधिकृत पदम सापकोटाले बताए ।

‘डोजरबाट ७ दिनमा कति काम भयो ?’ एक स्थानीयले भने, विग्रीएको डोजर भएकाले पुरै दिन कामै हुन पाएन तर, भुक्तानी पुरा भएछ ।’ उनले ८ घण्टाको दरले पनि ७ लाख नपुग्ने तर, प्राविधिकले २२ लाखको विल उठाएर भुक्तानी गराएको गुनासो गरे । काम गरेझै गरेर नेताहरुको दववामा पैसा भुक्तानी भएको श्रोतले जानकारी दिएको छ ।

सार्वजनिक परिक्षण, सामाजिक परिक्षण गाँउमा नगरि काजगमा मात्रै काम गरेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए । उनले भने, यहाँ सार्वजनिक, सामाजिक केही परिक्षण भएन् । ७ दिन डोजर घुमाएरै २२ लाख विल उठाएर हिनामिना गरियो । ७७ प्रतिशत काम भएर प्राविधिकले विल उठाएको हो ।

उपभोक्ता समितिका अध्यक्ष प्रेम विसीले भने, अलिकति काम गर्न बाँकी छ । मेशिन यहाँ रोकेको छौ । खोला घट्यो भने काम ३ किलोमिटर नयाँ बाटो काट्छौं । यसका लागि भद्रौको पहिलो हप्तामा काम हुन्छ ।

यसरी भयो अनियमितता

असार १५ गते नाघिसकेको थियो । अव काम गर्न नसकिने निश्कर्षमा जिल्ला समन्वय समिति थियो । तर, राजनिति दलका नेताको दवावमा डिजाईन परिवर्तन गरेर काम गरियो । राजनिति दलका नेता, जनप्रतिनिधिहरुले विवाद भएको भन्दै तोकिएको सडकमा काम गर्न नसकेपछि पुरानो सडक फराकिलो गर्न योजना परिवर्तन गरिएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

मेहेलतोली जोड्ने सडकबाट तुर्सु जाने निकै लामो पर्ने भएकाले सान्तडाबाट घुम्ने हुँदै तुुर्सु लगे आधा बढी छोटो पर्छ । जिल्ला समन्वय समितिले त्यही छोटो सडक निर्माणका लागि ३० लाख विनियोजन गरेको थियो । असार १५ लाग्दा समेत काम हुन नसकेपछि योजना नै सारेर काम गरिएको थियो ।

अन्तिममा योजना नै सारेर काम थाल्नु गलत भएको स्थानीयहरुले बताउँछन् । ‘मेहेलतोली जोड्ने सडकमा डोजर गुडाएरै पैसा सक्ने योजना बन्यो ।’ एक स्थानीयले भने, पैसा खानका लागि नेताको डिजाईनमा जिविसका कर्मचारी मिलेका छन् ।’

‘पुरानो र नयाँ सडकमा तिव्र रुपमा काम भएको आधारमा प्राविधिकहरुले विल उठाएर भुक्तानी दिएको हो ।’ योजना अधिकृत सापकोटाले भने, जिल्ला सडक गुरु योजनाकै सडकमा काम गरेका छौं ।’