☰ open Loading... 2 May 2024|  

राउटे बस्तीमा मदिरा प्रयोग बढ्दो
  | १० श्रावण २०७४, मंगलवार ०९:३९

दैलेख । जाँड खानु राउटेको मौलिक विशेषता बनेको छ। फिरन्ते जीवन बिताउने राउटेहरू परापूर्वकालदेखि छाप्रामै बचेको खानबाट जाँड बनाउने र सेवन गर्दै आएका छन्। पछिल्ला वर्षमा भने आफूले बनाएको होइन, डिस्टेलरीमा उत्पादित मदिराका पारखी बनेका छन्। बस्ती नजिकै होटल र पसल भएकाले बालबालिकादेखि बूढापाकामा मदिरा सेवनको लत बढदै गएको छ।

राउटेहरू भैरवी गाउँपालिकाअन्तर्गत कुसापानीको गौचवरमा बस्दै आएका छन्। उनीहरू गौचवरमा करिब २ महिनासम्म बस्न गाउँपालिकासँग सम्झौता भइसकेको छ। सरकारले लोपोन्मुख जातिको सुरक्षाका लागि मासिक प्रतिव्यक्ति एक हजार रुपैयाँ दिँदै आएको छ। भत्ता बुझेको केही दिन उनीहरू मदिरा सेवनमा लठ्ठ हुन्छन् र सबै रकम सकाउने गरेको राउटेका अभियन्ताले बताए।

‘भत्ता बुझ्नेबित्तिकै होटलतिर लर्को लाग्छ,’ कुसापानीका यज्ञ पौडेलले भने, ‘बालबालिकादेखि बूढापाका सबै मदिरा पिउँछन्। भत्ताको रकम सबै सुर्ती, चुरोट र रक्सीमा खर्च हुँदोरहेछ।’ एकै घरमा १५ हजारसम्म भत्ता आउने गरेको उनको भनाइ छ।

पछिल्लो समय अत्यधिक मदिरा सेवनका कारण भीरबाट लडेर मृत्यु हुने क्रम बढेको छ। बालबालिकामा कुपोषणको समस्या देखा परेको छ। ‘समुदाय नै जोखिमा पर्ने अवस्था नआउला भन्न सकिँदैन।

खाजाको विकल्प रक्सीलाई लिन्छन्,’ पौडेलले भने। राउटे महामुखिया महिनबहादुर शाही पनि पछिल्लो समय आफ्नो समुदाय रक्सीले बिग्रेको गुनासो गर्छन्। महिला र पुरुष दुवैले अत्यधिक मदिरा सेवन गर्ने समस्या रहेको उनले बताए। उनले भने, ‘भत्ताको पैसाले केही गरौं भन्दा कसैले मेरो कुरा सुन्दैन,’ शाहीले भने, ‘जथाभावी खानपिनमा रकम खर्च गर्न थालेका छन्।’

पछिल्लो पुस्तामा मुखिया बनेका र मुखियाका आकांक्षा बोकेका सबै युवाले अत्यधिक मदिरा सेवन गर्छन्। उनीहरूले बाख्रा र कुखुरा पालेर रक्सीसँग साट्ने गरेको अभियान्ताले बताए। उनीहरूले बाख्रा र कुखुरा किनेर अन्य समुदायका व्यक्तिलाई दिने र साट्टामा रक्सी माग्ने गरेको कुशापानीका एक व्यापारीले बताए।