☰ open Loading... 1 May 2024|  

सवारी दुर्घटनामा ५२ जनाकाे मृत्यु
  | ९ श्रावण २०७४, सोमबार ११:३४

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा चलिरहेको छ । प्रत्येक दिन वीरेन्द्रनगरमा सवारीको चाप पनि बढ्दो छ । अव्यवस्थित सडकका कारण सवारी दुर्घटना परि ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७२/०७३ को तुलना गत आव २०७३/०७४ मा सवारी दुर्घटनाको संख्या बृद्धि भएको छ । गएका दुई आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५२ जनाको मृत्यु भएको ट्राफिक कार्यालयको तथ्यांकमा छ ।

आर्थिक वर्ष २०७२÷०७३ मा ५१ ओटा सवारी दुर्घटना परेका थिए भने गए आर्थिक वर्ष २०७७/०७४ मा ७७ सवारी दुर्घटनामा परी ३५ जनाको अकालमा ज्यान गुमाएका छन् । कार्यालयको तंथ्याक अनुसार ७० जना गम्भिर घाईते र १६० जना सामान्य घाईते भएका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा ५१ सवारी दुर्घटना परि १७ जनाको मृत्यु भएको थियो भने, ४३ जना गम्भीर घाईते र ९३ जना सामान्य घाईते भएका थिए । आव २०७२/०७३ को तुलनामा गए आर्थिक वर्षमा १८ जना बढीले सवारी दुर्घटनाबाट मृत्यु भएको हो ।

धुलियाविटदेखी मुलपानीसम्म निर्माधिन फोर लेन सडक र भित्री शहरका साँघुरा सडकमा तिव्र गतिमा ह्वीकाउने सवारी साधनले आवतजावतमा सास्ती हुने गरेको छ । मुख्यगरी बुद्धपथ लाईन, गणेशचोकदेखी बुलबुले गेट, मंगलगढीदेखी यरीचोक र यरीचौकदेखी वीरेन्द्रचोकसम्म सडक अति व्यस्त सडक छन । यही आवश्यक पर्ने स्थानहरुमा ट्राफिकहरुको न्युन उपस्थिती हुने गरेकोले दुर्घटना बढ्दै गएको स्रोतले जनाएको छ ।

सम्भावित राजधानीको चर्चा गरिरहने यहाँका राजनीतिक दल र सारोकारवाला निकायले भरपर्दो बसपार्क निर्माणमा चासो नदेखाउँदा पनि ट्राफिक व्यवस्थापनमा चुनौती र दुर्घटनाको त्रास उत्तिकै छ ।

सुर्खेतमा हाल १७ हजार ३ सय ५८ मोटरसाइकल, ५ सय २८ बस, ४ सय ७४ ट्याक्टर, ३ सय ३२ ट्रक, १ सय ९४ जीप, १ सय ६५ पावर टेलर, २ सय अटो रिक्शा र २३ ओटा जेसीभी दैनिक सञ्चालनमा छन् ।

ट्राफिक कार्यालय ६ महिनादेखि प्रमुखविहिन

झण्डै ६ महिनादेखि जिल्ला ट्राफिक कार्यालय प्रमुखविहीन छ । कार्यालय नै प्रमुखविहीन हुँदा ट्राफिक सक्रियता नै कम हुने गरेको स्थानीयको तर्क छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेत झण्डै ६ महिनादेखी प्रमुखविहीन छ । प्रहरी नायव निरीक्षक हर्क रावलको सरुवा भएपछि कार्यालय प्रमुखविहीन भएको हो । रावलको सरुवा भएपछि निमित्तको जिम्मा प्रहरी सहायक निरिक्षक ओमप्रसाद खत्रीले पाएका छन् ।