सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न प्रेस चौतारी नेपाल प्रदेश नम्बर ६ संगठन कमिटिको बिस्तारित बैठकले पाँच बुँदे सुर्खेत घोषणा पत्र जारी गरेको छ । प्रदेश संगठन कमिटिको आयोजनामा आयोजित बैठकले जारी गरेको घोषणा पत्रमा आसन्न नेपाल पत्रकार महासंघको २५ औँ केन्द्रीय महाधिवेशनमासाझा नेतृत्व चयन गर्नका लागि अन्य सबै संगठनहरुलाई आग्रह गरिएको छ ।
विस्तारित बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले प्रचार बिभागका सदस्य डिल्ली बिसी, प्रेस चौतारीका पूर्व अध्यक्ष गगन बिष्ट, महासचिव राजेश राई, उपाध्यक्ष टिका बिष्ट लगायतको सहभागिता रहेको थियो । बैठक प्रेस चौतारी नेपाल प्रदेश नम्बर ६ का इन्चार्ज बिरबहादुर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
घोषणा पत्र
१. नेपाली जनताहरुको लामो संघर्ष र बलिदानबाट निर्माण भएको संबिधान सभाबाट जारी संबिधानले परिकल्पना गरे अनुसारको तीन निकाय मध्ये सबैभन्दा तल्लो स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा बैठक खुसी व्यक्त गर्दछ । अब नेपाल समृद्धिको दिशामा अघि बढेको छ । तर, अहिले पनि नेपाली श्रमजीवी पत्रकारहरु आर्थिक र भौतिक असुरक्षामा भोगीरहेका छन् । अझै पनि पत्रकारहरुले न्युनतम पारिश्रमिक समेत नपाएको बिडम्बना छ । यो बैठकले श्रमजीवी पत्रकार ऐन कडाईका साथ लागु गराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।
२. विगतमा मूलुकको शासनसत्ता काठमाण्डौँमा केन्द्रीकृत भएझै राज्यबाट सञ्चारमाध्यमहरुलाई प्रदान गरिने लोककल्याणकारी विज्ञापन वितरण प्रणाली पनि केन्द्रीकृत नै छ । राज्य पुर्नसंरचना संगै अब सञ्चार माध्यमहरुलाई केन्द्र र मोफसलको रुपमा ब्याख्या नगरी सबै सञ्चार माध्यमहरुलाई समानुपातिक रुपमा विज्ञापन वितरण गरी समानुपातिक विज्ञापन वितरण प्रणाली अबिलम्ब कार्यन्वयनमा ल्याउन नेपाल सरकारसंग जोडदार माग गर्दछौँ । साथै साना लागानीमा श्रमजीविहरुबाट नै सञ्चालन गरिएका सञ्चारमाध्यमहरु लाई संरक्षण,संवद्धन र प्रवद्र्धन गर्नका लागि विज्ञापन परिषद गठन गरि विशेष योजना ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदछौं ।
३. यही मिति २०७४ भाद्र ४ र ५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको २५ औँ केन्द्रीय महाधिवेशनमा देशभर क्रियाशिल सबै संगठनहरुको साझा प्रतिनिधित्व हुनेगरी साझा नेतृत्व चयन गर्नका लागि अन्य सबै समकक्षी संगठनहरुलाई हार्दिक आग्रह गर्दछौं ।
४. नेपाल सरकारले निर्माण गरेको राष्ट्रिय सञ्चार नीति २०७३ अविलम्ब कार्यान्वयनमा ल्याउन सरकारसँग हार्दिक अपिल गर्दछौं ।
५. देशका सात वटा प्रदेशहरु मध्य मानव सूचकांकका हिसाबले न्युन अंकमा रहेको ६.नं. प्रदेशको समग्र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र र भौतिक पूर्वाधार विकासका लागि विशेष कार्ययोजना ल्याउन सम्बन्धित सबै सरोकारवालाहरुलार्ई हार्दिक अनुरोध गर्दछौँ ।