☰ open Loading... 17 November 2024|  

वीरेन्द्रनगरकाे उत्तरी जलाधार कमजाेर
  | ९ श्रावण २०७४, सोमबार १२:०७

सुर्खेत । वीरेन्द्रनगर उपत्यकामा बाढीपहिरोको उच्च जोखिम बढदै गएको छ । उत्तरी जलाधार क्षेत्रको भूगोल कमजोर अवस्थामा रहेको र उपत्यकाको पानी निकास द्वार निकै साँघुरो भएकाले वर्षातमा बाढीपहिरोको खतरा रहेको एक अध्ययनले औंल्याएको हो।

नगरपालिकासँगको समन्वयमा वातावरण सुधार समाजले गरेको सर्भेक्षणमा उत्तरी जलाधार क्षेत्रको संरक्षण नगर्ने हो भने सामान्य वर्षात्समेत थेग्न मुस्किल हुने उल्लेख छ। सहरी केन्द्रका उत्थानशीलता अभिवृद्धि र जलवायु परिवर्तन अनुकूलन कार्यक्रमले उत्तरी जलाधार क्षेत्रका जंगलमा सल्लाका रूख एकै प्रकारका भएकाले भविष्यमा ती एकैपटक नष्ट हुँदा भूक्षय, पहिरो खस्ने खतरा औंल्याएको छ ।

फायल तस्वीर ।

‘सल्लाका रूख समान प्रकृतिका छन्। सल्लाघारीमा अरू बोटबिरुवा हुँदैनन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘एकपटक ती रूख नष्ट भए जंगल क्षेत्र खाली बन्न सक्छ। जुन सबभन्दा भयानक अवस्था हुनेछ।’ क्रमश: सल्ला नष्ट गर्दै वृक्षरोपण गर्न सुझाव अध्ययनमा दिइएको छ। आयआर्जन पनि हुने र माटोलाई संरक्षण गर्न सक्ने बोटबिरुवा रोप्न सुरु नगरे २०–२५ वर्षभित्र जंगल नांगो डाँडा हुने जिल्ला भू–संरक्षण अधिकृत शिवराम अधिकारीले बताए।

०७१ साउन अन्तिम साता उत्तरी जलाधार क्षेत्रमा पहिरो गएर सुर्खेत उपत्यकामा बाढी आएको थियो। बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएको थियो। एक सय १५ जनाको मृत्यु भएको थियो। निकासद्वारमा कुनै अवरोध आए वीरेन्द्रनगर डुबान पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

०७१ मा विज्ञहरूले वीरेन्द्रनगरका जनप्रतिनिधिमाझ सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै न्यूनीकरणका ठोस योजना लागू गर्न सुझाव दिए। वडा नम्बर ३ र ११ बढी जोखिममा रहेको पाइएको छ। उपत्यकाभित्रबाट बग्ने इत्राम र खोर्केखोला आसपासका बासिन्दा कटानको उच्च जोखिममा छन्। भीषण वर्षा आए यी दुई खोलाले कटान क्षेत्र बढाउने गरेको छ।

वीरेन्द्रनगरमा हिउँदमा निकै सुक्खा र बर्खामा निकै भारी परिमाणमा वर्षात् हुने गरेकाले जलवायुलाई सन्तुलन राख्न जरुरी देखिएको कार्यक्रमका सहजकर्ता दामोदर धितालले बताए। कार्यक्रममा नगर प्रमुखसहित नगर कार्यपालिका पदाधिकारीहरू सहभागी थिए। उनीहरूले आ–आफ्नो वडाको सम्भावित खतरा र रोकथामका लागि अपनाइने विधिबारे छलफल गरे।

नगरप्रमुख देवकुमार सुवेदीले ग्रिनसिटीको अवधारणा यसै वर्षबाट लागू हुने बताए। ‘हामी वीरेन्द्रनगरलाई कुनै स्मार्ट सिटी बनाउँदैनौं। ग्रिनसिटी बनाउँछौं,’ उनले भने, ‘सरोकारवालाको सहयोग लिई जोखिम न्यूनीकरणका सबै उपाय अपनाउन प्रतिबद्ध छौं।’ त्यस्तै, वीरेन्द्रनगर ८ वडा बाढीको उच्च जोखिम र १४ खडेरीको जोखिममा रहेको बताइएको खवर कान्तिपुर दैनिकमा छ।