सुर्खेत । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बराहताल गाउँपालिका वडा नं. ६ मा स्वतन्त्रबाट निर्वाचित वडाअध्यक्षसहित सवै पदाधिकारी कांग्रेस फर्किएका छन् । वडा अध्यक्ष खगेन्द्रदेव गिरी, वडा सदस्यहरु डम्बरबहादुर बुढाक्षेत्री, नेत्रबहादुर कार्की, टिकादेवी विसी र अमृता विकले बुधवार संयुक्त विज्ञप्ति जारी गरी आफूहरु कांग्रेसमै फर्किएको जनाएका हुन् ।
निर्वाचनमा टिकट वितरणका क्रममा पार्टीले सही उम्मेदवार चयन हुन नसकेपछि आफूहरु स्वतन्त्र भएर निर्वाचनमा भाग लिएको र विजयी पनि भएको भन्दै विज्ञप्तिमा विगतमा आफूहरु कांग्रेस नै भएको र अहिले पनि कांग्रेस नै भएकोले पुनः पार्टीमा फर्किएको जनाइएको छ ।
बाध्यात्मक परिस्थितिमा आफूहरुले गरेको निर्णयबाट केही गल्ती भएपनि उक्त गल्ती स्वीकार गरी कांग्रेसप्रति पुनः प्रतिवद्ध रहेर अहिले पार्टीमा फर्किएको अध्यक्ष खगेन्द्रदेव गिरीले जनाएका छन् ।