☰ open Loading... 2 May 2024|  

आफूखुसी तलब–सुविधा तोके बराहतालका जनप्रतिनिधिले
  | १० श्रावण २०७४, मंगलवार ०८:३१

सुर्खेत ः यहाँका केही निर्वाचित जनप्रतिनिधिले आफूखुसी तलव–सुविधा तोकेका छन् । पश्चिम सुर्खेतमा पर्ने बराहताल गाउँपालिकाका निर्वाचितहरुले आफूखुसी आफ्नो तलव तोक्ने निर्णय गरेपछि चौतर्फी रुपमा विरोध शुरु भएको छ ।

 

जिल्लाका अन्य ८ वटा स्थानीय तहहरुले तलव सेवा सुविधाबारे केही नबोलिरहेको बेला बराहताल गाउँपालिकाका पदाधिकारीहरुले तोकेरै तलव लिने निर्णय गरेका छन् । गाउ“पालिकाको नेतृत्वले स्रोत साधनको सुनिश्चितता नगरी आफूखुसी तलबभत्ता तोकेपछि स्थानीयस्तरमा विरोध भइरहेको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आफ्नोसहित उपाध्यक्ष र १० वटा वडा अध्यक्षहरुको समेत तलब तोकेका छन् ।

केही दिन अघि सम्पन्न बराहताल गाउ“सभाले अध्यक्षलाई मासिक २५, उपाध्यक्षलाई २० र वडाध्यक्षलाई १५ हजार तलब खाने आफूखुसी विवादस्पद निर्णय गरेका थिए । सरकारले स्थानीय शासन ऐन जारी नगर्दै बस्नेत नेतृत्वको बराहताल गाउँपालिकाले ठाडो आदेशमा आफ्नो तलव आफै तोकेको स्थानीयहरुको आरोप छ । गाउ“पालिकाको कूल बजेट ३३ करोड ६२ लाख ३ हजार हो । यो मध्ये प्रशासनिक खर्चमा ७ करोड विनियोजन गरिएको छ ।

प्रशासनिक खर्चबाट तलव खुवाउने निर्णय भएपनि प्रशासनिक खर्च कसरी जुटाउने भन्ने केही खुलाइएको छैन् । जबकी यो गाउँपालिका विकासका दृष्टिले पछाडि पारिएका, आन्तरिक स्रोत निकै न्यून भएको स्थानीय तहमा पर्दछ । जनप्रतिनिधि मनलाग्दी कर वृद्धि गर्ने र आफ्नो पकेट भर्ने दाउमा लागेको आरोप स्थानीय बताउँछन् ।

बराहताल गाउँपालिकाका अधिकाँश वडाहरुमा सहज रुपमा सडक बाटो, विद्युतीकरण, दैवी–प्रकोप जस्ता समस्या यथावत रहेका बेला विकास निर्माणलाई कसरी शसक्त अगाडी बढाउने भन्ने निर्णय गर्नुपर्नेमा मनोमानी गर्नु लज्जाको विषयको भएको एमाले नेता ताराकेश गौतमको टिप्पणी छ । गाउँपालिकाको विकासभन्दा मनोमानी रुपमा बजेट पास गरेकोमा उनले आपत्ति जनाए । ‘हाम्रा जनप्रतिनिधिलाई पहिलो सभाबाटै तलब खान हतार भयो’ गौतमले भने, ‘पूर्वाग्रही भएर एमालेले जितेका क्षेत्रमा कम योजना स्विकृत गर्ने काम समेत भएछ । हामीले आपत्ति जनाएका छौं ।’

तर बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले साधारण खर्चबाट तलब खाने निर्णय भएको स्वीकार गरेका छन् । गाउँको विकासमा कुनै अवरोध नपुग्ने हेतुले तलव खाने निर्णय पास भएको दावी गरे ।

यता, चिंगाड गाउ“पालिकाले छात्राको निःशुल्क बैंक खाता खोल्ने ‘लोकप्रिय’ गरेको छ । जबकी, चिंगाडका लागि यो अत्यावश्यक देखिन्न् । सुर्खेतको उत्तरपूर्वमा अवस्थित विकट गाउ“पालिकामा जो अझैं विद्युत पुगेको छैन् । बाह्रै महिना चल्ने मोटरबाटो छैन् । तर, गाउ“पालिकाले छात्राका लागि बैंक खाता र छात्रालाई खुत्रुके वितरण गर्न लागेको छ । वीरेन्द्रनगर नगरपालिकाले छोरी जन्मिने वित्तिकै बैंक खाता खोल्ने निर्णय ग¥यो । चिंगाड–२ का स्थानीयबासीसमेत रहेका वाइसिएल जिल्ला इञ्चार्ज अमर चन्दले भने आर्थिक अनियमितता गर्ने, सस्तो लोकप्रियता कमाउने उद्देश्यले यस्तो निर्णय गरेको आरोप लगाए ।

‘राज्यले छात्रा शिक्षाका लागि विभिन्न सहुलियत दिइरहेका बेला स्थानीय तहका प्रमुखहरुले आफू व्यक्तिगत रुपमा ‘लोकप्रिय’ हुन यस्ता निर्णय गरिरहेका छन्’ उनले भने, ‘वीरेन्द्रनगरजस्तो सहरका छोरीलाई जन्मिन वित्तिकै बैंक खाता खोल्ने निर्णय झनै हास्यास्पद छ ।’ जनप्रतिनिधिहरुले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं अनुत्पादक निर्णय गरिरहेको चन्दको भनाई छ ।