☰ open Loading... 5 May 2024|  

बुलबुलेमा नुहाउन समय तालिका
  | ७ भाद्र २०७४, बुधबार ११:३३

सुर्खेत : मुख्य पर्यटकीय गन्तव्य बुलबुलेमा नुहाउन र कपडा धुन समय तालिका लागु गरिने भएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले नुहाउने र कपडा धुने कार्यले पर्यटकहरुले गलत सन्देश प्रवाह गरिरहेकाले रोक्न यस्तो तालिका लागु गर्न लागेको हो ।


लामो समयदेखी बुलबुले तालको विकास नभएको भन्दै चौतर्फी रुपमा आलोचना भइरहेको बेला प्रदेश नम्बर ६ को मुख्य पर्यटकीय गन्तव्य बुलबुलेमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले समितिले बुलबुलेका धारामा नुहाउने कार्य निषेध गर्न लगोको छ ।

सुर्खेत उपत्यकाका खानेपानीको अभाव भएपछि बुलबुलेका १२ धाराहरुमा नुहाउनेको भिड लाग्ने गरेको छ । समितिले पहिलो चरणमा विहान ६ बजेबाट १० सम्म र बेलुका ४ बजेदेखी नुहाउने समय तालिका सार्वजनिक गर्ने उदेश्यले जुटेको छ ।

कम्तीमा बुलबुलेमा नुहाउन जाने व्यक्तिहरुले नै त्यहाँ हामी जाँदा पर्यटकहरुले नकारात्मक सन्देश बाहिर प्रवाह गरिरहेका छन् भन्ने बुझिदिन नागरिकलाई सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाको आग्रह छ । उनले यो कार्य समिति एक्लैले मात्र गर्न नसक्ने भन्दै सवैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।

दिउसो १० बजेदेखी साँझ ४ बजेसम्म पर्यटकहरु अवलोकन गर्न बुलबुले जाने भएकाले पहिलो चरणमा यही समय तालिका लागु हुने कोइरालाको भनाई छ ।

‘तालबाट धाराबाट कलकल बग्ने पानीमा रमाउन मन थियो, एकातिर महिला र अर्कोतिर पुरुष नुहाउन र कपडा धुन व्यस्त छन्’ बर्दियाबाट बुलबुले घुम्न आएका दिप्त खनालले भने,–‘गीत संगितमा वर्णन गरिएको बुलबुले र प्रत्यक्ष अवलोकन गर्दाको बुलबुलेमा धेरै फरक पाए ।’ खनालले कम्तीमा धाराहरुमा नुहाउने समय तालिका मिलाएर दिउसो पर्यटकहरुका लागि धाराहरु खाली राख्न सुझाव दिए ।

बुलबुले तालमा घुम्न आउँदा आनन्द महशुस हुने भएको तालमा डुंगा सएर गर्ने वातावरण मिलाउन समेत खनालले समितिलाई आग्रह गरे । बुलबुले ताललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आवश्यक भौतिक संरचनाहरु थप गर्न प्रक्रिया अघि बढेको छ ।

झण्डै ३२ विकास क्षेत्रफलमा फैलिएको बुलबुले उद्यान भित्रका ६ वटा बगैँचामा फुल रोप्नेदेखि नयाँ बगैँचा निर्माणको काम भइरहेको छ । उद्यान क्षेत्रमा झण्डै पाँच लाखमा चिल्ड्रेन पार्क निर्माण कार्य जारी छ ।

बुलबुले ताल भित्र आवश्यक भौतिक संरचना निर्माणको लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले पाँच करोडको काम अघि बढाएको छ ।

बुलबुले क्षेत्रमा पुग्ने पर्यटकहरुलाई हेर्न र घुम्न लायक ठाउँको रुपमा विकास गर्न सुरक्षा पोष्ट आवश्यक भएकाले यसबारेमा पनि थप गृहकार्यमा आफुहरु जुटेको समितिका अध्यक्ष कोइराला बताउँछन् ।