☰ open Loading... 3 May 2024|  

सुर्खेतमा वरिष्ठ नेता खनाल भने, ‘उद्वार र राहत वितरणमा सरकारको ढिलासुस्ती’
  | ३० श्रावण २०७४, सोमबार १०:४५

सुर्खेत । पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दा समेत सरकारले उद्वार तथा राहत वितरण कार्यमा ढिला सुस्ती गरेको आरोप नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लगाएका छन् । ६० बढी नागरिकको मृत्यु, हजारौं परिवार विस्थापित तथा प्रभावित हुँदा समेत सरकारले युद्धयुस्तरमा काम नगरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले सोमबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले बाढी प्रभावित नागरिकहरुलाई तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसंग माग गरेका छन् ।

उनले नेपाल–भारत सीमानाका नदीमा भारतले बनाएको बाँधले तराई डुवानमा परेको बताए । वर्षात हुने क्रम जारी रहेकाले तत्काल सीमानामा बनाएका बाँधका ढोका खोल्न नेपाल सरकारले भारत सरकारसंग वार्ता र सम्वाद थाल्न आग्रह गरेका छन् ।

उनले यस्ता समस्या भविष्यमा आउन नदिन दिर्घकालिन योजना बनाउन भारतसंग नेपाल सरकारले कुटनितिक पहल थाल्न आवश्यक रहेको उल्लेख गरे । नेता खनालले आगामी माघ ७ गतेसम्म बाँकी दुई चरणका निर्वाचन गरिसक्नु पर्ने बाध्यता भएपनि सरकार संवैधानिक संकट निम्त्याउने खेलमा लागेको आरोप लगाए ।

संविधान संशोधन गर्नै नहुने पक्षमा नेकपा एमाले नरहेको स्पष्ट पारेका नेता खनालले संविधान कार्यान्वयनभन्दा सरकाले संशोधनलाई प्रमुख एजेण्डा बनाएर समय खर्चिरहेको बताए ।

२१ औं दिनदेखी आमरण अनसनरत डा. गोविन्द केशीको माग सम्बोधन नगर्नु दुखद् भएको टिप्पणि गरेका खनालले सरकारलाई तत्काल केसीका माग प्रति सम्वेदनशील भएर वार्ता गर्न आग्रह गरे ।