☰ open Loading... 18 November 2024|  

कर्णाली विमानस्थल : टिकटको कृत्रिम अभाव,यात्रुलाई सास्ती
  | २२ श्रावण २०७४, आईतवार ०७:४३

सागर परियार
जुम्ला । तिला गाउँपालिका ६ की वेलकोसा रोकाया मुटुरोगकी विरामी थिईन । वर्षौ देखि मुटु रोगले उनलाई च्यापेको छ । घरायसी उपचारले संभव नभएपछि मंगलवार देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचार भईरहेको थियो ।

तर चिकित्सकले जुम्लामै उपचार सम्भव नदेखेपछि काठमाण्डौको लागि रेफर गरेका छन । उनी तिन दिन देखि जुम्ला विमानस्थलमा मुटुरोगको पिडा सहेर छटपटाई रहेकी छिन । प्रत्येक जहाजमा २ सिट विरामीको लागि छुटयाइएको भनिएको छ । तर तिन दिन सम्म पनि टिकट नपाउदा उनी विमानस्थलमै अलपत्र अवस्थामा छिन ।

तिला गाउँपालिका ६ का वडाध्यक्ष भक्त वहादुर रोकायाले टिकटको लागि मरिहत्ते गरेपनि टिकट पाउन नसकेको बताए । उनले भने विमान कम्पनीका कर्मचारी टिकट माग्न जादा ढुक्क हुनुहोस, आज तपाईलाई उडाउछौ भन्छन, तर जहाज आएर फर्कि सक्दा समेत वास्ता गर्दैनन ।

उनले विमानस्थलमा यात्रुको चाप निकै कम देखिएपनि फोन सम्पर्कमै पहुचवालाको टिकट हुने गरेकोले सर्वसाधारण यात्रुले टिकट पाउन नसकेको गुनासो गरे । उनले भने, पहुच नभएका दुर्गमका विरामीलाई विमानस्थलमा कुनै वास्ता हुदैन । तर पहुचवाला नेता, ठेकेदार, वहालवाला कर्मचारीका विरामी क्षण भरमै एक कल फोनका भरमा उडछन ।

तिला गाउँपालिकाकी मुटुरोगी विरामी वेलकोसा जस्तै दर्जनौ विरामी कर्णालीका विमानस्थलमा मृत्यु कुरेर वस्ने गरेका छन । निजी विमानकम्पनीको मनोपोली र स्थानीय प्रशासनको निरिह पनका कारण यात्रुले सास्ती भोग्नु परेको यात्रु परिमल रोकाया वताउछन ।उनले भने, जहाज कम्पनीका काम गर्ने आफन्त नहुदा हप्तौ वसेर हजारौ खर्चेर प्लेनको यात्रा गर्नु पर्ने अवस्था छ ।

सिजा गाउँपालिकाका रतिमान क्षेत्री विमानस्थलमा कुर्दै आएको साता वितिसकेको छ । न उनले प्लेनको टिकट पाएका छन, नत टिकट हुदैन, घर फर्किनुस भन्ने कर्मचारीको वोली । दैनिक उनलाई जहाजमा टिकट पाउने आश देखाईन्छ । जहाज उड्छन, आफु नउडेको देख्दा मन खिन्न हुने गरेको अनुभव सुनाए ।

जुम्ला विमानस्थलका लागि म पुरानो भईसके, तर नयाँ मान्छे सवै गईसके, पहुच नभएकोले मैलो अहिले सम्म टिकट नपाएर भौतारिनु परेको छ । जहाज आउने संकेत हुने वित्तिकै मोटरसाईकल, गाडी ल्याएर यात्रुको विमानस्थलमा भिडभाड हुने गरेको छ ।

घाडेमहादेवका रविन्द रोकाया,कर्णाली सडक खुलेपछि विमानस्थलमा नवढेको चाप, यो मौसममा वढेको वताउछन । उनले भने, यहाँका कर्मचारीहरु कृत्रिम टिकटको अभाव देखाउदै यात्रुलाई सास्ती दिन्छन, विमानस्थलको सर्वसाधारण यात्रुमा भईरहको अत्याचार हेरेर स्थानीय प्रशासन टुलुटुलु हेरेर वसेको छ ।

