☰ open Loading... 17 November 2024|  

प्रदेश नम्बर ६ मा कस्को बन्ला सरकार ?
  | १६ भाद्र २०७४, शुक्रबार ०८:०५

निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति आगामी मंसिर १० र २१ गते घोषणा गरे संगै चुनावी सरगर्मी बढेको छ । भेरीका ३, कर्णालीका ५ जिल्ला र राप्तीका २ जिल्ला समेटरे बनेको प्रदेश नं. ६ मा सुर्खेत र दैलेखमा २÷२ निर्वाचन क्षेत्र र अन्य बाँकी जिल्लाहरुमा १÷१ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसरी हेर्दा संघमा प्रत्यक्षतर्फ १२ निर्वाचन क्षेत्र र प्रदेशतर्फ २४ निर्वाचन क्षेत्र रहने देखिन्छ । अभावग्रस्त प्रदेशको रुपमा रहेको यो क्षेत्रमा आम्दानीको प्रमुख स्रोतको रुपमा जडीबुटी, फलफुल खेती र जलविद्युत हुन सक्छन । क्षेत्रफलका हिसाबले सबैभन्दा बढी क्षेत्रफल ओगेटेको यो प्रदेशको सिमाना उत्तरमा चीन र दक्षिणमा प्रदेश नम्बर ५ को बाँके बर्दिया जिल्लासंग जोडिन्छ । खस आर्य जातिको मुख्य बसोबास रहेको यो प्रदेश मानव सुंचाङ्क निक्कै तल रहेको छ । कठिन भुगोल रहेको यस प्रदेशमा यातायातको असुविधा प्रमुख रुपमा रहेको छ ।

राजनैतिक हिसाबले प्रमुख तीन दलले आफ्नो प्रभुत्व जमाएका छन् । माओवादी पार्टीको बलियो जनाधार रहेको यो क्षेत्रमा गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमाले प्रदेशमा सरकार गठन गर्ने दावी गरिरहेको छ । स्थानीय तहको निर्वाचनको परिणामलाई विश्लेषण गर्दा विशेष गरी डोल्पा, दैलेख र मुगुमा एमालेको पहिलो जनाधार देखिन्छ भने सुर्खेत जिल्लामा कांग्रेसको पकड राम्रो देखिन्छ ।

रुकुम र कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रले एकल जिल्ला समन्वय समिति गठन गरी आफनो प्रभुत्वको प्रमाण दिएको छ । अन्य जिल्लाहरुमा तीन पार्टीको बीचमा समान स्तरको त्रि–पक्षीय प्रतिस्पर्धा रहेको छ । स्थानीय तहमा प्राप्त गरेको दलहरुको मत परिणामलाई विश्लेषण गर्दा डोल्पा जिल्ला प्रदेशमा दुई, मुगुका २ र दैलेखमा चार मध्ये ३ निर्वाचन क्षेत्रमा एमाले बलियो देखिन्छ ।

स्थानीय तहमा प्राप्त मत विश्लेषण गर्दा सुर्खेतको गुर्भाकोटा र सिम्ता जोडिदा बन्ने प्रदेशमा कांग्रेस बलियो देखिन्छ भने बाँकी अन्य तीन क्षेत्रमा एमालेको पकड राम्रो रहेको अंक गणितले बताउँछ । यसैगरी जाजरकोटमा दुईमध्ये एकमा, कालिकोटमा एक, सल्यानमा एक हुम्लामा एक प्रदेश निर्वाचनमा एमाले बलियो देखिन्छ । यसैगरी माओवादी केन्द्र रुकुममा दुई क्षेत्र, सल्यानमा एक, जाजरकोटमा एक, कालिकोटमा एक र जुम्लामा १ गरी प्रत्यक्ष तर्फ ६ सीटमा बलियो देखिन्छ ।

नेपाली कांग्रेस हुम्लामा एक, जुम्लामा एक, दैलेखमा एक र सुर्खेतमा एक स्थानमा बलियो देखिदा ४ सीटमा पटक जमाउन सक्छ । यसरी हेर्दा प्रदेश नम्बर ६ मा नेकपा एमाले प्रत्यक्षतर्फ कम्तीमा १४,नेपाली कांग्रेस ४ र नेकपा माओवादी केन्द्र  ६ स्थानमा बिजयी हुन सक्ने संभावना स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्न सकिन्छ ।

समानुपातिक मतको विश्लेषण गर्दा माओवादी केन्द्रको मत कम भएको मत भएको दैलेख र सुर्खेतमा २० प्रतिशतको हाराहारीमा समानुपातिक मत प्राप्त गर्ने देखिन्छ । यसबाट माओवादीले समानुपातिक तर्फ जम्मा १६ सीट मध्ये ३ सीटमा निश्चित बिजयी हुने, नेपाली कांग्रेसले ३७ प्रतिशत र एमालले ४३ प्रतिशत मत प्राप्त गर्न सक्ने आकडाहरु बताएका छन । यस हिसाबले प्रदेश समानुपातिकमा एमाले सात र कांग्रेस ६ सीटमा बिजयी हुन सक्ने सम्भावना रहेको छ ।

माथिको आकडाहरुको विश्लेषण गर्दा तीन पार्टी मध्य नेकपा एमाले प्रदेश नं. ६ मा एकल सरकार बनाउन सक्ने गरी अघि बढेको देखिन्छ । विशेष गरी माओवादी केन्द्रको अन्य प्रदेशको तुलनामा यो प्रदेशमा बलियो उपस्थिति रहेको देखिन्छ । पार्टी भित्र निर्वाचनको क्रममा टिकट वितरणमा हुने कमी कमजोरी, घात–अन्र्तघात र सिर्जना हुने चुनावी माहोलले समेत परिणाम तलमाथि हुन सक्दछ । अझ अर्को पक्ष, निर्वाचनका समयमा हुने आर्थिक चलखेलले समेत निर्वाचनलाई प्रत्यक्ष प्रभावित गर्न सक्दछ ।

राजनीतिक पण्डितहरुले भन्ने गरे जस्तो करीब २० प्रतिशत मतदाताहरुले निर्वाचनका एक दुई दिन अघि मात्र कुन दललाई भोट दिने निधो गर्ने भएकाले परिणामका बारेमा ठोकुवा गर्न कठिन हुन्छ भन्ने कुरालाई आधार मान्ने हो भने निर्वाचन अनिश्चितताको खेल हो भन्न्े निष्कर्षमा पुग्न गाह्रो पर्दैन । जे होस पहिलो पटक हुन लागेको नयाँ व्यवस्था अन्तर्गतको निर्वाचनले प्रदेशको समृद्धि र विकास हुने ठोकुवा गर्न सकिन्छ ।