☰ open Loading... 19 May 2024|  

सुर्खेत उपत्यकामा बाढी, वीरेन्द्रनगरकाे तल्लाे क्षेत्र जलमग्न (फाेटाे फिचर)
  | २० श्रावण २०७४, शुक्रबार ०७:१८

सुशील खड्का
सुर्खेत । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा मध्य रातीबाट परेको वर्षाले बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । गएराती ११ बजेबाट निरन्तर वर्षात भइरहेकाले चार स्थानका नागरिकलाई बाढी आउने उच्च खतरा रहेकाले सतर्कता अपनाउन मध्य–सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले आग्रह गरेको हो ।

तस्वीर चिन्तामणि शर्मा

वीरेन्द्रनगरको तल्लो क्षेत्रमा बाढीले पूरै भूभाग जलमग्न भएको छ । वीरेन्द्रनगरको पर्सेनी, लाटीकोइली क्षेत्रमा बाढीले पूरै क्षेत्र जलमग्न भएको छ । यता, बर्दिया भएर बग्ने बबई नदीमा बाढीको बहाव बढ्दो क्रममा छ । हावापानी कार्यालयका अनुसार अहिले नदीमा ५.७१ मिटिर बाढी आए खतराको संकेत हो ।

चेपाङ्ग आसपासमा मात्रै २३३ मिलिमिटर वर्षा भएकाले बाढीको उच्च जोखिम रहेको मध्य तथा सदुर पश्चिम क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए । उनले नदी तटीय क्षेत्रका होचा भुभागहरु अर्को सूचना जारी नहुंदासम्म खोला किनाराका नागरिकलाई बस्ती खाली गर्न अपिल गरेका छन् ।

यता, कर्णाली नदीमा समेत बाढीको बहाव बढ्ने क्रममा रहेकोले कार्यालयले बाढी आउने पूर्व चेनावनी दिएको छ । कार्यालयका प्रमुख सापकोटाका अनुसार कर्णाली चिसापानीमा १७९ मिलिमिटर वर्षा भएको छ ।

मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा अहिले पनि वर्षा भैरहेको छ । महाकाली नदी क्षेत्रमा १४५, बबईको चेपाङ्गमा २३३, सुर्खेतको वीरेन्द्रनगरमा १७२ र छिन्छुको कालिदमारमा १६३ मिलिमिटर वर्षा भएकाले बाढीको उच्च खतरा रहेको प्रमुख सापकोटाको भनाई छ ।