कर्णाली राजमार्गमा अविरल वर्षा संगै आएको पहिरोले जोखिमपुर्ण यात्रा गर्न विवश कर्णालीवासी अहिले जहाजको यात्रा गर्न विवश छन ।राजमार्गमा दैनिक पहिरो आउने गरेकोले यात्रामा निकै कष्ट हुने गरेको छ, स्थानीय रविन्द रोकायाले भने,जहाजमा जाउ टिकटमा मनोमानी छ । उनले विमानस्थलका कर्मचारीको मनपरी तन्त्रले यात्रुको हरिविजोग हुने गरेको छ ।

जुम्लामा तारा, गोमा, सिता एयरले उडान भर्दै आएका छन । नेपाल एयरलाईन्सको जहाज दुई महिना देखि जुम्लामा उडान भर्न सकेको छैन । जुम्ला विमानस्थलका सिनियर अफिसर विशाल पाण्डेका अनुसार निजी विमान कम्पनीले जुम्ला देखि नेपालगंज सम्म नियमित कार्यतालिका वमोजिम उडान भए ३ हजार ८ सय ६० रुपैया लिदै आएका छन ।

भिजिट कर्णालीले चार्टर गरेको फलाईटको ४ हजार ५० रुपैया लिन्छन । नेपालगंजवाट जुम्लाको लागि ४ हजार २ सय ५० रुपैया भाडादर हो । तर चार्टर गरेर ७ हजार ५ सय रुपैया असुल्दै आएका छन । उनले सुर्खेतमा नियमित उडान हुने नगरेकोले भाडा दर कायम हुन नसकेको प्रतिक्रिया दिए ।

यसअघि स्थानीय प्रशासन कार्यालय जूम्लाले पहिलो आउनेले पहिलो हवाई सेवा लिनपाउने, निजी विमानका कार्यालय विमानस्थल भित्रै राखेर कार्य सञ्चालन गर्नु पर्ने निर्णय गराएको थियो । तर अहिले विमानस्थल वाहिरै जथाभावी कार्यालय खोलेर मनपरी रुपमा टिकट वाडेर जनतालाई सास्ती दिने काम गरिरहेका छन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा विमानस्थलका प्रमुखहरु संग वारम्वार सम्पर्क भईरहेको वताउछन । उनीहरुका अनुसार टिकट अभाव देखिदैन, उनले भने,महंगोभाडा असुलेको र टिकट नपाएको गुनासो पनि आएको छैन ।

हुम्ला र मुगुमा चर्को भाडा असुल्दै बिमान कम्पनी
मुगु जिल्लाको एक मात्र रारा बिमानस्थलमा उडान भर्दै आएका निजी एयरलाइन्स कम्पनीले यात्रु बाट चर्को भाडा असुल्दै आएको पाईएको छ । हवाई भाडा बढाएपछि बिरामी सर्बसाधारण यात्रु मर्कामा परेका छन् । अविरल वर्षाका कारण गमगढी नाग्मा सडक अबरुद्ध भएको अवसर छापेर निजी विमानकम्पनीले चर्को भाडा उठाउने गरेका हुन ।

रारा बिमानस्थलमा नियमित उडान भर्दै आएका सिता, गोमा ताराले नेपालगञ्ज तर्फ जाने यात्रु बाट ७ हजार देखि ८ हजार भाडा असुल्छन ।पुरानो भाडा ४हजार २ सय ८० बाट एकै चोटी ८ हजार पुरयाएका हुन ।

यता हुम्लामा पछिल्लो समयमा निजी विमान कम्पनीले मनोमानी भाडा असुल्दै आएका छन । एक महिना अघि सम्म सुर्खेत सम्म ४ हजार ५ सय र नेपालगंज सम्म ५ हजार १ सय रुपैया थियो ।

तर पछिल्लो समयमा एकाएक सुर्खेत सम्म ५ हजार एक सय र नेपालगंज सम्म ५ हजार ५ सय रुपैया भाडा लिदै आएका छन । नेपालगंज देखि ११ हजार ७ सय रुपैया र सुर्खेत देखि झण्डै १० हजार रुपैया भाड लिन्छन । स्थानीय पत्रकार राजन रावतले पहिलेको तुलनामा विमानस्थलमा भिडभाड हुनेको संख्यामा कमी भएको वताए ।