| १७ भाद्र २०७४, शनिबार १६:४१
दैलेख । आधुनिक मेसिनको प्रयोग बढेसँगै यहाँका ग्रामीण बस्तीमा समेत ढिकी, जाँतो र ओखल प्रयोग घट्दै गएको छ । गाउँ/गाउँमा अन्न कुटानी र पिसानीका लागि विद्युतीय र पानी मिल सञ्चालन हुन थालेपछि पुराना कुटानीपिसानीका साधन हराएका छन् । लोप हुँदै गएका ढिकीजाँतोको प्रयोग चाडपर्वमा मात्र हुन थालेको छ ।
आठबिस नगरपालिका १ सात्तलाकी माया शाहीले दशकअघिसम्म घरैपिच्छे ढिकीजाँतो भए पनि पछिल्लो समय भेट्नै मुस्किल भएको बताइन् । उनका अनुसार गाउँमा अहिले एक घरमा मात्र ढिकीजाँतो भेटिएको छ । गाउँभरिमा एउटा मात्र जाँतो र ढिकी हुँदा पालो कुरेर कुट्नपिस्न गर्नेको पालो पर्खिनुपर्ने बताइन् ।
मकैलाई कुटेर पिठो र आँटा बनाएर खानेले मात्र ढिकी र जाँतोको प्रयोग गर्ने गरेको स्थानीय जितबहादुर थापाले बताए । अहिले सात्तलामा उनको घरमा मात्र ढिकीजाँतो छ । लाकुरी ८ का पूर्णबहादुर गुरुङले ढिकीमा कुटेको चामल र जाँतोमा पिसेको रोटीको स्वाद चाख्न नपाएको दस वर्ष भइसकेको सुनाए । ढिकीको चामल र जाँतोको पिठोको स्वाँद मीठो हुने भए पनि आधुनिक मिलमा अन्न पिस्ने चलन बढेको उनको भनाइ छ । ‘ढिकी र जाँतोमा कुटेको र पिसेको खानेकुराको स्वाद स्वादिलो र पौष्टिक हुन्छ,’ उनले भने, ‘तर गाउँमा ढिकी र जाँतो हराए ।’
पहिले गाउँका प्रत्येक घरमा ढिकीजाँतो हुने गरेको सम्झन्छिन् लाकुरीकी हरिकला गुरुङ । मिल स्थापना भएपछि मध्यरातमा उठेर कुटानीपिसानी गर्नुपर्ने झन्झट हटेको उनको भनाइ छ । गुरुङ र मगर समुदायमा समेत ढिकीजाँतोको प्रचलन हराएको उनी बताउँछिन् । श्रमको बढी खर्च हुने भएकाले परम्परागत सामग्रीको प्रयोग बढेको उनको भनाइ छ ।
ग्रामीण क्षेत्रमा आधुनिक, विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भएपछि स्थानीयले परम्परागत ढिकी, ओखल र जाँतो प्रयोग गर्नै छाडेका छन् । आधुनिक मेसिनबाट कुटानीपिसानी गर्दा श्रम र समयको बचत हुँदै गएको गुरुङले बताइन् । घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित बन्दै गएको उनको भनाइ छ ।
धार्मिक काममा प्रयोग गरिने सामग्रीका रूपमा ढिकी र जाँतोमै कुटानीपिसानी गरिएको चामल र पिठो प्रयोग गरिँदै आएकाले चाडपर्वका बेला मात्र परम्परागत साधानको प्रयोग हुन्छ कान्तिपुर दैनिकमा समाचार छ ।