☰ open Loading... 3 May 2024|  

पुल नबन्दा यात्रुलार्इ सास्ती
  | १७ भाद्र २०७४, शनिबार १६:३७

जाजरकाेट । जाजरकोट सडक निर्माण पूरा भएको १० वर्ष बितेको छ । बनगार, पासागाड, खोदा, गोजीखोलालगायत आधा दर्जनमा पुल बन्न सकेका छैनन् । सडकमा पर्ने खोलामा पुल निर्माण नहुँदा वर्षात्मा खोला बढेपछि यातायात अवरोध हुने गरेको छ । पानीको बहाव बढेर यातायात अवरोध हुँदा यात्रुलाई आवतजावतमै सास्ती भएको हो ।

सडकअन्तर्गत पर्ने सल्यानको सल्लीबजारस्थित बनगार खोलाले पटकपटक अवरोध गरेको छ । गत सातादेखि उक्त खोला उर्लिएपछि नेपालगन्जदेखि जाजरकोट आएका यातायात सल्लीबजारमै थन्किएका छन् । यात्रु बाटामै अलपत्र पर्छन् । सडक कालोपत्रे भएकै ५ वर्ष बित्दा पनि बनगार खोलाको पुल बनाउन सम्बन्धित निकायको ध्यान नगएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

उक्त खोलामा पुल बनाउने सुरसारसमेत नभएको घर्तीले बताए । ‘यो सडक विभागको चरम लापरबाही र गैरजिम्मेवारीपना हो,’ उनले भने । विभागको लापरबाहीले बनगार खोलामा यात्रुलाई सास्ती भएको छ ।

त्यस्तै गोजी खोलामा पानी सतह बढेपछि सदरमुकाम खलंगादेखि नेपालगन्ज, सुर्खेतलगायत आउने/जाने सवारी उक्त खोलाको किनारामै अलपत्र पर्ने गरेका छन् । वर्षात हुनेबित्तिक्कै खोलामा पानी बढ्ने र यातायात वारपार गर्न नसक्ने गरेको चालक प्रेमबहादुर बुढाले बताए ।

‘खोलाका कारण यात्रुलाई गन्तव्यमा पुर्‍याउन समस्या हुने गरेको छ,’ उनले भने, ‘जबरजस्ती खोलामा गाडी हाले उतै अडकने डर हुन्छ ।’ ५ दिनअघि दिनभर गोजीखोलामा गाडी फसाएर बस्न बाध्य भएको उनले सुनाए । डोजरको सहायताले गाडी निकालेको बुढा बताउँछन् । गोजीखोलाको पुल निर्माणमा ढिलाइ हुँदा सास्ती बेहोर्नुपरेको हो । विगत २ वर्षदेखि उक्त खोलामा पुल निर्माण भइरहेको खवर कान्तिपुर दैनिकमा छ ।

यसैगरी जाजरकोट सदरमुकामसम्म यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको ५ वर्ष बितिसकेको छ । तर सदरमुकामदेखि ५/६ किलोमिटर दूरीमा रहेको पासागाडमा भने पुल निर्माण सुर नै भएको छैन । पासागाडमा गलत डिजाइनका कारण ५ वर्षदेखि पुल निर्माण अलपत्र छ ।

सडक विभाग र आईएमई आरसी कन्सल्टेन्सी ललितपुरको चरम लापरबाहीले पुल निर्माण अलपत्र परेको हो । ३ वर्षअघि निर्माण सक्नुपर्नेमा कामै सुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण अघि नबढेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील  पौडेलले बताए ।

यसका लागि ५ वर्षअघि ३ करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत गराएको थियो । सडक विभागले फेरि डिजाइन गर्न अलमल गर्दा पुल निर्माण ढिला भएको हो । यही कारण बाढी आएको बेला रातभर सवारी साधन खोला किनारमा थन्क्याएर बस्नुपर्ने चालक बुढाले बताए ।

‘पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनमा तालमेल नमिल्दा लुम्बिनी–आशिष जेभी निर्माण सेवाले काम सुरु गर्न नसकेको हो,’ इन्जिनियर पोडेलले भने । सम्झौताअनुरूप लागत र निर्माणको तालमेल नमिल्दा पुल अघि बढ्न नसकेको पौडेलले बताए ।

परामर्श कम्पनीले ७ लाख लागतमा पुलको डिजाइन गरेको उनको भनाइ छ । ‘पुलको डिजाइन एक छ,’ उनले भने, ‘निर्माणस्थलको लोकेसन नै मिल्दैन । कसरी काम सुरु गर्ने ?’ परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ ।

तर पासागाड खोलामा सर्भे गर्दा २५ मिटरभन्दा लम्बाइ बढ्दैन । कम लागतमा निर्माण हुने पुलका लागि पनि किन थप बजेट खेर फाल्ने ?,’ उनले भने । चार वर्षअघि निर्माण कम्पनीलाई साइड देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उनले बताए ।