☰ open Loading... 2 May 2024|  

प्रचार अभावले अाेझेलमा द्वारी झरना
  | २२ श्रावण २०७४, आईतवार १८:३५

दैलेख । दैलेखमा रहेको द्वारी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । सामान्य ज्ञानका पुस्तकमा समेत द्वारी झरनाबारे सामाग्री प्रकाशित भएको झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

नौमुले गाउँपालिकाको – ३ मा रहेको द्धारीमा रहेको झरनामा सरकारी तवरबाटै पूर्वाधारको विकास गर्न नसक्दा ओझेलमा परेको हो । दुर्गम भेक सडक नहुँदा झरना हेर्न जाने पर्यटकहरु न्यून छन् । द्वारी झरना ६१ फिट अग्लो छ ।

दैलेख सदरमुकाम दैलेख बजारबाट १८ किलोमिटर मोटर यात्रापछि करिब ४ घण्टा पैदल यात्रा गरेपछि मात्र द्धारी झरना हेर्न पाईन्छ । लामो यात्रा हिड्नुपर्ने भएकाले त्यहाँ पुग्ने पर्यटकहरुको ज्यादै न्यून छन् ।

झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्ने भएकाले पनि यसलाई एडभेन्चर यात्रीलाई थप रमाइलो थप्छ । जताततै हरियाली, झरनासँगै रहेको चमेरे गुफा र नौमुले यहाकाँ प्रकृतिक रमणीय स्थान हुन् । झरना पुग्दा थकान नै मेटाई दिन्छ ।

झरना आसपास जनजातिको वस्ती छ । वस्तीले यहाँ आउने पाहुनालाई गर्ने स्वागत र सत्कारले यात्रा अविष्मरणिय गराउँछ । आफ्नै सांस्कृतिक संस्कार बोकेको मगर समुदायको वस्ती पनि यो क्षेत्रको पर्यटकीय विकासमा एक ईटा थपेको छ ।

दुर्गम भेक, विकासका पूर्वाधारहरु नहुँनु तथा झरनाका बारेमा प्रचारप्रसारमा कमी भएकाले ओझेलमा परेको नौमुले गाँउपालिका – ३ द्धारीका वडा अध्यक्ष गगन रोकामगरले बताए । ‘गाँउपालिकाबाट अव द्धारी झरनासम्म मोटरबाटो लागि बजेट विनियोजन हुन्छ ।’ वडा अध्यक्ष रोकामगरले भने, ‘५ वर्षभित्र पर्यटकिय विकासका लागि आवश्यक सवै पूर्वाधारहरु तयार गरिनेछ ।’