☰ open Loading... 3 May 2024|  

गोदाममा सड्याे अनुदानको चामल
  | १३ श्रावण २०७४, शुक्रबार ०९:३८

मुगु । पिना मुन्दु गाउँकी धनदेवी बोहराले खाद्य संस्थानको गोदामबाट ३० किलो चामल ल्याइन्। कार्कीबाडा ढुम गाउँकी हरिनी विकले पनि ३० किलो चामल बोकिन्, त्यो पनि रोजीछाडी। विगत वर्षमा जस्तो घण्टौं लाइन बस्दा पनि चामल नपाइने अवस्था अहिले छैन। स्थानीयले चाहेकै बेलामा पर्याप्त चामल पाउँछन्। संस्थानको गोदाम भरिभराउ छ ।

‘पहिले ५ किलो चामल लिन दिनभर लाइनमा बस्नुपथ्र्यो,’ बोहराले भनिन्, ‘अहिले रोजीछानी पाउने गरेका छौं।’ कुनै बेला एकै दिन ५ सय जनासम्मको भीड थेगेका कर्मचारी हिजोआज मुस्किलले १० जनासम्म आउने गरेको बताउँछन्। कर्मचारीका अनुसार स्थानीयको भीडका कारण संस्थानमा सुरक्षाकर्मी नै परिचालन गर्नुपथ्र्यो। राति अबेसम्म डिपो खुला राख्नुपथ्र्यो ।

जिल्लामा सडक पहुँच फैलिएपछि भने अनुदानको चामल गोदाममै सड्न थालेको छ। संस्थानको शाखा कार्यालयमा अघिल्लो आर्थिक वर्षकै करिब ५ हजार क्विन्टल चामल जगेडा छ। गत आवको ५ हजार २ सय क्विन्टल मौज्दात छ ।

‘व्यापारीको चामलले गर्दा खाद्यको चामल बिक्री हुन छाडिसक्यो,’ संस्थानका कर्मचारी रणबहादुर रावलले भने, ‘हिजोआज गोदाम भरिभराउ छ। बिक्री हुनै छाडयो।’ सरकारी अनुदानको चामल ३२ देखि ४९ रुपैयाँमा बिक्री भइरहेको छ । गमगढी बजारमा प्रतिकिलो ५० देखि ५५ रुपैयाँमा मसिना चामल पाइने भएकाले स्थानीयले त्यही रोज्ने गरेका छन् ।

संस्थानले तीनपटक चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन। सस्तो र गुणस्तरीय भन्दै स्थानीयले बजारकै चामल किन्ने गरेका छन्। बजारमा चामल नपाउनेहरू मात्र खाद्यमा जाने गरेका छन् ।

पुरानो गोदाममा मौज्दात अरुवा, सोना मन्सुली र मकवानपुर चामल सडेर उपभोग गर्न नमिल्ने भइसकेको छ। चामल बिक्री नहुँदा खरिद तथा ढुवानी मूल्य असुल गर्नै कठिनाइ छ । मुगुमा ५ वर्षअघि खाद्यान्न कोटा २२ हजार क्विन्टल थियो भने अहिले घटेर १२ हजार पुगेको छ। उक्त चामल तराईबाट जिल्ला पुर्‍याउन ढुवानी खर्च मात्रै डेढ करोड नाघ्ने गरेको खाद्य संस्थानका प्रमुख भरतराज खनियाँले बताए।
उनका अनुसार अहिले छिमेकी जिल्ला हुम्लाका बासिन्दाले मात्र खाद्यको चामल उपभोग गर्छन् ।

जिल्लामा श्रीकोट, सोरू र पुल गरी तीन डिपो छन् । छिमेकी जिल्ला हुम्लाको सर्केगार्ड डिपोमा पनि गमगढीबाट चामल ढुवानी हुने गरेको छ। उक्त डिपोमा अघिल्लो वर्ष मुगुबाट करिब १३ सय ३७ क्विन्टल चामल पठाइएको संस्थानले जनाएको छ । संस्थानका अनुसार गत आवमा सोरू डिपोमा ७ सय ५० क्विन्टल र पुलु डिपोमा २ हजार ८० क्विन्टल चामल ढुवानी भई बिक्री भएको छ ।