सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १० र ११ को भाइरल ज्वरो संक्रमण ६० प्रतिशत निर्मुल भएको दावी स्वास्थ्य चौकी तातापानीको छ । विगत १५ दिनदेखी फैलिएको भाइरल ज्वरोको संक्रमण विस्तारै कम भएपनि स्थानीय मेडिकलहरुमा स्वास्थ्य जाँच गर्नेको संख्यामा भने कमी आएको छैन् ।
भेरी पारीकाे बस्ती तातापानीकाे प्रश्न : ‘भाइरल ज्वरोले गाउँ थलियाे उपचार गर्न कहाँ जाऔं ?’
भाइरल ज्वरो प्रभावित क्षेत्र तातापानीको नार्सी, जामु, कुईने लगायतका ठाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । तर यी स्थानमा भाइरल ज्वरोबाट संक्रमित विरामीहरुको संख्यामा वढोत्तरी भइरहेका बेला जिल्ला जनस्वास्थ्य कार्यालयले देखाउनैका लागि केही दिन शिविरको आयोजना गरेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रहरुमा विशेषज्ञ डाक्टरहरुको टोली परिचालन नगरेको नार्सीका स्थानीय जमुना भण्डारीले दुखेसो पोखिन् । उनले साउन अन्तिम साता एक दिन स्वास्थ्य शिविरको आयोजना गरेपनि पुनः डाक्टरहरुको टोली वस्तीमा नआएको जानकारी दिइन् ।
‘गाउँमा अझै विरामी छन्, तर महंगोमा स्थानीय मेडिकलको औषधी किन्न बाध्य छन्’ भण्डारीले भनिन्,–‘फेरी स्वास्थ्य कार्यालयबाट डाक्टरको टोली आउँछकी भन्ने आशा थियो तर फर्केर आएनन् ।’
तातापनीका विभिन्न ठाउँमा ४ दिन स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । तातापानी स्वास्थ्य चौकीले तातापानीमा आयोजना गरेको शीवरमा ४६७ जनालाई सेवा दिएको तथ्याङ्कमा उल्लेख छ । शिविरमा विद्यापुरका हेल्थ असिस्टेन्स अशोक कार्की र पञ्चपुरी स्वास्थ्य चौकीका सह–संयोजक हस्तराजा गिरी भाइरल ज्वरो प्रभावित क्षेत्रमा पुगेका थिए ।
तातापानी स्वास्थ्य चौकीका इन्चार्ज सरोज मिश्रले शिविरबाट सेवा लिएका सत प्रशित विरामीहरु भाइरल ज्वरोका विरामी भएको जानकारी दिए । ‘अहिले पनि हामी भाइरल ज्वरोको संक्रमण कम गर्न तयारी अवस्थामा छौं’ इन्चार्ज मिश्रले भने,–‘झण्डै ४० प्रतिशत विरामीहरु गाउँमा अझै छन्, उनीहरुमा पनि विस्तारै सुधारोन्मुक भइरहेको छ ।’
भाइरल ज्वरोको संक्रमण भएपछि विरामीहरु सन्चो हुन कम्तीमा हप्तादिन लाग्ने जानकारी दिएका मिश्रले नागरिकलाई खानपिनमा ध्यान दिन आग्रह गरे ।
भेरी नदी पारीको विकट यो वस्तीका नागरिक उपचारको लागि कैलालीको चिसापानी र जोखिममा डुंगा तरेर बावियाचौर आउने बाहेक अन्य विकल्प छैन् ।