☰ open Loading... 18 November 2024|  

प्रलोभनमा बेचिन्छन् ‘चेलीबेटी’
  | १२ श्रावण २०७४, बिहीबार ११:४५

सुर्खेत । मानव जीवनकै कलंकका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट सुरू भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीवेटी बेचविखनका घटनाहरु रोकिएका छैनन् ।

सुर्खेतको हकमा चेलिबेटी बेचविखन समस्याको रुपमा देखा परेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैर–सरकारी संस्थाहरुले चेलिबेटी बेचविखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्युनिकरण भएका छैनन् ।

सुर्खेतमा चेलिबेटी बेचविखिन बाहिर नदिएको पनि आन्तरिक रुपमा यसको जालो (सञ्जाल) ठुलो रहेको महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख जमुना पौडेल बताउँछिन् । अदालत र कानूनी सहायता केन्द्रका रिर्पोट अनुसार सुर्खेतमा चेलीवेटी बेचविखन अत्यधिक मात्र हुने गरेको उनको भनाई छ ।

जनचेतनाका अभाव र गरिबीका कारण महिलाहरु प्रलोभनमा परेर वेचिने गरेको उनले उल्लेख गरिन् । साविक मैनतडा, छिन्चु, राकम, पश्चिम क्षेत्रका बाबियाचौर, तातापानी, घाटगाउँ लगायतका महिलाहरु वेखविखनमा पर्ने गरेको प्रमुख पौडेलले जानकारी दिईन । यी स्थानहरु मध्य मैनतडाबाट बढी महिलाहरु भारत लगायतका मुलुकमा वेचविखन हुने गरेको उनले पुष्टी गरिन् ।

कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिलाहरु जीवनका सबै रहरहरु खोसिएको पत्तो नपाउदा बेचविखनमा पर्ने गरेको प्रमुख पौडेल भनाई छ ।

‘यहाँबाट बाहिरिदा वैदेशिक रोजगारी भनेर बाहिरिन्छन्’ पौडेलले भनिन्,–‘सवैथोक वैदेशीक रोजगारी होइन भन्ने चेतनाको कमीहुँदा यहाँका अधिकाँश महिलाहरु बेचबिखनको उच्च जोखिममा परेका छन् ।’

यौन शोषण, दासता, मानव अंग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलु लगायत विभिन्न शोषणजन्य कार्यहरुका लागि सुर्खेतका महिला तथा बालबालिकाहरुको बेचबिखन हुने गरेका छन । विधिको दुरुपयोगले कारण पनि महिलाहरु बेचविखनमा पर्ने गरेको उनको तर्क छ ।

बाहिरी जिल्लाबाट वीरेन्द्रनगरमा आउने अधिकाँस युवतिहरु होटेल तथा रेष्टुरेण्टहरुमा बेचिने गरेका महिला तथा बालबालिका कार्यालयको अध्ययनले देखाएको छ । अध्ययन अनुसार पकेट खर्चको जोहो गर्न धेरैजसो युवतीहरु होटेल तथा रेष्टुरेण्टमा बेचेनी गर्दछन् । मानव ओसार–पोसर रोक्नका लागि कार्यालयले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको पौडेलले बताईन् ।

बेचविखन रोक्नका लागि साविकका १० गाविस र पुर्वको भेरीगंगा नगरपालिका र पश्चिमको पञ्चपुरी नगरपालिकामा समिति गठन गरिएको छ ।

यता, बुधबार वीरेन्द्रनगरमा मानव बेचविखन विरुद्ध पौरखी समूहले चेलिवेटी बेचविखन विरुद्धमा हाम्रो अभियान सम्बन्धी एक दिने अन्तरक्रिया गरेको छ । बेचविखनलाई रोक्न शिक्षा र जनचेतानको आवश्यकता पर्ने बताएपनि सुर्खेतमा कुन उमेरका महिलाहरु उच्च जोखिममा छन् भन्ने तथ्याङ्क सार्वजनिक गरेन् ।