☰ open Loading... 5 May 2024|  

डा. केसीको समर्थनमा सुर्खेतका चिकित्सक आन्दोलित
  | २६ श्रावण २०७४, बिहीबार १६:४३

सुर्खेत । मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै एघारौं अनसनरत बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको समर्थनमा सुर्खेतका चिकित्सकहरु आन्दोलित भएका छन् ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकहरुले बुधबार र बिहिवार सांकेतिक रुपमा हातमा कालो पट्टी बाधेर आन्दोलनमा उत्रिएका हुन् ।

अनसनमा बसेको १७ औं दिनसम्म पनि डा. केसीको मागप्रति सरकार गम्भीर नभएको बन्दै क्षेत्रीय अस्पताल सुर्खेतका अत्यावश्यक बाहेक अन्य सेवा पनि ठप्प पार्ने चेतावानी चिकित्सकहरुले दिएका छन् । स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा सरकार गम्भीर नभएकाले केसीको समर्थनमा आन्दोलन गर्न बाध्य भएको नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय महासचिव डा. रविन खड्काले बताए ।

उनले चिकित्सा क्षेत्रकाे सुधारका लागि अनसनरत डा. केसीकाे माग तत्काल पूरा गर्न सरकारसंग माग समेत गरेका छन् । तत्काल केसीको माग पूरा नगरे कडा आन्दोलन चेतावनी खड्काले दिए । आन्दोलनको नेपाल मेडिकल एसोसिएसन शाखा सुर्खेतले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखा सुर्खेतका सचिव डा. नवराज केसीद्वारा जारी विज्ञप्तीमा आन्दोलनका क्रममा नागरिकमा पर्न गएको असुविधाप्रति दुःख प्रकट गर्दछाैं भनिएको छ ।